काठमाडौंबासीका घर घरमा आइपुग्यो मेलम्चीको खानेपानी

काठमाडौं : दुई दशक लामो प्रतीक्षापछि बहुचर्चित  मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकाबासीका घर घरमा आइपुगेको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्चीको खानेपानी राजधानीस्थित विभिन्‍न स्थानमा झारेको हो। 

आइतबार दिउँसो २ बजेदेखि काठमाडौंका विभिन्‍न क्षेत्रमा पानी वितरण सुरु गरिएको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले बताए। चाबहिलस्थित महाँकाल चौरको ट्यांकीबाट घर घरमा पानी दिन थालिएको उनले बताएका छन्। 

‘आजदेखि मेलम्चीको खानेपानी घर घरमा पुगेको छ। चाबहिलस्थित महाँकाल चौरको ट्यांकीबाट मेलम्चीको खानेपानी घरघरमा झारिएको छ', राईले भने, 'अनामनगरस्थित ट्यांकीबाट त्यस क्षेत्रमा पानी खसिसकेको छ।'

उनका अनुसार मेलम्चीको पानी कुटुबहाल, कालो पुल, विशालनगर, देवकोटा चोक, बत्तीसपुतली र बागेश्वरी क्षेत्रमा झरिसकेको छ। एउटा क्षेत्रमा झरिसकेको पानी आजै उपत्यकाका अन्य क्षेत्रमा पनि पठाइने उनले बताए। उनका अनुसार अहिले मिनभवनस्थित ट्यांकी भरिएपछि नयाँ बानेश्वर क्षेत्रमा पनि वितरण गरिनेछ। 

राईका अनुसार आजै बाँसबारी र महाराजगन्ज क्षेत्रको ट्यांकीमा भरेर त्यस क्षेत्रमा पनि पानी पठाइनेछ। केयुकेएलले अहिले परीक्षण गरेर जेठदेखि नियमित पानी दिने भएको छ। आज मात्रै केयुकेएलले उपत्यकामा मेलम्चीको चार लाख लिटर पानी बाँड्ने योजना बनाएको छ। 





  • प्रकाशित मिति : चैत १५, २०७७ आइतबार १७:४२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया