२०४२ सालतिर पद्मकन्या क्याम्पसमा बीए पढ्दै गर्दा विपना बस्नेतको भेट व्यापारी रवि अधिकारीसँग भयो। रवि बालाजुमा व्यापार गर्थे। विपना पनि पढ्नका बालाजुमै बस्थिन्। विपना ९ कक्षा पढिरहेकै बेला विपनालाई माग्न गएका थिए रवि। आमाले छोरी सानी छ भन्दै फिर्ता पठाएकी थिइन्। संयोग भनौं या भाग्य रवि विपनालाई कुरेर बसेका थिए। दोस्रो भेटमा दुवैले एक अर्कालाई मन पराए। २०४४ सालमा भागी बिहे गरे।
रविले भगाएर मच्छेगाउँमा रहेको आफ्नो घरमा लगे। विपनालाई रविले ४/५ महिना औधी माया गरे। बिहे गरेको ५ महिनामा विपना ३ महिनाकी गर्भवती भइसकेकी थिइन्। बिहे गरेको ५ महिनाबाटै विपना र रविको जीवनमा ग्रहणको सुरु भयो। विपना रविको बच्चा आफ्नो पेटमा हुर्काउँदै थिइन्।
पहिलो पटक गर्भवती हुँदा उनलाई निक्कै रमाइलो लागेको थियो। गर्भवती भएको थाहा पाएदेखि नै एउटै कुराले उनलाई छटपटी भइरहन्थ्यो, बच्चा कहिले जन्मन्छ होला भनेर। बच्चाले पेटमा मुभ गर्न थालेपछि उनलाई पेटमा सर्प हिँडेजस्तो अनुभव हुनुन्थ्यो। अललि डरपनि लाग्यो विपनालाई।
आफ्नो पेट छामेर आफैं अड्कल लाउँथिन् ‘मेरो बच्चाको २ वटा टाउको छ’। गर्भवती भएको ५ महिनापछि उनको घाँटी पोल्न थाल्यो। विपनालाई लाग्थ्यो ग्यास्टिक भयो। ग्यास्टिकको औषधि खाइन। तर, निको भएन्। पछि थाहा पाइन्, ‘पेटको बच्चाको कपाल उम्रने बेला धेरै गर्भवती महिलालाई घाँटी पोल्दो रहेछ।’ त्यो बेला उनले श्रीमानबाट पाउने विशेष खालको केही स्याहार पाइनन्। घरमा पनि खासै हेरचाह भएन्। त्यो बेलाको समाज पनि त्यस्तै थियो। उनले मन दुखाइनन्।
२०४५ साल असार ३ गतेका लागि डाक्टरले डेलिभरी डेट दिएका थिए। १० गतेसम्म बच्चा जन्मने कुनै संकेत देखिएन्। चेकअपका लागि हस्पिटल गइन् उनी। सबै नर्मल नै थियो। डाक्टरले केही दिन कुर्न भने। विपनालाई लाग्यो, ‘पेट नै नदुखी बच्चा जन्मने रहेछ’।
१५ गतेसम्म बच्चा जन्मने संकेत नपाएपछि विपना पुनः अस्पताल पुगिन्। यो पटक उनलाई भर्ना गरियो। बिहान १० बजे अस्पताल पुगेकी विपनालाई सवा १० बाट व्यथा लाग्ने औषधि सिन्थासिस लाइनको पहिलो डोज दिइयो। साँझसम्म सिन्थासिसको ३ डोज पुगेको थियो। दुखाइको चरम बिन्दुमा उनी के–के भन्दै बर्बराउँथिन् आफैंलाई थाहा हुँदैनथ्यो।
उनको यो बरबराहट पर बसेर हेरिरहेकी एक बिरामी कुरुवाकी आमाले छेउमा आएर सोधिन, ‘नानी पहिलो बच्चा हो?’ विपनाले च्याप्प ती आमैको हात समातेर भनिन्, ‘आमा मेरो बच्चा कहिले जन्मन्छ?’ आमैले जवाफ दिइन्, ‘यत्तिकैमा बच्चा कहाँ जन्मनु नानी, बच्चा जन्मन आकाशको तारा झर्नुपर्छ’। विपनाले खै के बुझिन्।
बारम्बार आकाश तिर हेरिरहिन्। एउटा वार्डमा उस्तै प्रकारका ६ जना बिरामी थिए। सबै उस्तै पीडाले छट्पटाइरहेका हुन्थे। आफ्नो दुखाइ कम भएका बेला विपनालाई दृश्य रमाइलो लाग्थ्यो। रात पर्न लागेको थियो वार्डमा नर्स चेकअपको लागि पसिन्। विपनाले फेरि सोधिन्, ‘सिस्टर मेरो बच्चा कहिले जन्मिन्छ’। उनले जवाफ दिइन, ‘बिहानको राति।’
विपना झन् धेरै अलमलमा परिन्। अलमल र पीडाकाबीच उनले २० सन्तान जन्माएकी आफ्नी आमालाई कयौँ पटक सम्झिइन्। ‘मेरी आमा २० पटक यसैगरी छट्पटिनु भयो, तर मर्नु भएन’ सोचिन्, ‘बच्चा जन्माउने दुखाइले मरिँदो रहेनछ।’ उनले असार १६ गते विहान ३ बजेतिर छोरीलाई जन्म दिइन्। आँखाअगाडि छोरी देखेपछि सबै पीडा कहाँ पुगे उनी आफैंलाई थाहा भएन्।
यसैगरी उनका अन्य २ सन्तान जन्मिए। उनी १ छोरा २ छोरीकी आमा भइन्। पारिवारिक सम्बन्ध झन धेरै बिग्रँदै गइरहेको थियो। उनीमाथि विभिन्न खाले हिंसा र यातना भइरहन्थे।
अन्य विकल्प नदेखेकी विपना छोराछोरीको भविष्य र माइतीको इज्जत सम्झेर सबै सहेर बसिरहिन्।
जेठी छोरी रिमा ८ वर्षकी भएकी थिइन्। गाउँमा एकजनाले झुन्डिएर आत्महत्या गरे। रिमा त्यो दृश्य हेरेर फर्किइन। त्यो पछि बारम्बार मर्ने कुरा गर्न थालिन्। रिमाले आमालाई सोधिन्, ‘आमा म मरेँ भने के गर्नुहुन्छ?’ छोरीलाई धेरै पटक सम्झाइसकेकी विपना कुन मुडमा थिइन् थाहा छैन्। भनिदिइन्, ‘के गर्नु २/४ दिन रुन्छु बिर्सिन्छु’। त्यसको केही दिनमा रिमा घाँटीमा पासो लगाएर मरिन्। भनेजस्तो सजिलो कहाँ हुने रहेछ र सन्तानको गुमाएको चोट निको हुन। आज पनि बेला–बेला खाटा उप्किन्छ। नमज्जाले दुख्छ। सन्तान वियोगको घाउ सबैभन्दा धेरै दुख्दो रहेछ।
घरमा हिंसाको क्रम उकालो ग्राफमा थियो। छोरी बितेको घाउ छातीमा सहनै नसक्ने गरी पोलिरहन्थ्यो। विपनाको शरीरले सबै धान्न सकेन। उनलाई आफ्नो जिन्दगीको माया लाग्यो। बाँचेका छोराछोरीको भविष्य आँखामा आयो। मध्ये पुसको चिसो। मन भने आगोको भुङ्ग्रोमा राखे झैं पोलिरह्यो। त्यो दिन कोल्टे फेर्दा फेर्दै रातको ३ बज्यो।
विपनाले यही अनिदो रातमा अठोट गरिन् ‘म यो दुःखबाट बाहिर निस्कन्छु’। उनी आफ्ना २ छोराछोरी लिएर घरबाट निस्किन्। घरबाट निस्कँदै गर्दा उनले आफूले लगाएको गहना पनि सासुको हातमा राखिदिइन्। माइतीको शरणमा पुगिन्। चार खालमा रहेको जिल्ला अदालतमा डिभोर्स केस दर्ता गरिन्। उनी करिब ९ महिना माइतीमै बसिन्। यो ९ महिनामा विपनाको डिभोर्स प्रक्रिया सकियो। यसबीचमा उनले ब्यूटीसियनको तालिम पनि लिइन्।
माइतीको सहयोगमा व्यूटीपार्लर खोलिन्। कमाइ राम्रै थियो। विपना छोराछोरी लिएर माइतीबाट अलग भइन्। माइतीको माया नपाएर होइन्। बिहे भएकी छोरी सधैं माइतीमा बस्नु हुँदैन भन्ने भान भयो। छोराछोरी हुर्कँदै थिए। विपनाले झण्डै ४ वर्ष पार्लर सञ्चालन गरिन्। त्यसपछि उनी मेकअप आर्टिस्टका रुपमा चलचित्र क्षेत्रमा पुगिन्।
चलचित्रको काममा उनी राती अबेरसम्म फिल्डमा हुन्थिन्। साना छोराछोरी घरमा। मन कति पोल्थ्यो, बयान गरी साध्य छैन।
तर कसैसँग कुनै गुनासो गरिनन्। विपनाले केही समय छोराछोरीलाई होस्टलमा पनि राखिन्। त्यतिबेला छोराछोरीलाई भेट्न रविलाई निषेध गरेकी थिइन्। होस्टलमा आफू बाहेक कसैलाई भेट्न नदिनु भनेकी थिइन्। रवि आफ्ना छोराछोरी भेट्न छ भनेर पटकसम्म होस्टल पुगेका थिए। तर, रविले छोराछोरी भेट्न पाएनन्।
विपना रविसँग छुट्टिने बेला उनका छोरा ४/५ वर्षका थिए। छोरी ६/७ महिनाकी। छोरीलाई बुवाका बारेमा केही थाहा थिएन। छोराले भने रविले आमालाई कुटेको हरेक पटक देखेका थिए। दाजु बहिनी बेलाबेला रविका कुरा गर्थे।
एकदिन दाजुले बैनीलाई सोधे, ‘बैनी तलाई बाबाको के याद आउँछ ?’ बैनीलाई के थाहा थियो र भन्नु। उनले जवाफ दिइन्, ‘मलाई त आमाले भनेको मात्रै याद छ’ उनले प्रश्न गरिन् ‘तपाईलाई के थाहा छ दादा?’ उनका दाजु पनि आमालाई दिएको यातनाबाहेक केही सम्झना गर्न सक्दैनथे। छोराछोरीको कुरा सुन्दा विपनाको मन निचोरिन्थ्यो। उनीसँग दिने केही प्रतिक्रिया हुँदैनथ्यो।
चलचित्र क्षेत्रमा प्रवेश गरेपछि विपनाको भेट कलाकार दीपक क्षेत्रीसँग भयो। दीपकसँगको भेट प्रेममा परिणत भयो। दीपक र विपना सँगै बस्न थाले। विपनालाई घर छाडेर हिड्दा लागेको थियो अर्को बिहे गर्नुहुन्न। बिहे गर्दा छोराछोरीमा नराम्रो असर पर्नसक्छ। तर दीपकसँगको भेटपछि उनका छोराछोरीले अभिभावकत्व पाए। उनका छोराछोरीले बाबु पाए। उनले पनि छहारी पाइन जीवनमा।
छोरा तन्नेरी भए। उनको नागरिकता बनाउनु थियो। विपनाको नामबाट बनाउन सम्भव थिएन। दीपकले आफ्नो नामबाटै छोराछोरीलाई नागरिकता दिन चाहन्थे। विपनाका लागि यो पनि ठिक लागेन। छोराको नागरिकताका लागि सिफारिस लिएर आइन। छोराले सबै च्यातेर फालिदिए। पछिल्लो वर्ष छोरीले बुबाकै नामबाट नागरिकता बनाइनन्। त्यसको अर्को वर्ष धेरै संघर्ष गरेर उनका छोराले आमाको नामबाट नागरिकता बनाए।
विपनाका दुवै छोराछोरी अहिले चलचित्र क्षेत्रमा छन्। अभिनेत्री रिस्ता बस्नेत (अहिले अधिकारी लेख्छिन्) विपनाकी कान्छी छोरी हुन्। उनले चलचित्र क्षेत्रमा आफ्नै खालको छाप बनाएकी छिन्। छोरा रिनेक्स बस्नेतले पनि दुई चलचित्र ‘चिसो एस्ट्रे’ र ‘प्यूसो’ मा अभिनय गरेका छन् दुवै चलचित्र प्रदर्शनको तयारीमा छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।