खुसी छिन् आज प्रिया
फरकधार / ७ चैत, २०७७

घोराही उपमहानगरपालिका ११ की ३ वर्षीया प्रिया गन्धर्वले झोला, कापी, ड्रेस, चप्पल लगायतका सामान पाइन् । उनमा आएको त्यो खुसी शब्दमा व्यक्त गर्न सकिने खालकै थिएन । 

उनले भनिन्, ‘कापी पाएँ, झोला पनि ल्याएँ, चप्पल पनि आयो, ड्रेस पनि ल्याएँ । अब स्कुल झोला बोकी, ड्रेस लगाई जान्छु ।’ 

प्रिया गन्धर्वको आफ्नै घर छैन । गन्धर्व बस्ती नै उनको घर हो । उनका आमा–बाबु कोही छैनन् । बस्तीका दैलो चहार्दै उनी बाँचिरहेकी छन् । बस्तीकै बालकल्याण प्राथमिक विद्यालयमा उनी कक्षा १ मा पढ्छिन् । बेसहारा प्रिया पढ्ने लेख्ने रहरमा खाली खुट्टा, रित्ता हात र भोको पेटले विद्यालय दौडिरहेकी छन् । त्यही चोटमा मलम लगाउन सहयोगी मनहरू विद्यालय पुग्दा उनी धेरै खुसी बनेकी छन् । 

उनी मात्रै होइन उनकै साथी सृष्टि गन्धर्वको खुसी पनि यस्तै छ । खाली खुट्टा र रित्तै विद्यालय जादाँको दुःख सुनाउँदै उनले पनि भनिन्, ‘बाले कापी ड्रेस र झोला ल्याउँछु मात्रै भन्नुहुन्छ ल्याउनु हुन्न । म सधै रित्तै स्कुल जानु पर्थ्यो । बाले ल्याउनुभन्दा पहिले विद्यालयमै पायौं ।’

प्रियाकी आमाको मृत्युपछि बाबुले छोडेर जाँदा उनी बाल्यावस्थामा बेसहारा जीवन बिताइरहेकी छन् । जसलाई पढ्न लेख्नभन्दा अझ धेरै बाँच्न मुस्किल छ । उनले थप्छिन्, ‘कति दिन त म भोकै स्कुल जान्छु ।’

गन्धर्व बस्तीमा आमा–बाबु हुने र नहुने सबै बालबालिकाका पीडा यस्तै छन् । गरिबीको पीडाले बस्तीका बालकदेखि वृद्धसम्मलाई पोलिरहेको छ । तर, मलम लगाउने ठाउँ कतै छैन । जसका कारण गन्धर्व बस्तीका बालबालिकाहरूको विद्यालयबाट वञ्चित छन् । बस्तीका बालबालिकाहरूको शिक्षाका लागि सहयोग पुर्‍याउन कोही पुगेमा बालकदेखि वृद्धसम्मको मन उज्यालो बन्छ । 

‘मागेर खान्छौं’

हाम्रो बस्तीको नाम नयाँ बस्ती हो । गन्धर्व बस्ती त पुरानो हो । सरकारले छानो फेरिदियो । मानो फेर्न अझै सकिएको छैन । फेरिएको छानोसँगै बस्तीको नाममा फेरियो । तर बस्तीका मान्छे पुरानै पीडामा बाँचिरहेको छौं । मागेर खान्छौं । छोराछोरी पढाउन हामीलाई मुस्किल छ । कसैले दिए दुईचार महिनालाई छोराछोरी राम्रोसँग स्कुल जान्छन् । न पाए रित्तै । यो पीडाले छोराछोरीलाई भन्दा हामीलाई धेरै पोल्छ, स्थानीय कुलवीर गन्धर्वको भनाइ हो यो ।

उनले भने, ‘मागेर खाने, टालेर लाउनेहरूको पीडा यही हो । जसका कारण बस्ती बालबालिका शिक्षादेखि वञ्चित हुनुपरिरहेको उनले सुनाए । भोको पेटका लागि ६ महिना घरमा र ६ महिना प्रदेशमा बिताउँदा नै बालबालिकाहरूको पढाइ लेखाइ बिग्रिएको उनले बताए । बस्तीका अधिकांश परिवारहरू रोजगारीका लागि काठमाडौंका इँट्टा भट्टामा दौडिरहने भएकाले बालबालिकाहरू पढ्नबाट वञ्चित हुनुपरेको उनको भनाइ छ ।

उनले भने, ‘भट्टामा नगए भोकै बस्नुपर्छ, भट्टामा गए बच्चाले पढाइ छोड्नु पर्छ ।’ 

‘सरकारले दिन्छ रे ! खै कहिले दिन्छ ?’

‘सरकारले रोजगार नभएकालाई रोजगार, घरबास नभएका घरबास, पढ्न लेख्न पाएकालाई पढ्न लेख्न दिन्छ रे ! तर गन्धर्व बस्तीलाई खै कहिले दिन्छ  ? सरकारको बाटो कुर्दा–कुर्दा बालक वृद्ध भइसके, वृद्ध मरिसके बस्तीमा अझै सरकार आएको छैन’, स्थानीय मनिराम गन्धर्वले भने, ‘सरकार आएको हामीले देख्छम् यही बाटो हिँड्छन्, सरकारले हामीलाई कहिल्यै देख्दैन । जसका कारण पीडामा रमाउँदै भए पनि बाँच्नु परिरहेको छ ।’

सरकारी शिक्षा निःशुल्क शिक्षा भने पनि कापी कलम, ड्रेस चप्पल जोहो गर्न नसक्दा बालबालिकाहरूले पढाइ छोड्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।

‘विपन्न बस्तीलाई शिक्षा’

विपन्न बस्तीलाई शिक्षाको पहुँचसम्म पुर्‍याउने र बालबालिकाहरूको भविष्य उज्ज्वल बनाउने उद्देश्यका साथ त्रिभुवननगर जेसिजले बर्सेनि विपन्न समुदायका बालबालिकाहरूको शिक्षाका लागि समुदायमै शिक्षा सहयोगका कार्यक्रम सञ्चालन गर्दै विपन्न बस्तीको शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले शैक्षिक सामग्री सहयोग कार्यक्रम सुरु गरिएको त्रिभुवननगर जेसिज दाङका अध्यक्ष मुकेश्वर शर्माको भनाइ छ ।

जस अन्तर्गत विपन्न समुदायका बालबालिकाहरूको शैक्षिक सामग्री सहयोग गरिएको उनले बताए ।

  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार १६:४०:२१,   अन्तिम अपडेट : चैत ७, २०७७ शनिबार १६:४१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया