सेयर बजार ४० अंकले बढ्दा कारोबार रकममा भने सुधार भएन

गत सोमबारसम्म निरन्तर ओरालो लागेको सेयर बजारमा मंगलबारदेखि भने क्रमिक रूपमा सुधार आउन थालेको छ । मंगलबार सामान्य सुधार देखिएको नेप्सेमा बुधबार केही अंकले वृद्धि भएको छ ।

साताको चौथो कारोबारको दिन बुधबार नेप्से परिसूचक ४०.४० अंकले माथि उक्लिएको छ । मंगलबार २३९१.७५ बिन्दुमा अन्तिम कारोबार भई बन्द भएको नेप्से बुधबार भने पुन २४ सय बिन्दु पार गरेको छ । यस दिन ४० अंकले वृद्धि भई नेप्से परिसूचक २४३२.१५ बिन्दुमा अन्तिम कारोबार भएर बजार बन्द भएको नेप्सेले देखाएको हो । 

बुधबार १.६९ प्रतिशतले बढेको बजारमा समग्र परिसूचक बढेको नै छ । सेन्सेटिभ इन्डेक्स ८.११ अंकले बढेर ४३८.६० बिन्दुमा पुगेको छ । 

समग्र बजार बढे पनि कारोबार रकममा भने खासै सुधार हुन सकेको छैन ।

मंगलबार २१४ वटा कम्पनीको ९ लाख १२ हजार कित्ता सेयर कुल ३ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो । यस दिन सेयर कारोबार रकम ३ अर्बको हाराहारीमा थियो । यस्तै बुधबार अर्थात् आज पनि सेयर कारोबार रकममा संकुचन आएको छ । यस दिन कुल ११२ कम्पनीको ८६ लाख २७ हजार कित्ता सेयर कुल ३ अर्ब ३७ करोड ४५ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।

मंगलबार नेप्से सूचक घटेर २३७० विन्दुसम्म झरे पनि सोही बिन्दुबाट बजार लगातार उकालो लागेको छ । २३७० बिन्दुको टेवा बिन्दुबाट बजार बढ्न थालेपछि केही लगानीकर्ताले भने बजारमा करेक्सन सकिएको र पुनः पुरानै लयमा फर्किएको विश्लेषण गरेका छन् ।



तर, केही लगानीकर्ता भने कारोबार रकमले साथ नदिएकाले यसको पुष्टिका लागि अझै बिहीबारसम्म कुर्नुपर्ने देखिएको बताउँछन् । नेप्से सूचक बढे पनि कारोबार रकम बढ्न नसक्दा लगानीकर्ता अझै ‘पर्ख र हेर’ को अवस्थामा रहेको देखिन्छ ।

६ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार



बुधबार ६ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सबै उपसमूह हरियो भएको बजारमा ६ कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेर सर्किट लागेको हो । त्यसमध्ये चन्द्रागिरि हिल्सको सेयर मूल्य लगातार २७ दिनसम्म पनि १० प्रतिशतले बढेको छ । चन्द्रागिरिबाहेक सर्किट लाग्ने अन्य सबै कम्पनी जलविद्युतका छन् ।

यस दिन चन्द्रागिरि हिल्सबाहेक जोशी हाइड्रोपावर, ग्रिन लाइफ हाइड्रोपावर, युनाइटेड इदि मर्दि हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै, सेयर मूल्य सर्वाधिक दरले घट्ने कम्पनीमा भने घलेम्दी हाइड्रो रहेको छ । बुधबार यस कम्पनीको सेयर ८.९४ प्रतिशतले घटेको छ । यसबाहेक गुडविल फाइनान्सको २.७८ प्रतिशत, गुहेश्वरी फाइनान्सको १.९० प्रतिशत, नेस्नल हाइड्रोपावरको १.८१ प्रतिशत र बैंक अफ काठमाडौंको १.७० प्रतिशतले घटेको छ ।

  • प्रकाशित मिति : चैत ४, २०७७ बुधबार १७:५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया