बागलुङमा होली खेल्दा झडपमा ज्यान गुमाउने एकजना कांग्रेस नेता
होली खेल्ने क्रममा हत्या गरिएका प्रकाश कुँवर

आइतबार दिउँसो बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० बल्देधुरीमा होली खेल्ने क्रममा झडप हुँदा ज्यान गुमाएका एकजना नेपाली कांग्रेसका जिल्ला सदस्य भएको खुलेको छ।

झडपका क्रममा हत्या गरी भीरमा फालिएकामध्ये निसिखोला गाउँपालिका-७ का ३६ वर्षीय प्रकाश कुँवर नेपाली कांग्रेस जिल्ला कमिटी सदस्य रहेको खुलेको छ। स्थानीय पत्रकार बिमल खड्काका अनुसार उनी जिल्लामा परिचित कांग्रेस नेता थिए। 

उनीसँगै निसिखोला गाउँपालिका-७ कै ३४ वर्षीय दीपक दमाईको पनि हत्यापछि भीरमा शव फालिएको अवस्थामा प्रहरीले भेट्टाएको छ। गुल्मी, बागलुङ र प्युठानका युवाहरु भेला भएर होली खेल्ने क्रममा झडप भएको थियो।

सयौँ युवाहरु भेला भएर होली खेल्ने क्रममा भएको झडपका क्रममा १५ जना युवा भीरमा खसेको अनुमान गरिएको थियो। तर तिनमा दुईजनाको शव भेटिएको छ भने अन्य केही युवा आइतवार राति घर फर्किएको बताइएको छ। अझै पनि केही युवाहरु हराइरहेको प्रहरीले जनाएको छ। 

बडिगाड गाउँपालिका-१० का वडाध्यक्ष वीरेन्द्र बुढाले दुवैजनाको शव भीरमा फालिएको अवस्थामा भेटिएको बताएका छन्। झडपपछि बागलुङकै निसीखोला गाउँपालिका-७ र बडिगाड गाउँपालिका-१० का करिब १५ युवा बेपत्ता भएको बताइएको छ।



जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीले पनि झडपपछि भीरमा फालिएको अवस्थामा कुँवर र दमाईको शव भेटिएको पुष्टि गरेका छन्। ‘घटनास्थल पुगेको प्रहरी टोलीले अहिलेसम्म दुई जनाको शव जंगलमा फेला पारेको छ’, उनले भने, 'अँध्यारो भएकाले अरु बेपत्ताको खोजीमा भोलि बिहानैदेखि जुट्ने छौँ।'

स्थानीयवासीका अनुसार होली खेल्ने क्रममा गाईभैँसी चराउने भीरमा करिब १० देखि १५ युवालाई धकेलिएको थियो। दिउँसो भएको झडपपछि बेपत्ता उनीहरुको अपरान्हदेखि खोजी गरिएको थियो। इलाका प्रहरी कार्यालय भीमगीठेको टोली घटनास्थल पुगेर खोजी थालेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी हवारीले बताए। 



  • प्रकाशित मिति : चैत १५, २०७७ आइतबार २२:७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया