राष्ट्रिय कीर्तिमान नबनाई १५०० मिटर दौड छाडेकोमा पछुतो छ

कान्छी माया कोजु नेपाली खेलकुदका लागि कुनै नयाँ नाम होइन। उनी एथलेटिक्स खेलको एक सफल खेलाडी हुन। उनले नेपाली एथ्लेटिक्समा धेरै उपलब्धि हात पारेकी छन्। 

उनले कान्तिपुर हाफ म्याराथन, नेपालगञ्ज म्याराथन, काठमाडौं म्याराथन जस्ता थुप्रै राष्ट्रियस्तरका प्रतियोगितामा स्वर्णपदक हात पारिसकेकी छन्। 

खेल करियर

उनले वि.सं. २०५२ सालतिर आफ्नो करियरको सुरुवात गरेकी हुन्। ‘यो २०५२ साल तिरको कुरा हो, त्यतिबेला सरस्वती पूजाको अवसरमा स्कुलमा दौड प्रतियोगिता भएको थियो। म १०० मिटर दौडमा पहिलो भएँ। 

त्यसपछि गुरुहरूले यो राम्रो दौडिन सक्छे, दौडमा यसको राम्रो भविष्य छ भनेर जेसिसले आयोजना गरेको भक्तपुर जिल्ला स्तरीय दौडमा सहभागी हुने अवसर दिनुभयो। यहीबाट मेरो करियरको सुरुवात भएको हो’ उनले फरकधारलाई करियरको सुरुवाती क्षण यसरी सुनाइन्।



विसं २०५३ सालमा ३३ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा सहभागी भएपछि उनको करियरले केही लय समात्न थाल्यो। उनी राष्ट्रियस्तरमा चिनिन पुगिन्।

कोजुले किरियरको सुरुवात मध्यम दूरीको दौडबाट गरेकी हुन्। त्यतिबेला उनी १५०० मिटर, ५ किमि र १० किमिका मध्यम दूरीका प्रतियोगितामा सहभागी हुन्थिन्।



उनले सन् २०१० मा चीनमा भएको एसियन गेम्समा १६ मिनेट ४९.९८ सेकेन्डको समय निकाल्दै ५ किमि दौडमा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्। 

सन् २००६ मा श्रीलंकामा भएको दक्षिण एसियाली खेलकुदमा ३५ मिनेट ३.४३ सेकेन्डमा १० किमि दौड पूरा गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।  

५ र १० किलो मिटर दौडमा राष्ट्रिय कीर्तिमान कायम गरेपछि कोजुले आफ्नो ध्यान हाफ तथा फुल म्याराथनमा केन्द्रीत गर्न थालिन्। 

सन् २०००-२००१ तिर हङकङमा भएको एसियाली स्तरको फुल म्याराथनमा सहभागिता जनाउँदा त्यो इभेन्टका लागि कुनै प्रशिक्षण गरेको थिइन्। ‘म मध्यम दूरीकै प्रशिक्षणले यसमा सहभागी हुन्थ्ये’ कोजुले भनिन्, ‘पछिल्ला ७-८ वर्षयता भने हाफ र फुल म्याराथनमै केन्द्रीत रहेर प्रशिक्षण गरिरहेकी छु।’

सबैले लामो दूरीको दौड राम्रो हुन्छ भन्ने सुझाव दिएकाले हाफ तथा फुल म्याराथनतिरै केन्द्रीत भएको उनी सुनाउँछिन्। ‘उमेर बढ्दै गएपछि छोटो तथा मध्यम दूरीमा दौडन केही गाह्रो हुने रहेछ’ कान्छी माया भन्छिन्।

उनले सन् २०१७ मा १ घण्टा १८ मिनेट २८ मा दौड पूरा गर्दै हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्। सन् २०१६ मा २ घन्टा ५५ मिनेट ५७ सेकेन्डमा फूल म्याराथनको दौड पूरा गरी यता पनि राष्ट्रिय कीर्तिमान बनाइन्। 

उनको यो कीर्तिमान गतवर्ष नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा २ घन्टा ५० मिनेट ११ सेकेन्डमा दौड पूरा गरी पुष्पा भण्डारीले तोडिन्। 

हाफ तथा फुल म्याराथनमा बढी समय दिएको भएपनि कान्छी माया मध्यम स्तरका दौडलाई चटक्कै छाडेकी छैनन्। उनले ७ औं बृहत राष्ट्रिय खेलकुदमा ५ किमि र १० किमि दौडमा स्वर्ण जितेकी थिइन्। 

आफ्नै इच्छाले यो क्षेत्रमा

कान्छी माया कसैलाई आइडल मानेर नभइ आफ्नै रहरले यो क्षेत्रमा आएकी हुन्। ‘मैले १३ वर्षको उमेरदेखि दौडिन थालेको थिएँ। सानै उमेर भएकाले कुनै खेलाडीलाई चिनेकै थिइन् त्यसैले कसैलाई आइडल मान्ने कुरै भएन’ कान्छी माया सुनाउँछिन्।

त्यो बेला विद्यालय र स्थानीय स्तरमा धेरै प्रतियोगिता हुन्थे। ती प्रतियोगितामा केटाहरूसँगै दौडिएर उनले आफ्नो करिअर सुरुवात गरेकी हुन्।  ‘मलाई यो खेलप्रति धेरै रुची थियो। त्यही नै हो यो क्षेत्रमा लाग्नुको कारण’ उनी स्पष्ट पार्छिन्।

परिवारको साथ 

करिब २५ वर्ष अगाडि, कान्छी मायाले  दौडमा करिअर खोज्दा छोराछोरी खेलकुदमा लागेको भनेर खुसी हुने परिवार बिरलै हुन्थे। खेलेर पनि जीवन चल्छ र ? भन्ने प्रश्न उठ्थ्यो। 

‘मेरो हकमा भने त्यो लागु भएन, मलाई कहिल्यै पनि परिवारबाट कुनै रोकावट भएन विशेष गरेर बुबाबाट’ आफ्नो पाइलामा परिवारले दिएको साथमा खुसी व्यक्त गर्छिन् उनी, ‘उहाँ सँधै भन्नुहुन्थ्यो, खेलसँगै पढाइलाई पनि अगाडि बढाउनू।’ 

खेलप्रति मोह

 कान्छी मायालाई दौडप्रति यति मोह थियो की उनले कहिल्यै यो क्षेत्रबाट अलग हुनेबारे सोच्दै सोचिनन्।  ‘मैले कहिल्यै पनि यो क्षेत्रबाट टाढा हुनेबारे सोचिन। अहिले म जुन स्थानमा छु, त्यो यसकै देन हो’ उनले भन्छिन्। 

खेलमा करिअर खोज्ने क्रममा उतार-चढाव धेरै आए होलान् तर आज सबैले यही खेलकै कारण कान्छी माया भनेर चिन्ने र सबैले माया, सम्मान गर्दा उनी निकै खुसी छिन्। 

‘यस क्षेत्रमा नलागेको भए सायदै यति धेरै मान्छेले मलाई के चिन्थे होलान् र ? कान्छी माया भन्छिन्, ‘त्यसैले, यो क्षेत्रमा लागेर मेरो जीवन नै बर्बाद भयो, अरु क्षेत्रमा लागेको भए राम्रो हुने रहेछ भन्ने सोच कहिल्यै आएन।’ 

सरकारको प्रयास कम

कान्छीमाया कोजुलाई लाग्छ सरकारले खेलाडीका लागि जति गर्नुपर्ने थियो त्यो गर्न सकिरहेको छैन।  पहिले भन्दा अहिले सरकारले खेलाडीका लागि केही सोच्न थालेको भए पनि सरकारले गर्नुपर्ने जति नगरेको उनको गुनासो छ। 

‘हाम्रो पालमा भन्दा अहिले पुरस्कार रकम बढेको छ’ उनी भन्छिन्, ‘खेलकुदमा पनि भविष्य देखिन थालेको छ तर यतिमात्र पर्याप्त छैन।’  

सरकारले खेलकुदका पूर्वाधार निमार्णमा ध्यान दिन नसकेको कान्छीमाया बताउँछिन्। ‘खेल जीवनपछि खेलाडीले के गर्ने भन्ने कुनै टुंगो छैन यसले गर्दा खेलाडीमा निराशा छाउने गरेको छ’ कान्छीमाया गुनासो पोख्छिन्।

अर्काे पुस्ताका खेलाडीहरुले यो भन्दा धेरै सुविधा पाउँछन् भन्ने उनलाई लागेको छ। 

सपना पूरा

ओलम्पिक हरेक खेलाडीको सपना हो। विश्व खेलकुदको यो महाकुम्भमा सहभागी हुन पाउने भाग्यमानी खेलाडी मध्ये कान्छी माया कोजु पनि एक हुन्।  

‘मेरो पनि ओलम्पियन बन्ने सपना थियो। मैले छनोट चरण पार गरेर सन् २००४ को एथेन्स ओलम्पिकमा नेपालको तर्फबाट सहभागी हुने अवसर पाएको थिएँ’ उनले सुनाइन्, ‘मलाई लागेको थियो मेरो जीवनको सबैभन्दा ठूलो सपना पूरा भयो।’ 
 
रजतले दिएको खुसी

हरेक खेलाडीको उद्देश्य स्वर्ण पदक हात पार्ने हुन्छ तर कुनै बेलमा भने रजत र कास्य पदकले पनि स्वर्ण जिते भन्दा बढी खुसी दिन्छ। कान्छी मायालाई पनि १० औँ साफ गेम्समा प्राप्त गरेको ऐतिहासिक रजत पदकले औधी खुसी दिलायो। 

‘रजत जित्दा मलाई निकै खुसी लागेको थियो। त्यो नेपाली महिला एथलेटिक्स खेलाडीले पाएको पहिलो रजत पदक थियो। यसअघि नेपाली खेलाडीले कास्य पदक मात्र जितेका थिए’ उनी त्यो बेलाको खुसी वर्णन गर्छिन्। 

त्यो प्रतियोगितामा २ वटा इभेन्टमा कान्छी मायाले प्रतिस्पर्धा गरेकी थिइन्। ती दुवैमा राष्ट्रिय कीर्तिमान बनाएका थिइन्। यस कारण पनि त्यो प्रतियोगिता आफ्ना लागि खास भएको उनको भनाइ छ । 

मन खिन्न बनाउने एक कुरा

कोजुले खेल जीवनमा धेरै सफलता प्राप्त गरिन् । उनलाई कसैसँग केही गुनासो छैन तर एउटा कुराले भने अझै पनि उनेको मन चसक्क हुन्छ। 

त्यो हाे,  १५०० मिटर दौडमा बनाउन नसकेको राष्ट्रिय कीर्तिमान। कान्छी मायाले २००४ को एथेन्स ओलम्पिकमा १५०० मिटर दौडमा भाग लिएकी थिइन् । त्यो बेला उनी करियरकै उच्च लयमा थिइन्। तर, राष्ट्रिय कीर्तिमान बनाउन सकिनन् ।

यसमा राष्ट्रिय कीर्तिमान बनाउने इच्छा हुँदा हुँदै उनी माथिल्लो  इभेन्टमा सहभागिता जनाउन थालिन् । त्यसपछि १५०० मिटरमा कीर्तिमान बनाउने उनको इच्छा अधुरै रह्यो ।

‘म अहिले पनि सोच्ने गर्छु अझै १-२ वर्ष सोही इभेन्टमा सहभागी भइरहेको भए सायद यसमा पनि राष्ट्रिय कीर्तिमान कायम गर्न सक्थेँ होला’ उनी मनको खसखस पोख्छिन्, ‘१५०० मिटरमा पनि राष्ट्रिय कीर्तिमान कायम गर्न सकेको भए आफू सहभागी सबै इभेन्टमा राष्ट्रिय कीर्तिमान कायम हुने थियो।’  

अहिले पनि ५ किलोमिटर, १० किलोमिटर र हाफ म्याराथनका राष्ट्रिय कीर्तिमान कान्छी मायाकै नाममा छन्। उनकै नाममा रहेको फुल म्याराथनको कीर्तिमान गत वर्ष तोडियो। ‘यो सम्झँदा अहिले पनि मनमा किन मैले चाँडै १५०० मिटरको दौड छाडेँ भन्ने प्रश्न मनमा उब्जिइरहन्छ’ कान्छी माया भन्छिन्। 


 

  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार १२:३६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया