६५ वर्ष उमेर पुगेका पत्रकारलाई मासिक १० हजार : अध्यक्ष आचार्य

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द लोकतन्त्रको संस्थागत विकासका लागि पत्रकारहरुले निस्पक्ष भएर कलम चलाउनुपर्ने आवश्यकतामाथि जोड दिएका छन् । महासंघ धनुषा शाखाको नवनिर्मित ‘शास्त्री सभाकक्ष’ को बिहीबार उद्घाटन गर्दै अध्यक्ष आचार्यले श्रमजीवि पत्रकारहरुको कल्याण कोष खडा गर्नका लागि गृहकार्य अन्तिम चरणमा पुगेको बताए । 

लोक कल्याणकारी विज्ञापनको क्षेत्रमा वर्षको ४ अर्बको कारोवार हुने गरेकोमा त्यसको १० प्रतिशत कल्याण कोषमा राख्ने व्यवस्थाले पत्रकारिता क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने उनले दाबी गरे ।  
 
अध्यक्ष आचार्यले अहिले कल्याण कोषमा ६ करोड रकम जम्मा भएको र त्यसको ब्याजबाट ६५ वर्ष पूरा भएका पत्रकारलाई मासिक १० हजार वृत्ति दिने गरी निर्देशिका बनाउने काम जारी रहेको र चाँडै कार्यान्वयन गरिने विश्वास समेत व्यक्त गरे । कल्याण कोषबाट ज्येष्ठ पत्रकार, अपाङ्ग पत्रकार तथा द्वन्द्वमा परेका पत्रकारहरुलाई आर्थिक सहयोग प्रदान गरिने उनले बताए । 

महासंघको इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचन हुन लागेकोमा खुसी व्यक्त गरे ।  

नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार विएम खनाल, प्रदेश पत्रकार महासंघका कोषाध्यक्ष प्रवीण साह, सल्लाहकार वीरेन्द्र रमण, प्रेस मञ्चका केन्द्रीय उपाध्यक्ष राजेश कर्ण, प्रेस चौतारी धनुषाका अध्यक्ष अवधेश कामत, प्रेस सेन्टरका अध्यक्ष शैलेन्द्र महतो क्रान्ति, दलित पत्रकार संघका प्रदेश अध्यक्ष कैलाश दास, मधेसी पत्रकार समाज धनुषाका अध्यक्ष शुभाष कर्णसहितका वक्ताले पत्रकारिताको हकहितका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

महासंघ धनुषाको नवनिर्मित दुईतले भवनको तल्लो तलामा व्यापारिक प्रयोजनका लागि पसल, पहिलो तलामा कार्यालय तथा माथिल्लो तलामा सभाकक्ष निर्माण गरिएको छ । वातानुकूलित सभाकक्षको निर्माण भएपछि महासंघलाई कुनै पनि कार्यक्रम आयोजना गर्नका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । साथै अन्य संस्थाहरुले पनि कार्यक्रमका लागि सभाकक्षको प्रयोग गर्न मिल्ने भएको छ ।
 
दुई तलाको भवन निर्माणमा विभिन्न दाताहरुले आर्थिक सहयोग गरेका छन् । भवन निर्माणमा कूल १ करोड रुपैयाँ खर्च भएको महासंघका अध्यक्ष अनिल मिश्रले जानकारी दिए ।





  • प्रकाशित मिति : चैत ५, २०७७ बिहीबार १७:२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया