दैलेख घटना : रजनीको शव ९ दिनपछि भेटियो

आमासहित कर्णाली नदीमा हाम्फालेकी दैलेखको आठबीस–३ निमायलकी ५ वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ । आमा सुकी बढुवालसँगै कर्णाली नदीमा हामफालेको ९ दिनपछि रजनीको शव भेटिएको दैलेख प्रहरीले जनाएको छ ।

आज (मंगलबार) अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदी किनारमा रजनीको शव भेटिएको दैलेखका डिएसपी अनुपम श्रेष्ठले जनाए । नदी किनारमा बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचानपछि पोस्टमार्टमका लागि अछामको जिल्ला अस्पताल मंगलसेनमा पठाइएको प्रहरीले जनाएको छ ।

फागुन २३ गते निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार सन्तानसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेकी थिइन् । कर्णाली नदीमा हामफालेको भोलिपल्ट (२४ गते) सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिता बडुवालको शव फेला परेको थियो भने २५ गते ३५ वर्षीया सुकी र १० वर्षे छोरा ललितको शव कर्णाली नदीमा भेटिएको थियो । 

घटनापछि प्रहरीले सुकीका श्रीमान् मानसिंह बढुवाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । घरेलु हिंसाका कारण आत्महत्याको आशंका गरिए पनि आत्महत्याको कारण भने खुल्न सकेको छैन । पोस्टमार्टमा रिपोर्ट आएपछि मात्रै घटनाको वास्तविकता पत्ता लाग्ने प्रहरीको भनाइ छ ।
 





  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार १६:५९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया