कोरोनाको दोस्रो लहर : 'लकडाउन अचुक समाधान हाेइन'
खोप लगाए पनि कोरोना सर्न सक्छ, लापरवाही नगरौँ
डा. शेरबहादुर पुन
फरकधार / १४ चैत, २०७७

कोरोना भाइरसको दोस्रो लहरले फेरि विश्वलाई सताउन थालेको छ। सन् २०१९ डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोनाविरुद्ध भ्याक्सिन अभियान चलिरहँदा दोस्रो लहरले पिरोलेको हो। 

सन् २०२० त्रास नै त्रासबीच बिताएको विश्वले सन् २०२१ राहत पाउने अपेक्षा थियो। तर नयाँ वर्ष पनि उत्साहजनक रहेन। विश्वले सत प्रतिशत प्रभावकारी खोप बनाउन नसकिरहेका बेला कोरोनाको दोस्रो लहरले फेरि चक्कर लगाउन थालेको छ। 

कोरोनाको दोस्रो लहर युरोप, दक्षिण अमेरिका हुँदै एसियामा प्रवेश गरेको छ। खुला सीमाना रहेको छिमेकी भारतमा यसले आतंकित बनाइरहेको छ। भारतको संकटको प्रभाव नेपालमा पनि देखिन धेरै समय कुर्नै पर्दैन।

भाइरसबारे बुझौँ

दोस्रो लहरले ल्याउन सक्ने भयावह अवस्था र जोगिने उपायबारे कुरा गर्नुअघि ‘भाइरस वेभ’ भनेको के हो यसबारे बुझौँ। कुनै पनि संक्रामक भाइरस ‘अप एन्ड डाउन’ हुन्छ। भाइरसको संक्रमण चरमोत्कर्षमा पुग्छ र झर्छ। यो क्रम चलिरहन्छ। पहिलो, दोस्रो, क्रमश....। अहिले कोरोनाको दोस्रो लहरले संसारलाई आक्रान्त बनाइरहेको छ। 

भाइरसको एउटा लहर तलदेखि माथिसम्म पुगेर सेलाउन तीन महिना या अझै बढी पनि लाग्न सक्छ। अब हामी क्रमिक रुपमा आउने लहर र तिनीहरु कति भयानक हुन्छन्? कुरा गरौँ। 

अधिकांशलाई लाग्छ, कुनै पनि भाइरसको पहिलो लहर मात्रै भयानक हुन्छ, त्यसपछि आएकाले केही गर्दैनन् भन्‍ने बुझाइ गलत हो। 

उत्तिकै खतरनाक

सबै भाइरसको हकमा यो लागु हुँदैन। धेरै कुरा भाइरसको प्रकृतिमा निर्भर हुन्छ। जस्तो कि, स्पेनिस फ्लू पहिलो भन्दा दोस्रो लहर भयावह थियो। कोरोनाबारे हामीले अझै सबै कुरा बुझ्न सकेका छेनौँ। त्यसैले दोस्रो लहर कति हानिकारक हुन्छ भन्ने बुझ्नै बाँकी छ। 

यद्यपि दोस्रो लहर सामना गरिरहेका देशहरुको अवस्था हेर्दा हामी भन्न सक्छौँ– यो पनि पहिलो जस्तै डरलाग्दो हुन सक्छ। मृत्युदर उही छ। कोरोनाको दोस्रो लहर प्रभावित देशहरुमा संक्रमित र मृत्युदर उस्तै छ। यसर्थ, हामीले कोरोनाको दोस्रो लहर कमजोर हुन्छ भनेर नजरअन्दाज गर्नु हुँदैन। पहिलो लहरमा जस्तै यसमा पनि उत्तिकै सजग र सचेत हुनु पर्छ।

यस पटक हामीलाई पोहोरको जस्तो गाह्रो अवस्था छैन। कारण, कोरोना हाम्रा लागि नौलो होइन। त्योभन्दा महत्वपूर्ण हामीसँग कोरोनासँग लडेको एक वर्षे अनुभव छ। पहिलो लहर सामना गर्दा धेरै कुरा सिकेका छौँ। हामीलाई यसबाट बच्ने उपायदेखि कमीकमजोरी सबै कुरा थाहा छ। पोहोर नागरिक र सरकार के के मा कहाँ कहाँ चुक्यौँ राम्रोसँग थाहा छ। त्यसैले, एक वर्षको अनुभव समीक्षा गरेर दोस्रो लहर सामना गर्नुपर्छ। 

अचुक समाधान होइन लकडाउन

लकडाउन दीर्घकालीन उपाय होइन। लकडाउन अल्पकालीन वा अझ भनौँ आपतकालीन उपाय मात्रै हो। यो कुरा हाम्रै र अन्य देशको लकडाउन, त्यसको प्रभावकारिता हेरेर बुझ्न सक्छौँ। यसले हुने खानेलाई नछोए पनि देशको अर्थतन्त्र र गरिब–निमुखालाई एकदमै असर गर्छ। त्यसैले म लकडाउनको पक्षमा पहिले पनि थिइनँ, अहिले पनि छैन। फेरि यो मेरो नितान्त व्यक्तिगत विचार हो। 

अब यहाँ एउटा प्रश्न उब्जिन्छ, लकडाउन समाधन होइन भने अर्को उपाय के हो त ? अब यसमा प्रवेश गरौँ। दोस्रो लहरको सामना गर्न हामीसँग मुख्य रुपमा दुइटा उपाय छन्, जुन हामीलाई राम्रोसँग थाहा छ र, अनुभव पनि। 

पहिलो अनि सबैभन्दा मुख्य कुरा जनस्वास्थ्य मापदण्ड अनिवार्य र सही तरिकाले पालना गर्नुपर्छ। जनस्वास्थ्य मापदण्डमा आवश्यक परे मात्रै घर बाहिर निस्कने, बाहिर जाँदा अनिवार्य मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, घरबाट निस्कँदा र फर्किसकेपछि साबुन वा सेनिटाइजरले हात सफा गर्ने जस्ता उपाय पर्दछन्। पछिल्लो समय हामीले समाधानका यी विधि अपनाउन छाडेका छौँ। अब भने हामीले यी कुरालाई गम्भीर रुपमा लिनुपर्छ  । 

दोस्रो उपाय, सीमानाका कडाइ। पहिलो उपायमा ज्यादा भूमिका नागरिकको हुन्छ। तर यसमा सरकार, नागरिक र सरोकारवाला पक्षको। भारतसँगका सबै सीमानाका तत्काल कडाइ गरिनुपर्छ। विश्वका प्रभावित देशबाट आउने र जानेलाई चेकजाँच र क्वारेन्टाइनको व्यवस्था हुनुपर्छ। पहिलो लहरमा हामी सबैभन्दा ज्यादा यही कुरामा चुकेका थियौँ। यो कुरालाई सरोकारवाला पक्षले गम्भीरतापूर्वक लिनुपर्छ। 

अरु के गर्ने?

यसबाहेक हामीले ध्यान दिनुपर्ने केही अन्य कुरा पनि छन्। हामीमध्ये केहीले कोरोनाको खोप पहिलो डोज लगाइसकेका छौँ। दोस्रो खेप पनि बिस्तारै लाउने अवस्थामा पुगेका छौँ। लगाएकाहरुले मलाई संक्रमण हुँदैन भन्ने नसोच्नुहोला। कोरोनाको दुवै खोप लगाइसकेकाबाट पनि अरुलाई  कोरोना सर्ने जोखिम हुन्छ। अहिलेसम्मको अवस्थामा खोप ७० प्रतिशत मात्रै प्रभावकारी देखिएको छ। त्यसैले, लापरवाही नगर्नु होला।

यसका अलवा वृद्धवृद्धालाई प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो खोप लगाउनु पर्छ। नेपालमा पनि वृद्धवृद्धालाई प्राथमिकता साथ खोप दिइँदै छ। यसलाई अझै व्यापक बनाउनुपर्छ। 

जनस्वास्थ्य मापदण्ड राम्रोसँग पालना गर्यौँ भने संक्रमणलाई व्यापक रुपमा फैलिनबाट रोक्न सक्छौँ। संक्रमितको संख्या कम हुँदा अस्पतालमा राम्रो उपचार पाउनुहुन्छ। स्वास्थ्यकर्मीले बिरामीको राम्रो हेरचाह गर्न सक्छन्। यसले संक्रमण र मृत्युदर धेरै घटाउँछ। 

अन्त्यमा, हामी सबै सचेत र जिम्मेवार बनौँ  । तर, नआत्तिऊँ । 

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अन्तर्गत क्लिनिकल रिसर्च युनिटका संयोजक डा. पुनसँग  फरकधारका कमल विष्टले गरेको कुराकानीमा आधारित)

  • प्रकाशित मिति : चैत १४, २०७७ शनिबार ९:४६:१०,   अन्तिम अपडेट : चैत १४, २०७७ शनिबार १८:२०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया