चारखाल जेलमा राजेन्द्र महतो–रेशम चौधरीको भेटः बिफ्रिङ अफ ३० मिनेट्स

संसदमा अहिले सांसदहरुको जोडघटाउ चलिरहेको छ । ३ वर्षअघि प्रत्यक्ष निर्वाचित निलम्बित सांसद रेशम चौधरी फेरि संसदमा फर्किन्छन् कि फर्किँदैनन् ? 
अहिले पेचिलो बनेको छ, यो प्रश्न । 

सर्वोच्च अदालतमा उनीविरुद्धको मुद्दा विचाराधीन छ, यसको फैसला जे आउँछ, त्यसले निलम्बित रेशम चौधरीको राजनीतिक भविष्य निर्धारण गर्नेछ ।

तिनै चौधरीलाई जेलबाट छुटाउनु पर्ने मुख्य माग सरकारमा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन अब जनता समाजवादी पार्टी (जसपा)सहित अगाडि बढेको छ । यो श्रृङ्खलाको पहिलो खुड्किलो हो, बुधबार चारखाल जेलमा भएको जसपाका वरिष्ठ नेता राजेन्द्र महतो र चौधरीबीचको भेटघाट ।

महतो र चौधरीबीचको ३० मिनेटको यो भेटले भोलिको नेपाली राजनीतिक परिदृश्यलाई समेत प्रभावित पार्ने देखिएको छ ।

आउनुहोस्, चर्चा गरौँ यी ३० मिनेटमा के कुरा भए चौधरी र महतोबीच । 

यसलाई बुझ्न हामीले जसपा नेता महतोलाई टेलिफोन गरेका थियौँ ।



‘मेरो र चौधरीजीको भेटघाटमा राजनीतिक कुराकानी कम भए, व्यक्तिगत कुराकानी बढी भए,’ महतोले भने ।

महतो त पहिले जस्तै अहिले पनि राज्यको नश्लीय चिन्तनका कारण चौधरी अहिले जेलमा रहेको बताउँछन् । ‘राज्यको नश्लीय चिन्तनका कारण अहिले रेशमजी जेलमा हुनुहुन्छ,’ महतोले भने, ‘उहाँ राजनीतिक मुद्दाका कारण जेलमा रहनु भएको होइन । कांग्रेस, एमाले, माओवादी र विप्लवले गरेका गतिविधिलाई राजनीतिक भन्ने, थरुहट आन्दोलनलाई आपराधिक मुद्दा भन्ने ? यो सोच कसरी आयो ?’



एकातिर जसपा सरकारमा जान चौधरीको रिहाइलाई मुख्य माग बनाएर अगाडि बढिरहेको छ, अर्कोतिर चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा विचराधिन छ ।

त्यसैले पनि महतो र चौधरीको ३० मिनेटको भेटघाटलाई महत्वका साथ हेरिएको हो ।

यो भेटबारे महतो पूर्णरुपमा खुल्न चाहिँ चाहँदैनन् । स्रोतका अनुसार चौधरी र महतोबीच अहिले चलिरहेको सत्ता समीकरणको विषयमा पनि लामै छलफल भएको थियो ।

‘सरकारले सत्ता समीकरणका लागि प्रस्ताव गरेको छ, तपाईंको रिहाइलाई हामीले माग बनाएका छौँ,’ चारखाल जेलमा महतोले चौधरीलाई भनेका कुरा स्रोतले उद्धृत गर्यो, ‘अहिलेको सत्ता यसबारे पोजेटिभ देखिएको छ ।’ स्रोतका अनुसार महतोले चौधरीलाई सरकार उनलाई छोड्न सकारात्मक भएको बताएका थिए ।

‘यसले भोलिका दिनमा राजनीतिक फाइदा हुने पनि तपाईंलाई नै हो,’ महतोले चौधरीलाई भने, ‘प्रक्रियामा जति समय लाग्छ, अब त्यही हो । अरु सबै कुरा सहमतिमा हुने भएका छन् ।’

महतोको कुरा सुनिसकेपछि चौधरी पनि केही खुसी भए । अनि उनले महतोलाई जवाफ फर्काए, ‘पार्टीले मेरो हकमा आवाज उठाएको छ, यसले मलाई खुसी बनाएको छ, तपाईंहरु जे निर्णय गर्नुहुन्छ, त्यसमा मेरो समर्थन रहन्छ ।’

त्यसो त चौधरीले आज एक विज्ञप्ति निकालेका छन् जसले यसलाई पनि पुष्टि गरेको छ । विज्ञप्तिमा उनले आफू पार्टीका लागि बाधक नबन्ने बताएका छन् ।

सर्वोच्च अदालतले ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद पुनस्र्थापना गरेपछि र २३ फागुनमा नेकपा एकतालाई खारेज गरिदिएपछि जसपा अहिले सत्ता समीकरणमा मुख्य आकर्षणमा रहेको छ । यसले फेरि जसपामा फुट आउन सक्ने अनुमान पनि गरिएको छ । त्यसैले रेशम चौधरीको रिहाइका माग तथा उनको र महतोको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

  • प्रकाशित मिति : चैत १२, २०७७ बिहीबार १६:३६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया