निर्मला हत्या प्रकरण : २० दिनभित्र अपराधी नियन्त्रणमा आउने प्रहरीको दाबी

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान अन्तिमतिर पुगेको प्रहरीले दाबी गरेको छ । लामो समयदेखि घटनाको सूक्ष्म तवरले अनुसन्धान गर्दै आएको प्रहरी टोलीले निर्मलाको बलात्कार तथा हत्यामा संलग्नहरुको पहिचान गरी अनुसन्धानको अन्तिमतिर पुगेको जनाएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले अनुसन्धान अन्तिमतिर पुगेको बताए । ‘निर्मला प्रकरणमा अब हामी अन्तिम चरणमा पुगेका छौँ, पात्रभन्दा पनि प्रमाण संकलनको चरणमा छौँ’, उनले भने ।

डिआइजी सुवेदीले बैतडीकी किशोरी भागरथी प्रकरणपछि निर्मला घटनाबारे विश्वासिला सूचना प्राप्त भई घटनाको अनुसन्धान अन्तिमतिर पुगेको बताए । उनले अब करिब १५–२० दिनभित्र अनुसन्धान टुंग्याउनेतर्फ क्रियाशील रहेको र सकभर यो महिनाभित्र निर्मला घटनाबारे निष्कर्षमा पुग्ने जिकिर गरे ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले पनि उक्त घटना केही दिनभित्रै टुंगोमा पुग्ने दाबी गरे । ‘निर्मला प्रकरणको अब महिना हैन, दिन गणना सुरु भइसकेको छ । केही दिनभित्रै अपराधी हाम्रो नियन्त्रणमा आउँछ,’ उनले भने ।

०७५ साउन १० गते घरबाट हराएकी कञ्चनपुर भीमदत्त नगरपालिकाकी निर्मलाको ११ गते निम्बुखेडास्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । 

यो घटनामा फितलो अनुसन्धानलाई लिएर प्रहरीमाथि निरन्तर प्रश्न उठिरहेको छ ।





  • प्रकाशित मिति : चैत १५, २०७७ आइतबार १९:३०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया