वीरेन्द्रनगरमा खानेपानीको चरम अभाव, मागको ५० प्रतिशत पनि पानी आउँदैन
वीरेन्द्रनगरमा वितरण भइरहेको खानेपानीको करैखोलामा रहेको संकलन तथा प्रशोधन केन्द्र । तस्बिरः वसन्त भण्डारी/फरकधार ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकामा खानेपानीको चरम अभाव देखिएको छ । गर्मी याम सुरु भएसँगै मुहानबाट पर्याप्त मात्रामा पानीको आपूर्ति नहुँदा मागको ५० प्रतिशत समेत पानी आउन छाडेको छ । उपत्यकामा बढ्दै गएको सहरीकरण, गर्मी याममा अत्यधिक मात्रामा पानीको प्रयोग हुने भएकाले पनि पानीको चरम अभाव देखिएको हो । 

उपत्यकामा खानेपानीको अभाव नयाँ भने होइन । यसअघिका वर्षमा पनि वीरेन्द्रनगरमा खानेपानीको अभाव हुने गरेको थियो । यो वर्ष लामो समयसम्म आकाशबाट पानी नपरेका कारणले पनि बजारमा अत्यधिक पानीको अभाव देखिएको हो । विशेष गरी वीरेन्द्रनगरमा एकदेखि ५ नम्बर वडामा खानेपानीको चरम अभाव देखिने गरेको छ । 

चैत्रयता धारामा पानी आउनै छाडेको वीरेन्द्रनगर–३ का रमेश खड्काले बताए । ‘कहिले तीन दिनको एकपटक पानी आउँछ,’ उनले भने, ‘त्यो पनि पर्याप्त मात्रामा पानी आउँदैन । कहिले एक हप्तामा एकपटक, कहिले त दुई हप्तामा पनि एकपटक पानी आउने गरेको छ ।’ धारामा पानी नआएपछि पानीको मुहान खोज्दै हिँड्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । धारमा पानी आउन छाडेपछि चर्को मूल्यमा पानी किनेर खानुपर्ने बाध्यता रहेको वीरेन्द्रनगर–१ का खगेन्द्रप्रसाद आचार्यले बताए । 

चालू आर्थिक वर्षमा लामो समयदेखि पानी नपरेका कारण पनि यो वर्ष धेरै नै पानीको अभाव देखिएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए । ‘जलवायु परिवर्तनका कारण खानेपानीका स्रोत सुक्दै गएका छन्,’ उनले भने, ‘अझै पानीको अभाव देखिन सक्छ । लामो समयदेखि आकाशबाट पानी परेको छैन । गर्मी याममा अत्यधिक पानीको माग बढेका कारणले मागअनुसार पानी आपूर्ति गर्न सकिएको छैन ।’

उपभोक्ताको अत्यधिक मागलाई मध्यनजर गरेर सबै वडामा ४८ घण्टामा एकपटक पानी जाने व्यवस्था गरिएको छ । बजार क्षेत्रमा रहेका मुख्य लाइन तथा सहायक लाइनमा पालैपालो ४८ घण्टामा एकपटक पानी वितरण गरिएको संस्थाका कार्यालय प्रमुख डम्बरप्रसाद गौतमले जानकारी दिए । ४८ घण्टामा एकपटक पानी वितरण गरे पनि मुख्य लाइनबाट सहायक लाइनमा पानी जानै नपाउँदा सहायक लाइनका उपभोक्ताले पर्याप्त पानी पाएका छैनन् । 

मागको ५० प्रतिशत पनि आएन पानी



वीरेन्द्रनगरमा पानीको माग अत्यधिक मात्रामा छ । कर्णाली प्रदेशको राजधानी भएसँगै दैनिकजसो जनसंख्या बढिरहेको छ । तथ्यांकअनुसार हाल वीरेन्द्रनगरमा २ सय ७८ लिटर प्रतिसेकेन्ड पानीको माग छ ।

तर त्यसको आधा पनि पानी पुर्याउन सकिएको छैन । हाल वीरेन्द्रनगरमा आपूर्ति गरिरहेका झुप्रा खोला, खरी बोरी खोला, इत्राम खोला, खोर्के खोला, बुलबुलेबाट प्रतिसेकेन्ड ९० लिटरभन्दा कम पानी आउने गरेको छ । खडेरी सुरु भएसँगै यो ६० देखि ७० लिटर प्रतिसेकेन्ड सम्ममा झर्ने अनुमान गरिएको छ । मुहानबाट पानीको आपूर्ति कम हुँदै गएपछि ४८ घण्टाबाट ७२ घण्टाको फरकमा सबै टोललाई पानी वितरण गर्ने बताएको छ । 



हाल वीरेन्द्रनगरमा एक हजार ९ सय ८३ वटा धारा उपत्यकाको घरमा जडान गरिएको छ । ती धारा प्रत्येक दिन बढिरहेका छन् । धाराको संख्या बढे पनि पर्याप्त पानी नहुँदा वितरणमा समस्या देखिएको छ । 
एउटै विकल्प भेरीको पानी

वीरेन्द्रनगर उपत्यकाको खानेपानीको विकराल समस्या समाधान गर्ने एउटै मात्रै विकल्प हो, भेरी नदीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउने । भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउनका लागि बृहत् भेरी पम्पिङ आयोजनाको डिपिआर तयार भएको अध्यक्ष देवकोटाले बताए । 

डिपिआर तयार भएपछि खानेपानी मन्त्रालयले वैशाख मसान्तसम्म टेण्डर प्रक्रियामा लैजाने उनको भनाइ छ । ‘यदि यही वैशाखमा टेण्डर भयो भने छिटोभन्दा छिटो आयोजनाको काम अघि बढ्नेछ,’ उनले भने, ‘टेण्डर भएको ३ वर्ष भित्रमा भेरीको पानी वीरेन्द्रनगरका उपभोक्ताले प्रयोग गर्ने सक्ने गरी लाग्ने उनको बताए । भेरी पम्पिङ आयोजनाको लागि नेपाल सरकारले झण्डै ८ अर्बभन्दा बढी बजेट लाग्ने अनुमान गरेको छ  ।

खानेपानीको तत्कालको समस्या समाधान गर्नको लागि कर्णाली प्रदेश सरकारको सहयोगमा स्थानीय दुन्दुरी खोलाको पानी निर्माणको काम भइरहेको उपभोक्ता संस्थाले जानकारी दिएको छ । चालू आर्थिक वर्षको मसान्तसम्म काम सकिएपछि २० लिटर प्रतिसेन्केन्ड पानी थप हुने बताइएको छ । यस्तै, अन्य विभिन्न क्षेरुमा पनि खानेपानीको सम्भाव्यता अध्ययनको काम भइरहेको संस्थाले जानकारी दिएको छ । 

  • प्रकाशित मिति : चैत १५, २०७७ आइतबार १७:४९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया