गत फागुन २३ गते सर्वाेच्च अदालतले गरेको फैसलाले पार्टी एकता गरेका एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्कायो । एमाले ब्यूँतिएयता पहिलो पटक सोमबार धुम्बाराहीमा बाक्लो चहलपहल देखियो ।
सर्वोच्च अदालतको फैसलाले एमालेलाई पूर्ववत् अवस्थामा फर्काए पनि केपी ओली र माधव नेपालको फाटेको मन सिलाउन नसक्दा विवाद छरपस्ट भएको छ।
पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि राजनीतिक डिभोर्स गरेर अलग्गिएका दुवै पक्षका शीर्ष नेताहरु एकताको सूत्र पहिलो पटक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जुटेका थिए ।
प्रधानमन्त्री ओली, बहालवाला मन्त्री र पूर्व प्रधानमन्त्रीहरु छलफलका लागि धुम्बाराहीस्थित भाडाको कार्यालयभित्र वार्तामा जुटिरहँदा सुरक्षाकर्मीको कडा पहरा थियो।
नेताहरुको वार्ता सकिने प्रतीक्षामा सयभन्दा धेरै संख्यामा पत्रकारको भीड थियो। एमालेका केही कार्यकर्ताहरु पार्टी कार्यालयको कम्पाउन्ड र बगैँचामा उत्सुकताका नजर डुलाइरहेका थिए।
नेताहरुको छलफल करिब एक घण्टा बितेपछि पार्टी कार्यलय भवनभित्र छिर्ने मूल गेट अगाडिको बगैँचामा देखिए एकजना वृद्ध ।
त्यहाँ उपस्थित अरुभन्दा उनको हाउभाउ र शरीरको गतिविधि बेग्लै देखिन्थे। उनी देशकै ठूलो कम्युनिष्ट पार्टीको मूल ढोकातिर आँखा दौडाउँदै दुबोमाथि टुसुक्क बसिरहेका थिए ।
‘बा किन आउनु भो यहाँ ?’ नजिकै पुगेर प्रश्न गरेपछि उनले आफ्नो समस्याको पोको खोल्न थालिहाले । छोराको जागिर खोसिएपछि उनी कम्युनिष्ट पार्टीको ढोका ढक्ढक्याउन आइपुगेका थिए।
नाम: अक्कल बहादुर महर
घर: जयपृथ्वी नगरपालिका–७, छयाला, बझाङ
उमेर: ७० माथि
आफूलाई गाउँकै पुरानो एमाले कार्यकर्ता बताउने अक्कल बहादुरले अहिलेसम्म सूर्यबाहेक अरुमा भोट नहालेको सुनाए।
गत स्थानीय निर्वाचनमा जयपृथ्वी नगरपालिकामा एमालेकै उम्मेदवार वीरेन्द्र बहादुर खड्का नगर प्रमुखमा निर्वाचित भए। अक्कल बहादुरका अनुसार नगर प्रमुख खड्काले उनका जेठा छोरालाई कार्यालय सहयोगीको जागिर लगाइदिएका थिए ।
सत्तारुढ नेकपाको विवाद केन्द्रमा चलिरहँदा त्यसको असर तलसम्म परेको छ। मेयरले पार्टीभित्रको विवादका कारण आफ्ना छोराको जागिर खोसिदिएको गुनासो लिएर उनी त्यहाँ आएका थिए।
आफूले समर्थन गरेको भन्दा अर्काे पक्षमा लागेको भनेर छोरालाई जागिरबाट निकालिएको गुनासो उनी सुनाइरहेका थिए ।
नेताको आस
आज धुम्बाराहीमा एमालेका ठूला नेताहरु आउने खरब सुने अक्कल बहादुरले । ठूला नेतालाई त्यहाँ भेटेर दुःख पोख्न पाए छोराको जागिर फर्किने आससहित आएका रहेछन् उनी।
२०४६ सालदेखि नै एमालेको प्रचारमा लागेको अक्कलले सुनाए। गाउँमा सबैले एमालेलाई दबाएका बेला, एमाले भनेर देखिन पनि डराउने अवस्थामा आफू पार्टीको प्रचारमा हिँड्ने गरेको उनले सुनाए। पार्टीलाई दुःखमा पनि सहयोग गरेको उनले पटक–पटक सुनाइरहे।
‘अहिले जस्तो एमाले थियो र त्यो बेला ?’ अक्कल बहादुरले भने, ‘एमाले भनेपछि सबैले हेप्थे । दबाउँथे । सूर्यमा भोट हालेको भन्दा डराएर हिँड्नु पर्ने दिन थिए। त्यो बेला पार्टीका लागि काम गरेकै थियौँ। तर हामीले के पायो खै ?’
उनका गुनासो पोको ठूलै थियो। उनले सूदुरपश्चिमेली लवजमा बोलेका सबै कुरा बुझ्न सकिन्नथ्यो । उनी एकोहोरो गुनासो पोखिरहे ।
एमालेका विद्यार्थी नेता ऐन महर र उनको घर एकै ठाउँ हो । ऐन पनि आफ्नो नजिकको नाता पर्ने उनले सुनाए । अक्कलका अनुसार ऐन महरका बाबुहरू कांग्रेस हुन् ।
‘उनका बाबु कांग्रेस हुन् नि । मेरा त सबै परिवार सूर्य हुन् पहिलेदेखि । अन्त कहीँ भोट लाउन्नन्,’ उनी भन्छन् ।
जिल्लाका सबै नेतालाई गुहार्दा पनि कसैले नसुनेको उनको गुनासो छ। ‘छोराको जागिर गयो, अब नाति नातिनीहरू कसरी पढ्लान् ?’, यही चिन्ताले उनलाई सताएको छ।
काठमाडौंको धापासीमा उनका कान्छो छोरा र नातिनातिना बस्छन्। त्यहीँबाट धुम्बाराही आएको उनले सुनाए । आफ्नो समस्या सुनाउन उनी सुदूरपश्चिमकै प्रतिनिधित्व गर्ने एमाले उपाध्यक्ष भीम रावलकहाँ पनि पुगे । ‘मैले भनेको बझाङका नेताले खान्नन् । त्यही बझाङका नेताहरुलाई नै भन्नुस् भनेर पठाए’, रावलको जवाफ उनले सुनाए।
ठूलै नेतालाई भेटेर कुरा सुनाउन पाइन्छ की भनेर धुम्बाराही आएको अक्कल बताउँछन् । सञ्चारकर्मीहरु जस्तै उनी पनि नेता बाहिर निस्कने बाटो हेरेर बसिरहे ।
आफ्नो नजिक जो आयो उसैलाई आफ्नो समस्या सुनाइरहेका थिए । उनको अपेक्षा थियो । कसैले ठूला नेतालाई भेटाइदेलान् भन्ने । केपी ओली र माधव नेपाललाई नै कुरा सुनाउने रहर थियो उनको । उनीहरुलाई नै भेट्न पाए छोराको जागिर फर्किनेमा आशावादी थिए ।
आफूले पार्टीलाई कठिन बेलादेखि सघाउँदा पनि मूल्यांकन नगरेको भन्दै नेताहरूमाथि रिस पोखिरहे उनी। नजिकै उभिएका एकजनालाई आफ्नो समस्या सुनाए अक्कलले । ती व्यक्तिले सोधे–‘वृद्ध भत्ता खानुहुन्छ ?’ , अक्कलले भने–‘खान्छु।’, ‘हो वृद्ध भत्ता खाने मान्छेले त सूर्यबाहेक अन्त भोट दिनै मिलेन नी।’ कालो चस्मा लगाएर उभिएका ती व्यक्तिले त्यहीँ फैसला सुनाए ।
नेता देख्नै सास्ती
पार्टी कार्यालय भित्रबाट नेताहरु करिब २ घण्टापछि एक–एक गर्दै निस्किन थाले । नेताहरु निस्किन नपाउँदै ठूलो संख्याका सञ्चारकर्मीले छपक्कै छोपिहाल्थे । उनीहरुलाई छिचोलेर गाडीसम्म पुग्न नेतालाई नै हम्मे परिरहेको थियो ।
तस्बिर, भिडियो खिच्ने पत्रकारबीच नै ठेलाठेल थियो । यस्तो अवस्थामा अक्कल बहादुरले नेतासम्म पुग्न त के उनीहरुको अनुहार पनि देख्न पाइरहेका थिएनन् ।
सुवास नेम्बाङ र माधव नेपाललाई सञ्चारकर्मीले पश्न गरिरहेका बेला उनी भन्दै थिए, ‘सबै जनतालाई उल्लु बनाउने काम हो । जनतालाई भुलाइरहने आफू हड्डीका लागि तानातान गर्ने।’
प्रधानमन्त्री केपी ओली कतिखेर निस्किए चालै पाएनन् उनले । माधव नेपाललाई गाडीमा चढेको देखेपछि अघि बढेका थिए । उनी वरपर धुइरिएका पत्रकार र सुरक्षाकर्मीको भीडका कारण उनी पुग्नै सकेनन्।
पार्टी कार्यालयबाट सबै नेताहरु बाहिरिए । पत्रकार पनि गए । धुम्बाराही परिसर खाली भयो । अक्कल त्यहीँ बसिरहे।
त्यहीँ आएका कसैले उनको हातमा सानो कागजको चिर्कटो थमाइदिएका थिए। त्यसमा लेखिएको थियो। ‘कार्यालय सचिव ईश्वरी रिजाललाई भेट्ने।’
‘भित्र गएर यिनलाई भेट्नु मिलाइदिन्छन् भनेका छन् केरे’ उनी सुनाइरहेका थिए । भीड कम भएपछि जानुपर्ला ।’
भीड सकिएपछि त्यही चिट लिएर भित्र गए । भित्रबाट १० मिनेट जतिमा निस्किए । ‘नाम टिपेर राखेका छन् । कतै न कतै छोरालाई केही गरि दिउँला भनेर पठाए’, कम्पाउन्डबाट बाहिरिँदै गर्दा अक्कलले प्रगति विवरण सुनाए ।
‘तपाईंको फोन नम्बर टिपेर राखेका छन् उनीहरुले ?’ यो प्रश्न सुनेपछि उनी अकमकिए । ‘मागेनन् फोन नम्बर त दिनु पर्ने रहेछ । म दिएर आउँछु ।’ फोन नम्बर दिन उनी फेरि भित्र गए ।
तुरुन्तै फर्किएका उनले सुनाए, ‘चाहिन्न रे नम्बर मेरो र छोराको नाम टिपेर राखेका छन्। आफ्नो कुरा नेतासम्म पुग्ला भन्नेमा आशावादी देखिएनन् अक्कल बहादुर।
एमालेको लफडाबारे खासै जानकारी छैन उनलाई । नामसम्म लेख्न जान्ने उनले यति बुझेका छन्, ‘एमाले अनि सूर्य ।’
‘हामीले केपी ओली र माधव नेपाल भनेर छुट्याएका थिएनौँ । झगडा हामीलाई थाहा छैन।’ उनले सुनाए ‘कि छोरालाई जागिर चाहियो । कि नातिनातिनालाई पढ्ने व्यवस्था होस्।’
‘गाउँमा एमालेको बीउ नै नहुँदा एमाले भनेर हिँडियो’, बारम्बार यही प्रश्न गरिरहेका थिए अक्कल बहादुर, ‘खै ! हामीले के पायौँ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।