बागमती प्रदेश : संसदसँग भाग्दै बहुमतका मुख्यमन्त्री पौडेल
फाइल तस्बिर

बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल प्रदेशसभा छलेर हिँडिरहेका छन् । सर्वाेच्चको फैसलापछि माओवादी केन्द्र र एमाले छुट्टाछुट्टै भएसँगै आफ्नो पक्षमा बहुमत हुँदा पनि मुख्यमन्त्री पौडेल संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव सहित अन्य विषयलाई पन्छाउँदै भागिरहेका छन् ।
 
सभामुख आफ्नो पक्षमा भएको फाइदा उठाइरहेका मुख्यमन्त्री पौडेलकै कारण बागमती प्रदेशसभा मौन रहेको छ । सर्वाेच्चको फैसलापछि माओवादी केन्द्र र एमाले छुट्टाछुट्टै भएपनि बागमती प्रदेश सरकारको समीकरणमा कुनै फेरबदल नआउने संकेत देखिएको छ । 

बागमती प्रदेशको राजनीतिक अवस्था हेर्दा अहिले नेकपा एमालेको एकल बहुमत देखिएको छ । एमालेको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई हराएका प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्री डोरमणि पौडेलको पक्षमा साविक एमालेमा बलियो माहोल देखिएता पनि मुख्यमन्त्री पौडेलले डराएर संसद बैठक नै राख्न नसकेको एमालेका एक प्रदेश सभा सदस्यले बताए । 

एमाले र माओवादी मिल्दा ८० सिट रहेकोमा पौडेलको पक्षमा ३४ भन्दा कम प्रदेश सभा सदस्यको समर्थन थियो भने उनका विरुद्धमा आएको अविश्वासको प्रस्तावमा ४५ जना सांसदले हस्ताक्षर नै गरेका थिए । तर, एमाले मात्रै हुँदा पौडेलको पक्षमा ३४ सांसदको समर्थन कायम छ भने शाक्यलाई समर्थन गर्ने माओवादीका २३ सांसद घटेका छन् । 

बागमती प्रदेशमा एमाले बलियो शक्तिका रूपमा छ । अहिले एमालेको माधव पक्षका सांसदहरूलाई माओवादीका सांसदहरूले साथ दिँदा पनि अर्को सरकार नबन्ने देखिन्छ । एमाले फुटेमा जसको नेतृत्वमा सरकार बने पनि कांग्रेसको साथ चाहिने देखिन्छ । एमालेका तर्फबाट सभामुख बाहेक ५६ सांसदमध्ये ओली पक्षका सांसदहरू ३४ जनाको हाराहारी रहेका छन् । यद्यपि केही सांसदहरू यता–उता हुने क्रम जारी छ ।

एमाले फुटेर प्रचण्ड–माधव पक्षका सांसद वा ओली पक्षका सांसदहरूले बागमती प्रदेशमा सत्ता समीकरणको नयाँ कोर्स कोर्न कुनै पनि हालतमा कांग्रेसको सहकार्य आवश्यक छ । सत्ता समीकरणमा एमाले र माओवादी र कांग्रेस बाहेक अन्य साना दलको भूमिका गौण देखिन्छ । 

सबै कुरा आफ्नो पक्षमा हुँदा पनि बागमती सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले आफू विरुद्धमा आएको अविश्वासको प्रस्ताव फेस गर्न डराइरहेका छन् । प्रदेश सरकार सांसदसँग भाग्दा प्रदेश सभा मौन देखिन्छ । 



उद्घाटन र निरीक्षणमा रमिता 
मुख्यमन्त्री पौडेलको पछिल्लो समय उद्घाटन र निरीक्षणमा व्यस्त छ । आफ्नै सरकारमा खाली रहेको मन्त्रालयहरू, प्रदेश योजना आयोगको उपाध्यक्ष सहितका अन्य पदहरुको नियुक्तीमा ध्यान नदिएर उनी नीतिगत सुधारभन्दा पनि प्रचारबाजीको रुपमा उद्घाटन र निरीक्षणमा हिँडिरहेका छन् । 

बिहीबार उनले हेटौंडामा निर्माणाधीन पाउडर दुग्ध उद्योगको निर्माण स्थलको निरीक्षण गरेका छन् । उनले पछिल्लो समय हप्तामा ४ देखि १० वटासम्म उद्घाटन र निरीक्षण भ्याउने गरेका छन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण गर्न लागेको पाउडर दुग्ध उद्योगको मुख्यमन्त्री पौडेलले निरीक्षण गरेका हुन् ।  



प्रदेशको राजधानी हेटौंडामा दैनिक पाँच टन पाउडर दूध उत्पादन क्षमताको उद्योग स्थापना प्रक्रिया सुरु भएको छ । प्रदेश सरकारले गठन गरेको बागमती प्रदेश दूध विकास बोर्डद्वारा ४५ करोड रुपैयाँको लागतमा उद्योग स्थापनाको लागि भवन निर्माणको काम भइरहेको छ । 

प्रदेशको चितवन र मकवानपुरलगायतका क्षेत्रमा पशु पालक किसानले उत्पादन गरेको दूध बिक्री नहुँदा दुग्ध विकास संस्थानको कार्यालय हेटौंडाले खरिद गरी पाउडर बनाउन विराटनगर लैजाने गर्दै आएको छ । अनुगमनमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया सहित ओली निकट नेता कार्यकर्ताहरुको लावालस्कर थियो । 

प्लान्टमा दैनिक ६० हजार लिटर दूधबाट पाँच मेट्रिक टन पाउडर उत्पादन गर्ने लक्ष्य रहेको छ । चालू आर्थिक वर्ष २०७७–७८ को पुस १ गते निर्माण सम्झौता गरेको काठमाडौं इजी इन्फा प्रालिले एक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी काम थालेको थियो । 

  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार १०:४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया