लोप हुँदै राउटेले निर्माण गरेका काठका सामग्रीहरु

जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय कुनै समय काठका विभिन्न सामग्रीहरु निर्माण गरेर गाउँघरमा अन्नसँग साट्ने गर्दथ्ये । विभिन्न जिल्लाका मानिसहरु माझ आफ्नो सामग्रीहरु लिएर पुग्थे उनीहरु । गाउँघरमा अत्यधिक मात्रामा राउटेले निर्माण गरेका सामग्रीको प्रयोग हुन्थ्यो । 

नेपालमै लोपोन्मुख समुदायको रुपमा रहेको राउटे समुदायले निर्माण गर्ने काठका सामग्रीहरु पछिल्लो समय लोप हुँदै गएका छन् । गाउँघरमा सामग्रीहरु किनबेच गर्ने चलन हराएसँगै राउटेका सामग्रीहरु संकटमा परेका छन् ।

अहिलेको आधुनिक समाजले राउटेका सामग्रीहरु मन नपराउँदा राउटेको पेशा झनै लोप हुने अवस्थामा छ । राउटे समुदायका व्यक्तिहरुले विभिन्न काठबाट थाल, कचौरा, झुमा, कोसी, आडी, मधुस, खाट, नाउ लगायतका थुप्रै सामग्रीहरु निर्माण गर्ने गर्दछन् ।
 
सामान बिक्री हुन छाडेपछि अधिकांशले निर्माण गर्न छाडिसकेका छन् । केही मात्रामा झुमा, कोसी लगायतका सामग्रीहरु निर्माण भइरहेका छन् । तर, ती पनि बिक्री नभएको राउटे मुखिया ऐनबहादुर शाहीले बताए ।

काठबाट निर्माण गरिएको झुमा बेच्न सुर्खेतको लेकवेशी नगरपालिका–७ को स्थानीय बजार आएका राउटेहरु । वसन्त भण्डारी/फरकधार ।
 
यसरी लोप हुँदै गएको राउटेको पेशालाई जोगाइराख्न राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालले संरक्षणको लागि पहल गरेको छ । प्रतिष्ठानले राउटेको व्यवसायलाई ख्याल गर्दै निर्माण गरेका सामग्रीहरु खरिद गरिरहेको छ । जस अन्तर्गत शनिबार ३० देखि ४० वटा काठमा झुमा खरिद गरेको छ । एउटा झुमाको ३ हजारका दरले खरिद गरिएको प्रतिष्ठानले जनाएको छ ।
 
राउटेले निर्माण गरेका सामग्रीहरु बजारमा बिक्री नभएर लोप हुने अवस्थामा पुगेपछि उनीहरुको पेशालाई जोगाइराख्न प्रतिष्ठानले खरिद गर्ने गरेको राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष सत्यदेवी खड्काले बताइन् ।


 
‘राउटेलाई व्यावसायिकता तर्फ उन्मुख गरौँ । उनीहरुको पेशा जोगाऔँ भन्ने उद्देश्यले प्रतिष्ठानले खरिद गरिरहेको छ,’ उनले भनिन्, ‘पछिल्लो समय बजारमा प्लाष्टिकबाट बनेका भाँडाहरूका कारण राउटेको पेशा नै धरापमा परेको छ । राउटेका सामग्रीहरु बिक्री हुनै छाडे, उनीहरुले आफ्नो पेशा पनि बिर्सँदै गएका छन् ।’ 

प्रतिष्ठानले ती सामग्रीलाई एउटा सङ्ग्रहालयको रुपमा राख्ने उद्देश्य रहेको अध्यक्ष खड्काले बताइन् । राउटेले बनाएका सामग्रीहरु राज्यले खरिद गरेर उनीहरुलाई व्यवसायी बनाउनुपर्नेमा आफूहरुले गर्नु परेको उनको गुनासो छ । 



राउटे समुदायले निर्माण गरेका सामग्रीको बजारीकरणको जिम्मा राज्यले लिनुपर्ने राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपाल कर्णाली प्रदेशकी अध्यक्ष कृष्णा ओलीले बताइन् । ‘राउटे समुदायमा उनीहरुको संस्कृति, परम्परालाई जोगाउँदै केही परिवर्तनको खाँचो छ,’ उनले भनिन्, ‘राउटे समुदायले निर्माण गरेका सामग्रीको बजारीकरण गर्ने, उनीहरुको संरक्षण गर्ने, स्वास्थ्य सुविधालाई ख्याल गर्दै स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने जरुरी छ ।’

राउटे समुदायको संस्कृति, परम्परालाई जोगाउँदै उनीहरुको बस्ने ठाउँ, सरसफाइ  जस्ता कुराहरुमा परिवर्तनको आवश्यकता रहेको कर्णाली प्रदेशसभा सदस्य मिनासिंह रखालले बताइन् । लोपोन्मुख राउटे समुदायलाई सरकारले नै व्यावसायिकता तर्फ उन्मुख गराउनुपर्नेमा उनको जोड छ । 



  • प्रकाशित मिति : चैत १५, २०७७ आइतबार ११:१८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया