प्रधानमन्त्रीलाई विप्लवले सोधे : बन्दी कहिले रिहा गर्ने, मुद्दा कहिले फिर्ता लिने?

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बन्दी रिहाइ र मुद्दा फिर्ताको कुरा उठाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर फागुन २१ मा भएको तीन बुँदे सहमति अनुसार सरकारले बन्दी रिहाइ र मुद्दा फिर्तामा ढिलाइ गरेको गुनासो गरेका छन्। 

विप्लवतर्फका वार्ता टोली सदस्य उदयबहादुर चलाउने 'दीपक'ले महासचिवले प्रधानमन्त्रीसँग बन्दी रिहाइ र मुद्दा फिर्तामा भएको ढिलाइबारे प्रश्न उठाएको जानकारी दिए। 'फागुन २१ को सहमति अनुसार विभिन्न जेलमा रहेका बन्दी रिहाइमा सरकारले तदारुकता देखाएको छैन', उनले भने, 'मुद्दा फिर्ता प्रक्रिया अघि नबढ्दा हाम्रा कतिपय साथीहरुले तनाव झेलिरहनु परेको छ। त्यहीकारण महासचिव कमरेडले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउनु भएको हो।'

विप्लव र सरकारबीच गत फागुन २1 गते नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, जेलमा रहेका विप्लव समूहका नेता-कार्यकर्ता रिहा गर्ने र सबै किसिमका मुद्दा खारेज गर्ने सहमति भएको थियो । तर उक्त सहमति अनुसार सरकारले प्रक्रिया अघि नबढाएको भन्दै विप्लवले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उता प्रधानमन्त्री ओलीले नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्तामा सरकार गम्भीर रहेको बताएका थिए। 





  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार १५:३२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया