२३ सय ८९ बिन्दुमा झरेर बन्द भयो सेयर बजार

पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लाग्ने क्रम रहँदा साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक २४ सय बिन्दुबाट तल झरेको छ । आज सेयर बजारमा १८.०७ अंकको गिरावट आएसँगै बजार पुनः २३ सयको लाइनमा झरेको हो ।

यस दिन नेप्से परिसूचक ०.७५ प्रतिशतले घटेर २३ सय ८९ विन्दुमा पुगेर बजार बन्द भएको छ । त्यसैगरी बजारको उतार–चढावमा संवेदनशील रहने कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन ५.०७ अंक घटेर ४३०.०५ बिन्दुमा झरेको छ ।

बजार खुलेको आधा घण्टामा नै २३८० बिन्दुसम्म ओरालो लागेको नेप्से त्यसपछिको समयमा बढेर २४३२ बिन्दुसम्म पुगेको थियो । कारोबार अवधिभर २४०० बिन्दुभन्दा माथि रहने प्रयासमा रहेको नेप्से, अन्तिम समयमा ओरालो लागेको हो ।

गत माघ ८ गते सेयर बजार सूचक २३७४ विन्दुमा रोकिएको थियो । यस्तै, माघ ११ गते पहिलोपटक २४ सय बिन्दु पार गरेको बजारले फागुन ८ गते अहिलेसम्मकै उच्च विन्दु २६४० अंक पार गरेको थियो । उक्त एक महिनाको  अवधिमा २६६ अंकले वृद्धि भएको बजार हाल भने घट्ने क्रममा रहँदा पुनः उही बिन्दुमा आइपुगेको छ ।

समग्र नेप्से परिसूचक घटेसँगै कारोबार रकममा समेत कमी आएको नेप्सेले देखाएको छ ।  अघिल्लो कारोबारको तुलनामा सोमबार नेप्सेमा सेयर कारोबारको रकम घटेको हो । सोमबार २१२ ओटा कम्पनीको ५२ हजार ३०९ पटकको कारोबारमा ४ अर्ब २४ करोड ८४ लाख २४ हजार बराबरको ९६ लाख ४ हजार ५२९ कित्ता सेयर कारोबार भएको छ । जबकि आइतबार २११ कम्पनीको ९९ लाख ३ हजार कित्ता सेयर कुल ४ अर्ब ९५ करोड रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

सोमबार भएको सेयर खरिद–बिक्रीको कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ओगटेको छ । उक्त कम्पनीको ४३ करोड ६२ लाख २१ हजार रुपैयाँ बराबरको ८ लाख ७ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ ।



समग्र नेप्से ओरालो लागे पनि यस दिन ५ उपसमूहको परिसूचक भने बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.६९ प्रतिशत बढेको छ । त्यसैगरी यस दिन व्यापार उपसमूहको परिसूचक १.४८ प्रतिशत, लगानीको ०.५७ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.१९ प्रतिशत र म्युचुअल फन्डको ०.०२ प्रतिशत बढेको छ । 

त्यस्तै यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २ प्रतिशत घटेको छ । बैंकिङ र निर्जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।



दोहोरो अंकले घटेको सोमबारको बजारमा चार ओटा कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । यो दिन चन्द्रागिरि हिल्स, घलेम्दी हाइड्रो, पञ्चकन्यामाई हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।

अर्कोतर्फ, सर्वाधिक गुमाउने कम्पनीमा हिमालयन पावर पार्टनरको सेयर मूल्य ६ प्रतिशतले घट्दा सूर्योदय लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स र अरुण भ्याली हाइड्रो पावरको सेयर मूल्य ४-४ प्रतिशतले घटेको छ ।

  • प्रकाशित मिति : चैत २, २०७७ साेमबार १७:०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया