जसपा विवाद : राजपा ब्यूँताउनकै लागि ६ सदस्यीय कार्यदल !
नाम जसपा : काममा राजपा र संघीय समाजवादी

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एक भएको करिब एक वर्ष पुग्न लाग्यो। बाहिर हेर्दा पार्टी एक भएपनि देखिएपनि आन्तरिक गतिविधि हेर्दा दुई पार्टी नै देखिन्छन्। पछिल्लो समय सरकारमा सहभागी हुने विषयमा भएको विवादपछि झन् स्पष्ट रुपमा दुई धार देखिएको छ। 

पछिल्लो समय एकता अघिका राजपा समूह र समाजवादी पार्टीको समूह बेग्लाबेग्लै बैठक बस्ने र गोप्य निर्णय थालेका छन्।

गएको बिहीबार हुने भनिएको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बस्न सकेन। बैठकमा विवाद बल्झिने र पार्टी फुट्ने उच्च सम्भावना देखिएपछि तत्कालै बैठक स्थगित गरियो। बैठक स्थगित भए लगत्तै जसपाका एउटा घटक अर्थात तत्कालीन राजपाका पक्षका शीर्ष नेताहरुको बैठक बसेको थियो।

बैठकमा कार्यकारिणी समितिको बैठक स्थगित हुनुको कारणबारे ब्रिफिङ  र पार्टीको समायोजनलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भएको बैठकमा उपस्थित एक नेताले जानकारी दिए।

सो बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले वर्तमान राजनीतिक अवस्था र यसमा पार्टीको भूमिकाका बारेमा ब्रिफिङ  गरेका थिए। सो बैठकमा कार्यकारिणी समितिको बैठकमा भाग लिन काठमाडौं आएका जसपाका नेताहरु थिए।

राजपा ब्यूँताउन कार्यदल



त्यसरी छुट्टै बसेको बैठकले ६ सदस्यीय कार्यदल समेत गठन गर्यो। त्यसमा जसमा राजपापट्टिका नेतालाई मात्रै राखियो। नवगठित कार्यदलको अध्यक्षमा प्रदेश २ का भौतिक पूर्वाधार एवं विकास मन्त्री जितेन्द्र सोनल तोकिए। उनको नेतृत्वमा कार्यकारिणी सदस्यहरु मनिष सुमन, केशव झा, सञ्जय यादव, सुनिल रोहित, रमेश यादवलाई कार्यदलमा राखियो। 

दुई पार्टीको समायोजनलाई व्यवस्थित गर्न लागि पूर्वराजपाले ६ सदस्यीय कार्यदल गठन गरेको जानकारी दिएको छ। यो समितिले पूर्व राजपा नेपालका विभिन्न संगठनलाई व्यवस्थित गर्दै समायोजनका लागि तयार गर्ने बताइएको छ। बाहिरी रुपमा यो भनिए यसको भित्री उद्देश्य भने फरक रहेको स्रोतको भनाइ छ।
स्रोतका अनुसार जसपाभित्र सहमति जुट्न नसक्ने अवस्थाको आँकलन गर्दै राजपाले छुट्टै बैठक राखेको हो।



त्यो बैठकको निष्कर्ष थियो– राजपाका पुराना संगठन ब्यूँताउने। अनि पुनः राजपालाई नै अगाडि बढाउने। यही योजनालाई कार्यान्वयन गर्न कार्यदल गठन गरिएको बैठकमा सहभागी एक नेताले बताए। 

‘जसपामा सरकारको विषयमा धेरै किचलो हुन थाल्यो। सहमति जुट्न सकिरहेको छैन’ ती नेताले भने, ‘त्यही भएर नेताहरुले अब आफ्नै हिसाबले संगठन अगाडि बढाउनु पर्यो भन्ने प्रस्ताव अगाडि बढाए। त्यसमा सहमति भएर सहमति अनुसार नै कार्यदल गठन गरिएको हो।’

राजपाको पुरानो संगठनलाई सक्रिय बनाएपछि आफ्नो हिसाबले अगाडि बढ्ने रणनीति बैठकमा तय गरिएको उनले जानकारी दिए।

महेन्द्र रायले गरे बहिष्कार

बैठकमा सहभागी हुन देशभरिका जसपा कार्यकारिणी सदस्यहरु काठमाडौं आइसकेका थिए। दुई पक्षको टकराब भएर बैठक स्थगित भएपछि महन्थ ठाकुर–राजेन्द्र महतोले एक ब्याङ्क्वेटमा पूर्व राजपातर्फका कार्यकारिणी सदस्यलाई छलफलका लागि डाके। त्यहाँ तत्कालीन राजपाका सबै नेताहरु पुगे  तर महेन्द्र राय देखिएनन्। स्रोतका अनुसार उनले बैठक बहिस्कार गरेका थिए। 

६ सदस्यीय कार्यदल सदस्य केशव झाले भने उनलाई नबोलाइएका कारण बैठकमा सहभागी नभएको प्रतिक्रिया दिएका छन्। तत्कालीन राजपाको नकारात्मक कुरा गर्दै हिँड्ने गरेका कारणले उनलाई नबोलाइएको झा भनाइ छ।

समाजवादी समूह पनि आफ्नै लाइनमा 

जसपाको तत्कालीन राजपाले पक्षले मात्रै नभएर संघीय समाजवादी पक्षले पनि आफ्नै तयारी गरिरहेको छ। स्रोतका अनुसार केन्द्रीय कार्यकारिणी समितिको बैठक तोकिएको अघिल्लो दिन दुवै समूहले आफ्नो बेग्लाबेग्लै बैठक राखेका थियो। 

समाजवादी पक्षले ठाकुर र महतोलाई समर्थनमा लाग्नबाट आफ्नो सांसदहरुलाई जोगाउन लागि केही दूतहरु पनि परिचालन गरेको छ। ती दूतहरुले समाजवादी तर्फका सांसदहरूका घरमै गएर फकाउने देखि लिएर फोनबाट सम्झाउने काम गरिरहेका छन्। 

‘अहिले समाजवादी पक्षलाई के डर छ भने कतै आफू पक्षका सांसदहरुले पनि साथ छाड्ने त हैनन्’ स्रोत भन्छ, ‘यही कारणले गोप्य नीति तय गर्नका लागि जसपा भन्दा पनि आफ्नो पुराना पार्टीको खास मान्छेसँग मात्र छलफल गरिरहेको छ।’

घटनाक्रम हेर्दा जसपा अहिले आन्तरिक विवादको भूमरीमा फसेको देखिन्छ। सत्ता सहकार्यको विषयले बढेको विवादले नेताहरु मात्रै होइन कार्यकर्ता अलमलमा परिरहेका छन्।  
 

अनि भएन कार्यकारिणी समिति बैठक 

कार्यकारिणी समितिको बैठकमा प्रस्तुत गर्नका लागि पार्टी अध्यक्ष उपेन्द्र यादवले राजनीतिक प्रस्ताव तयार पारेका थिए। एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनकारी भएको र उनले संविधानविपरीत काम गरेका कारण सरकारबाट बाहिर ल्याउन माओवादी केन्द्रलाई साथ दिनुपर्ने निष्कर्ष उनको प्रतिवेदनमा थियो। 

यादवको यस्तो प्रस्ताव रहेको थाहा पाएपछि पूर्व राजपा नेपालका नेताहरुले त्यसलाई रोक्न कोसिस गरे। प्रधानमन्त्री ओली तत्काल माग पूरा गर्न तयार भएका र अर्काे पक्षलाई साथ दिँदा तत्काल माग पूरा हुने स्थिति नभएको राय पूर्व राजपा पक्षका नेताहरुको थियो।

प्रचण्डले सरकार बनेपछि माग पूरा गर्ने आश्वासन दिएको तर ओली अहिले सरकारमै रहेकाले उनीबाटै माग छिटो पूरा हुने तर्क ठाकुर र महतोले गरेका थिए। उपेन्द्र र बाबुराम लगायतका नेताहरु कुनै हालतमा पनि ओलीलाई समर्थन गरेर जान नसक्ने अडानमा रहेपछि स्पष्ट दुई समूह देखिएको हो। 
 

  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार ८:२९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया