संसदको शून्य समयमा बाेल्ने २१ सांसदले के भने ?

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधि सभाको मंगलबारको बैठक प्रारम्भ हुनासाथ सभामुखसँग समय मागेर बोल्दै सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं. ५ गल्फाइँ गाउँको पारिपट्टि भारतले तीन महिनादेखि नेपाल सरकारको सहमति र जानकारीविना नै एकतर्फी ढंगले नेपाली भूमि मिचेर तटबन्ध निर्माण गरीरहेकाले तटबन्ध निर्माण कार्य तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराए । 

त्यस्तै, शून्य समयमा बोल्दै सांसद अन्जना विसंखेले कोभिड १९ भाइरसले नयाँ रुपमा जन्म लिएको भन्दै स्वास्थ्य मन्त्रालयले कर्मचारीको व्यवस्थापन र जनताको विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा ध्यानाकर्षण गराए । 

सांसद अमनलाल मोदीले कोभिड १९ को महामारीपछि सरकारले देश–विदेशमा रोजगार गुमेका मजदुरहरुलाई रोजगारी दिन नसकेको बताए । उनले मलको अभाव भएको पनि बताए । प्रधानमन्त्रीले रअको मान्छे कुन विषयमा भेटेको भन्ने जानकारी नगराइएको पनि उनको भनाइ छ । संसद पुनर्स्थापनापछि संसदलाई बिजनेस नदिएर सरकारले संसदलाई गतिहीन बनाएको पनि उनले बताए । 

सांसद आशाकुमारी विकले बझाङको दुर्गम साहिपाल गाउँपालिकाका जनप्रतिनिधि प्रत्येक वर्ष चामल माग्न सिंहदरबार धाइरहेका भए पनि समस्या समाधान नभएको बताए । त्यहाँको खाद्य समस्या समाधानका लागि स्थायी खाद्य डिपो सञ्चालन गर्नु जरुरी रहेको उनको भनाइ छ ।

सांसद इन्दुकुमारी शर्माले महोत्तरीमा फागुन १० गते ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी गीतादेवी झाको आफ्नै निवासमा सुतिरहेको अवस्थामा बेड, बिछ्यौनासहित रहस्यमय तरिकाले अपहरण गरी बेपत्ता पारिएको घटनाको दोषी पत्ता लगाउन प्रहरी प्रशासनले हालसम्म नसकेको भन्दै दोषी पत्ता लगाई दोषी उपर कानुनी कारबाही गर्न माग गरिन् । 



सांसद उमा रेग्मीले महिलाहरुको हत्या, हिंसा र बलात्कारको घटनाको बिगबिगी रहेको भए पनि यस विषय सरकारको प्राथमिकतामा किन परेको भनी प्रश्न गर्नुभयो । यस विषयमा सरकार गम्भीर नबनेको उनको भनाइ छ । हत्या, हिंसा तथा बलात्कारको अपराधीहरुलाई कडाभन्दा कडा कारबाही गर्न उनले माग गरिन् । 

सांसद एकवाल मियाँले बारा जिल्लाबाट वीरगन्जसम्म पुग्ने हाइटेन्सन लाइनको बीचमा २५–३० वटा गाउँ परेकाले जनता त्रासमा रहेकोले हाइटेन्सन लाइनको व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए । 



सांसद कुमारी तुलसी थापाले बर्दियामा आरक्षणमा हुर्किरहेका पाटे बाघले आतंक मच्चाएका र हालसम्म ९ जनाको ज्यान गइसकेको अवस्थामा सरकारले जनताको सुरक्षा गर्न कुनै उपाय नअपनाएको बताइन् । उनले बर्दियाको नेपाल–भारत सिमानामा व्यापक तस्करी भइरहेको र नेपाल भारत सिमानामा नेपाली भुमि अतिक्रमण भइरहेको भए पनि सरकारको ध्यान जान नसकेको पनि बताइन् । 

सांसद कृष्णप्रसाद दाहालले नेपालको गरिब जनतालाई लगानी गर्नको निम्ति प्राथमिकता क्षेत्र कर्जा निर्धारण गरेर तोकिएका ठाउँमा प्रतिशत तोकेर सरकारले कर्जा दिने कुरा ल्याएकोमा त्यसको स्वागत गरे । सो कर्जाविना धितो दिनेगरी उच्चस्तरीय कानुनी संरचना बनाएर सबै प्राथमिकताका क्षेत्रमा पर्ने कर्जाजति एकै ठाउँमा जम्मा गरेर सो कर्जा सर्वसुलभ ढंगले जनताले प्राप्त गर्न सक्ने स्थिति बनाउनका निम्ति सरकारसँग माग गरे । 

सांसद कृष्णभक्त पोखरेलले सरकारले दुर्लभ वन्यजनतु एकसिंगे गैँडाको गणना सुरु गरेकोमा स्वागत गरे । घाँसे मैदान, वासस्थान, ताल तलैयाको अभाव, चोरी, सिकारी आदिका कारण संकटमा पर्दै गएका प्रकृतिका अमूल्य निधिहरुको रक्षा गर्नु सबैको दायित्व भन्दै उनले एकसिंगे गैडाको संरक्षणका लागि रणनीतिक योजना बनाई सरकारले कार्यान्वयनमा ल्याओस् भन्ने सुझाब दिए । अन्र्तराष्ट्रिय समुदायबाट प्राप्त सहयोग र समन्वयमा पनि अभिवृद्धि हुँदै जाओस् भन्ने उनको आह्वान छ ।

सांसद केदार सिग्देलले छिमेकी देश भारतमा फेरी दोस्रो चरणको महामारी सुरु भएको भन्दै नेपालमा यसको प्रभावकारी रोकथाम र उपचारका लागि यथाशीघ्र कदम चाल्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध पक्षसँग माग गरे । 

सांसद खगराज अधिकारीले सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, अविश्वासको प्रस्ताव ल्याउन फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने भनेर प्रश्न गरे । ठाउँ–ठाउँमा गएर नेकपाको मलामी जाने कोही भएनन् भन्ने गरेको भए पनि नेकपा एमालेदेखि सातो गएको उनको भनाइ छ । लोकतन्त्रको कुरा गरे पनि चुनावमा जान डराएको पनि उनले आरोप लगाए । आफैँ भत्ता बढाउन माग गर्नेहरुले प्रधानमन्त्री समर्थक सांसदले माग गरेको भनेर प्रचार गरिएको उनको भनाइ छ ।

सांसद खेमप्रसाद लोहनीले मध्यपहाडी लोकमार्गअन्तर्गत धादिङ जिल्लामा पर्ने सडक निर्माण कार्य रोकिएकाले तत्काल सुरु गर्न अनुरोध गरे । 

सांसद गगनकुमार थापाले संसदलाई कामविहीन बनाउने प्रपञ्च गरिएको बताए । प्रधानमन्त्री ओली पदमा रहुन्जेल संसदलाई तिरस्कार गरिरहने उनको भनाइ छ । संसदलाई तिरस्कार गरेर जनताको अपमान गरिएको भन्दै उनले संसदको गरिमा कायम राख्नका निम्ति आफूहरु लडिरहने बताए । प्रधानमन्त्री ओलीले गरेको संसदको अपमानको बदला जनताले लिने उनको भनाइ छ ।

सांसद गजेन्द्रबहादुर महतले कर्णालीमा अझै पनि बिजुली बत्ती नपुगेर अँध्यारै रहेको भए पनि देशलाई अल्पविकसितबाट विकसितमा पुगेको भनिएकोमा असन्तुष्टि व्यक्त गरे । सो प्रमाणपत्र नेपाललाई कसले दिएको हो कर्णालीको जनतालाई चासोको विषय भएको उनको भनाइ छ ।

सांसद गंगा चौधरी सत्गौवाले सरकारले गरेको कामको आफ्नै पार्टीले उचित प्रचार नगरेको बताए । आफ्नै पार्टीभित्रबाट हलो अड्काउने अनि गोरु चुट्ने काम भएको उनले टिप्पणी गरे । 

सांसद घनश्याम खतिवडाले सरकारले अगाडी सारेका कामहरु ठेकेदारको लापरबाहीका कारण सम्पन्न हुन नसकेकोतर्फ ध्यानाकर्षण गराए । मोरङमा पनि विकास निर्माणको काममा ठेक्का लागेको भए पनि ठेकेदारको लापरबाहीका कारण काम नभएको उनले बताए । 

सांसद चाँद तारा कुमारीले तराई क्षेत्रमा कोरोना संक्रमण बढीरहेकोले तराई क्षेत्रमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन बढाउन माग गरिन् । उनले धर्मनिरपेक्षताको अनुभव मुस्लिम समुदायले पाउन नसकेको पनि बताइन् । 

सांसद जिपछिरिङ लामाले दार्चुलाको जमिन भारतमा पर्यो भनेर नक्सा सार्वजनिक गरेको भए पनि जमिन फिर्ता नआएकाले जमिन कहिले फिर्ता आउँछ ? भनेर प्रश्न गरे । जग्गा अर्को देशमा हामीचाहिँ लोगो मात्रै लगाएर हिँड्ने कि जमिन कहिले फिर्ता आउँछ भन्ने उनको प्रश्न छ ।

सांसद जीवनराम श्रेष्ठले काठमाडौँ जिल्लामा सडक विस्तारको नाममा डोजर आतंक भएकाले तत्काल रोक्न माग गरे । सडक विकासका आयोजनालाई रिभ्यु गर्नुपर्ने पनि उनको माग छ ।

सांसद झपटबहादुर रावलले संसद पुनर्स्थापनापछि दल विभाजन गर्ने गतिविधि भएको बताए । संविधानको रक्षाको निम्ति सबैलाई हौसला प्राप्त हुनुपर्नेमा उनको जोड थियो । 

  • प्रकाशित मिति : चैत १०, २०७७ मंगलबार १६:५६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया