शीतल निवासमा सर्वदलीय बैठक : प्रचण्ड गए तर तीन पूर्व प्रधानमन्त्री गएनन्

काठमाडौं : सरकारलाई लिएर देशमा राजनीतिक जटिलता बढिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा सुरु भएको छ। यो सर्वदलीय बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीसहितका नेताहरुलाई बोलाइएको थियो।

सर्वदलीय बैठकमा भाग लिन सबैभन्दा पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास छिरेका थिए। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले सर्वदलीय बैठकमा भाग लिन प्रचण्डसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ र देव गुरुङ शीतल निवास पुगेका छन्। 

यो बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, जनता समाजवादी पार्टीका अध्यक्षहरू महन्थ ठाकुर र उपेन्द्र यादव, राप्रपाका नेताहरु, नेमकिपाका सांसद र राष्ट्रिय जनमोर्चाका नेताले सहभागिता जनाएका छन्। 

यो बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइरालाले पनि सहभागिता जनाएका छन्। 

को गएनन् ?

राष्ट्रपतिले डाकेको यो बैठकमा सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी भएनन्। उनीहरुले भोलि र पर्सि हुन लागेको राष्ट्रिय भेलाको तयारीमा जुट्नु परेको भन्दै सर्वदलीय बैठक बहिष्कार गरेका हुन्। उनीहरु दुवैजना पूर्वप्रधानमन्त्री पनि हुन्। यो बैठकमा जसपा नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि सहभागिता जनाएका छैनन्।



नेपाल-खनाल र भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी बचाउने प्रयासस्वरुप राष्ट्रपतिले सर्वदलीय बैठक गरेको आरोप लगाएका छन्। ओलीलाई अफ्ठेरो पर्दामा मात्रै बैठक डाकेर राष्ट्रपतिले बचाउ प्रयास गरेको आरोप उनीहरुको छ। 



  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार १७:५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया