जापानमा शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी

जापानमा शनिबार ६.९ म्याग्‍निच्यूडको भूकम्प गएको छ। त्यहाँको मौसम विज्ञान निकायले शनिबार ६.९ म्याग्‍निच्यूडको भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिएको छ।

विभागका अनुसार उत्तरपूर्वी सामुद्रिक तटीय क्षेत्रका बासिन्दालाई सम्भावित सुनामीबाट सचेत रहन आग्रह गरेको छ । शुरूमा ७.२ म्याग्‍निच्यूडको कम्पनको अनुमान गरिएको थियो। तर जापानका अधिकारीले भूकम्पको धक्का ६.९ म्याग्‍निच्यूडको पुष्टि भएको बताएका छन् ।

अमेरिकी भूगर्भ विभागले जापानमा शनिबार गएको भूकम्पको धक्का ७.० म्याग्‍निच्यूडको रहेको बताएको छ। भूकम्पका कारण तत्काल मानवीय क्षति भएको छैन। तर सुनामी आउनसक्ने अवस्थालाई ध्यानमा राख्न नागरिकलाई आग्रह गरिएको छ।

स्थानीय समय अनुसार शनिबार साँझ ६ बजेर ९ मिनेट जाँदा महशुस गरिएको भूकम्पको केन्द्रविन्दु मियागी क्षेत्रको प्रशान्त महासागरीय क्षेत्रमा जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराइमा रहेको जापानी मौसम विज्ञान निकायले जनाएको छ। 

भूकम्पपछि समुद्रमा करिब एक मिटरसम्मको पानीको तरङ्ग निस्किन सक्ने भन्दै तटीय क्षेत्रमा रहेका हजारौ नागरिकलाई सुरक्षित स्थलतर्फ जान निर्देशन दिइएको छ ।

जापानी आणविक अधिकारीहरूले भूकम्पको धक्काका कारण आणविक प्लान्टमा कुनै प्रकारको असामान्य संकेत महसुस नगरिएको बताइएको छ । जापानमा यस पहिले सन् २०११ को मार्च ११ मा गएको भूकम्पका कारण १५ हजारभन्दा बढी नागरिकको मृत्यु र वेपत्ता भएका थिए ।



दश वर्ष पहिले जापानमा आएको सुनामीका कारण निम्तिएको विनाशलाई सम्झँदै भूकम्पपछि हजारौँ जापानी नागरिक सुरक्षित स्थलतर्फ हतार हतार भागेको जापानी राष्ट्रिय टेलिभिजन एनएचकेद्वारा भिडियोमा देखाइएको छ ।

सरकारले उच्च सतर्कता अपनाउन भनेपछि आफूहरू पहाडी क्षेत्रमा भागेको इसिनोमाकी शहरका एक स्थानीय ताकासी योकोताले एएफपीलाई बताए ।



जापानी अधिकारीले सुनामीको सम्भावना क्रमशः कम हुँदै गएको बताएका छन्। तर सावधानीका लागि अझै केही समय सुरक्षित स्थलमा रहन भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई निर्देशन दिएका छन्।

  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार २०:१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया