केपी ‌ओली विदेशीले पालीपोसी हुर्काएका एजेन्ट रहेछन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशी शक्तिको एजेन्टको संज्ञा दिएका छन्। अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा दलित मुक्ति मोर्चाद्वारा आइतवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन्। 

उनले ओलीलाई विदेशी शक्तिका अगाडि राम्रैसँग लम्पसार पर्न सक्ने व्यक्तिको संज्ञा दिए। 'विदेशी शक्तिका अगाडि राम्रै लम्पसार पनि पर्न सक्ने व्यक्ति रहेछन् केपी ओली', उनले भने, '२० /२५ वर्षदेखि विदेशी शक्तिले हुर्काएका व्यक्ति हुन्। केपी ओली हुन्, जसलाई विदेशीले पाली पोसी हुर्काएका रहेछन्।'

उनले ओलीलाई संघीय लोकतान्त्रिक गणतन्त्रलाई नास गर्न सक्ने पात्रका रुपमा टिप्पणी गरे। दाहालले संविधानले सबै जनतालाई अझै अधिकार दिइनसकेको बताए। 'संविधानले अझै पनि नागरिकलाई सबै अधिकार दिएको छैन', उनले भने, 'दलितलाई खास ठाउँमा राखिएपछि उनीहरुलाई हटाउन हतार हुन्छ। तिलक परियारलाई प्रदेश २ बाट त्यसैगरी हटाए। यो संविधान उनीहरुलाई घाँडो भएको छ।'

उनले हिजो समानुपातिक र समावेशीको विरोध गर्नेहरु संघीयता खारेज गर्न लागेको बताए। 'समानुपातिक समावेशीको विरोध गर्नेहरु संघीयतालाई खारेज गर्न चाहन्छन्', उनले भने,  'संसद पुन:स्थापना पनि हामीले आन्दोलन गरेर भएको हो। सर्वोच्चले ठीकै फैसला गर्‍यो। तर अझै पनि सबै अधिकार जनताले पाएका छैनन्।'

उनले प्रतिक्रियावादीहरु प्रचण्डलाई ढाल्न लागिरहेको बताएका छन्। 'अहिले प्रचण्ड ढल्छ भनेर लागेका छन्। संघीयतालाई उल्ट्याउन र संविधान च्यात्न भनेर लागेका छन्', उनले भनेका छन्, 'ती सबैले यो संविधानलाई चिप्ल्याउन गणतन्त्र पनि सिद्याउन सक्ने केपी ओली नै रहेछन्।'





  • प्रकाशित मिति : चैत ८, २०७७ आइतबार १४:३६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया