प्रदेशमा पखाला लागेका मुख्यमन्त्री काठमाडौंमा सांसद फकाउँदै
सत्ताका लागि जसपामा सांसद तानातान

करिब एक वर्ष अगाडि राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी नेकपा जस्तै एक नहुँदै संकटमा पुगेको छ।

सत्तामा जाने कुरालाई लिए जनता समाजवादी पार्टी अहिले धरमराउन थालेको छ । एमाले र माओवादी ब्यूँतिएपछि सरकार गठबन्धनमा परिणत भएको अवस्थामा जनता समाजवादी पार्टीमाथि सबैको नजर छ। तर जसपा आफैँ भने विवादको भूमरीमा फसेको छ।

जसपामा अहिले तत्कालीन राजपा र समाजवादी पार्टीको कित्ता छुटिएको छ । सरकारमा जाने सवालमा तत्कालीन राजपाले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन जाने मत राखिरहेको छ। तत्कालीन समाजवादी पार्टीले प्रधानमन्त्री ओलीको नेतृत्वमा नभएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा सरकारमा जाने ढिपी कसेका छन् ।

सहमति जुट्न नसकेपछि जसपाभित्र आन्तरिक कलह चुलिएको छ । जुन कलहलाई साम्य बनाउन दर्जन सांसदहरुले दबाब दिइरहेका छन्।  यही साता जसपाका १३ सांसदले सिंहदरबारमा भेला भएर उनीहरुले  पार्टी एकतामा आँच आउन नदिन आग्रह गरे।

गुट बलियो बनाउँदै यादव

यसको अर्थबारे बुझ्दा भेलामा सहभागी एक सांसदले भने, ‘यो भेला अरु कुनै स्वार्थ होइन। पार्टी फुट्न लागेको गाइँगुइँ सुनेपछि त्यसो हुन नदिनको लागि भएको हो । यसको सीधा अर्थ पार्टी फुट्नबाट जोगाउनु नै हो ।’



पार्टी एकता सकिने अवस्थामा आएपछि केहीले पार्टी जोगाउनतर्फ लागेका छन्। केही आफ्नो सांसदलाई फकाउन जुटेका छन् । यो मामिलामा जसपा अध्यक्ष उपेन्द्र यादव सक्रिय देखिएका छन् ।

उनीनिकट सांसदहरु उनलाई छाड्न लागेपछि अहिले अध्यक्ष यादवले प्रदेश सरकारको शक्ति प्रयोग गरेर गुट बलियो बनाउनेतर्फ लागेका छन् । 



२३ फागुनमा सर्वोच्च अदालतले नेकपा खारेज गर्दै साविककै नेकपा एमाले र माओवादी केन्द्र रहने फैसला गरिदिएपछि देशको राजनीतिक अस्थिरता बढेको छ । अदालतको फैसलापछि कुनै पनि पार्टीसँग सरकार चलाउन सक्ने क्षमता देखिएको छैन । 

यही कारण ठूला दलसँगै साना दल सत्ता सारथिको भूमिकामा निर्णायक बन्न पुगेका छन् । यही कारणले जसपा ठूला दलका लागि नभइ नहुने औषधि नै भएको छ। यही कुरा बुझेर नेताहरु जसपाभित्र आफ्नो पक्ष बलियो बनाउन लागिपरेका छन् ।

ओलीलाई सहयोग नगरौं : मुख्यमन्त्री राउत

जसपा अध्यक्ष यादवले सांसदहरुलाई मनाउन प्रदेश २ सरकारको सहयोग लिएका छन् । त्यसका निम्ति उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र अर्थमन्त्री विजय यादवलाई खटाएका छन् । 

प्रदेश २ का यी दुई मन्त्री अहिले प्रदेश छाडेर संघीय राजधानीमा सक्रिय छन् । स्रोतका अनुसार उनीहरुले जसपाका सांसदहरुलाई फकाउँदै अध्यक्ष यादवलाई सघाउन भनिरहेका छन् । ‘तपाईँहरू अध्यक्षज्यूलाई सहयोग गर्नुस्, प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकारमा जानु हुँदैन’, उनीहरुले भनिरहेका छन्, ‘पार्टीको फाइदा हुँदैन, त्यसले त्यता नगएर अध्यक्षज्यूलाई नै बलियो बनाउनुपर्यो।’ 

पखाला लागेका मुख्यमन्त्री सांसद फकाउँदै

प्रदेश २ का मुख्यमन्त्री राउतसहित अर्थमन्त्री यादव यो काममा एक सातादेखि सक्रिय छन् । प्रदेशको कामकाज छाडेर उनीहरु पछिल्लो एक सातादेखि अध्यक्ष यादवको काममा खटिरहेका छन्। तर उपचारको बहाना बनाएका छन्। अर्थात आफ्नो स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै उपचार गराउन उनी काठमाडौं आइपुगे । 

‘तर, उनी उपचारको बहानामा अहिले काठमाडौं बसेर राजनीतिक काममा केन्द्रित छन्। अर्थात् उपचारको बहानामा उनी उपेन्द्र यादवको पक्षमा सांसद तान्न लागिरहेका छन्’, स्रोत भन्छ।

झाडापखालाको बहानामा आएर उनी सांसद किनबेचमा लागेको स्रोतको दाबी छ। काठमाडौंमा सक्रिय मुख्यमन्त्री राउत बुधबार एउटा कार्यक्रम सहभागी हुन सिमरा पुगेको उनका स्वकीय सचिव दीपक यादवले जनाए । 

उनले भने, ‘तर बुधबारै फेरि काठमाडौं फर्किने मुख्यमन्त्रीज्यूको कार्यक्रम रहेछ । अहिले पार्टीको बैठक र अन्य कामका लागि काठमाडौंमा बसिरहनु भएको छ ।’


 

  • प्रकाशित मिति : चैत ४, २०७७ बुधबार १४:२६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया