लामखुट्टेका लागि म्याद गुज्रिएको औषधी छर्किएपछि गाउँमा स्वास्थ्य समस्या

गर्मीयाममा लामखुट्टेको प्रकोप रोक्न महोत्तरीको जलेश्वर नगरपालिका ५ को वडा कार्यालयले औषधी छर्कियो । 

औषधी छर्किएको केही घण्टा नबित्दै बालबालिका रुन-कराउन थाले । उनीहरुमा एक्कासि जिउ चिलाउने, वान्ता गर्ने,  जिउ फुल्ने जस्ता समस्या देखिए ।

लामखुट्टे नियन्त्रणको प्रयासले गाउँमा अर्को स्वास्थ्य समस्या जन्मियो । 

जलेश्वर ५ का पर्सा, पतैली, चौरिया र बिसनपुर गाउँमा यो समस्या देखिएको हो ।

औषधी छर्किएको केही घण्टा नबित्दै स्थानीय बालबालिका, युवा, वृद्धदेखि पशु चौपायामा समेत त्यसको प्रभाव देखिएको स्थानीय स्वास्थ्यकर्मी सरोज चौधरी बताउँछन् ।

उनले भने, ‘स्थानीयले एकाएक सिट्रिच, सिटामोल, एन्टिबायोटिक लगायतका औषधि खोज्न थाले । उनीहरुमा सामुहिक रुपमै चिलाउने, जिउ फुल्ने लगायतका समस्या देखिएपछि कारणको खोजी गर्दा म्याद गुज्रिएको औषधि छर्किएपछि यस्तो समस्या उत्पन्न भएको थाहा पाएँ ।’



लामखुट्टेको औषधी छर्किएको केही घण्टा नबित्दै गाउँमा त्रास मच्चियो कसैलाई चिलाउने, कसैलाई ज्वरो आउने, बालबालिकाहरु रुने लगायतका समस्या सुरु भए, आफूलाई पनि यस्तै समस्या देखियो स्थानीय शत्रुध्न शर्माले बताए ।

उनले भने, ‘वडा कार्यालयले लामखुट्टेको औषधी छर्कन लगायो, लामखुट्टेको आतंक त कम भएन तर हामी गाउँबासीमा विभिन्न खाले समस्याहरु देखिन थाल्यो ।’



यता जलेश्वर नगरपालिका ५ का वडाध्यक्ष राकेश राउतले म्याद गुज्रिएको औषधी छर्किएको आरोप निराधार रहेको दाबी गरे । उनले म्याद गुज्रिएको औषधी छर्केका कारण यस्तो समस्या नदेखिएको बताए । आवश्यक मात्राभन्दा बढी औषधी प्रयोग गरिएकाले यस्तो समस्या भएको हुनसक्ने उनको दाबी छ ।

वडाध्यक्ष राउतले ८ लिटर पानीमा एउटा प्याकेट मिलाउनु पर्नेमा त्यसभन्दा बढी प्याकेट मिसाइएकाले यो समस्या आएको हुन सक्ने जिकिर गरे । 

वडाध्यक्ष राउतले लामखुट्टेको औषधी ६ महिना अगाडि वडा कार्यालयमा ल्याइएको र औषधीको म्याद गुज्रिन २ महिना अझै बाँकी रहेको दाबी गरेका छन् ।

  • प्रकाशित मिति : चैत ८, २०७७ आइतबार १४:१२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया