डढेलोको धुँवाले ढाक्यो नेपाली आकाश, खुल्न अझै केही दिन लाग्‍ने
वायुमण्डल स्थिर हुँदा पनि समस्या बढ्यो

तीनदेखि काठमाडौं उपत्यकासहित देशमा विभिन्न भागमा बाक्लो तुवाँलो लागिरहेको छ। तुवाँलोले ढपक्कै ढाकेपछि घाम पनि लाग्न पाएको छैन। चैतको तातो याममा चिसो महसुस भइरहेको छ।

पछिल्लो समय पानी नपरेपछि बढेको धुलोधुँवाकै कारण यस्तो समस्या भएको मौसमविद्हरु बताउँछन्। मौसमविद्का अनुसार वायु प्रदुषण यसरी बढ्नुमा मुख्य २  कारण छन्। केही सातायता देशभरका जंगलमा डढेलो लागेको छ। जताततै लागेको डढेलोका कारण नेपालको आकाशमा बाक्लो धुँवा र धुलोका कण थुप्रिएपछि तुवाँलो लागेको हो। 

अर्काे कारण वायुमण्डलमा वायु स्थिर हुनु हो । वायु चलायमान नभएका कारण धूलो, धुवाँका कणहरु उपत्यका क्षेत्रमा जमेर बसेका छन् । वायु चलायमान भएको खण्डमा ती कणहरु उडाएर अन्तै लैजाँदा भिजिविलिटी सुधार हुने मौसमविद् मञ्जु वासीले बताएकी छन्।

मौसमविद् बासीका अनुसार अहिले देशभरका अधिकांश उपत्यकामा तुवाँलोले ढाकेको छ । पूर्वी तराईका क्षेत्रमा पनि यस्तै छ।  पश्चिमी तराईमा भने तुवाँलोको मात्रा कम छ। काठमाडौं लगायत बागमती प्रदेशमा धेरै छ। तुवाँलोले पोखरालाई पनि ढाकेको छ।

जाडो मौसम वा वर्षातको समयमा हुस्सु-कुहिरो लागेर वायुमण्डलको भिजिबिटिली कम हुने गर्छ । त्यो समयको हुस्सु, कुहिरोमा पानीको मात्रा हुन्छ । अहिले लागेको तुवाँलो एकदमै सुख्खा छ । यसमा पानीको मात्रा नभई धूवाँ र धुलोका कणहरु मात्रै छन् । यस कारण अहिलेको वायु प्रदूषणले स्वाश्स–प्रश्वासमा समस्या हुने, आँखा चिलाउने, छालामा एलर्जी हुने समस्याहरु देखिने चिकित्सकहरु बताउँछन्।

सुधार हुन्छ



मंगलबारबाट प्रदूषणको मात्र कम हुने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । ‘मंगलबारदेखि पश्चिमी वायुको प्रभाव केही बढ्ने र वायुमण्डल चलायमान हुने देखिन्छ’ मञ्जु भन्छिन्, ‘पर्सिबाट विस्तारै हटेर जान्छ।’

वायु प्रदूषणका कारण भिजिविलिटी कम भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरु शुक्रबारदेखि नै प्रभावित भएका थिए । 



उच्च वायु प्रदूषणका कारण स्वास्थ्यमा समस्या देखिने भन्दै स्वास्थ्य मन्त्रालयले पनि शुक्रबार नै विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको थियो । सकेसम्म घरबाहिर ननिस्कन, अनिवार्य मास्कको प्रयोग गर्न, बालबालिका, जेष्ठ नागरिक र दीर्घ रोगीहरु विशेष ख्याल राख्न मन्त्रालयले अपिल गरेको थियो। 

तीन महिनाअघि पनि यस्तै

गत पुसको तेस्रो साता पनि काठमाडौं उपत्यका लगायतका देशका मुख्य सहरमा यही खालको वायु प्रदूषणको समस्या देखिएको थियो। त्यस बेला काठमाडौंको वायु प्रदूषण अहिलेसम्मकै सबैभन्दा खराब रहेको वातावरण विभागले जानकारी दिएको थियो । 

  • प्रकाशित मिति : चैत १५, २०७७ आइतबार १३:११:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया