सेयर धितो कर्जा ७० प्रतिशतले वृद्धि

पछिल्लो समय सेयर बजार निरन्तर उकालो लाग्न थालेपछि बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा प्रवाह गर्ने कर्जा पनि ह्वात्तै बढेको छ । चालु आवको ७ महिना (साउन–माघ) सम्म नेप्से परिसूचक दोब्बरभन्दा बढीले बढ्दा कर्जा प्रवाह पनि आक्रामक रूपमा वृद्धि भएको छ । चालु आवको ७ महिनामा बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा ७० प्रतिशतले वृद्धि गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा ७७ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यो गत आव २०७६–७७ को सोही अवधिको तुलनामा ७०.६० प्रतिशत बढी हो । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको माघ मसान्तसम्ममा कुल ४५ अर्ब ३५ करोड रुपैयाँ सेयर कर्जामा लगानी गरेका थिए ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले चालु आवको ७ महिनामा मात्रै थप २६ अर्ब ९५ करोड सेयर कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ । गत असार सम्ममा बैंकहरूले ५० अर्ब ४० करोड रुपैयाँ सेयर कर्जा लगानी गरेका थिए । ७ महिनामै त्यस्तो कर्जा लगानी ५३.५ प्रतिशतले वृद्धि भई ७७ अर्ब ३५ रुपैयाँ पुगेको छ ।

यस कारण बढ्यो सेयरमा कर्जा लगानी ?

कोरोनाका कारण समग्र अर्थतन्त्र प्रभावित हुँदा अन्य क्षेत्रमा कर्जा प्रवाह हुन नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूले सेयरमा कर्जा लगानी बढाएका हुन् । पछिल्लो समय सेयर बजारले गति लिँदै जाँदा लगानीकर्ता उत्साहित भई लगानी बढाउन बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई लगानी गर्ने प्रवृत्ति बढेसँगै सेयर कर्जा उल्लेख्य वृद्धि भएको देखिन्छ । 

यस्तै, पछिल्लो १ वर्ष यता बैकिङ प्रणालीमा अधिक तरलता छ । जसले बैंकको ब्याजदर निकै सस्तो भएको छ । गत वर्ष १२ प्रतिशतसम्म रहेको बैंकको ब्याजदर अहिले ९ प्रतिशतभन्दा तल झरेको छ । जसले गर्दा सस्तो ब्याजमा ऋण लिएर सेयरमा लगानी गर्नेको संख्या दिनप्रति दिन बढ्दै गएको छ ।



बैंकहरूले पनि अन्य क्षेत्रमा कर्जा प्रवाह हुन नसकेपछि विभिन्न आकर्षक अफर ल्याएर सेयरमा कर्जा लगानी बढाउन थालेका छन् । सस्तो ब्याजदरमा सहजै कर्जा पाइने अवस्था सृजना भएपछि पछिल्लो समय सेयर कर्जा रकम र ऋण लिनेको संख्या समेत बढ्दै गएको हो ।

अहिले बैंक तथा वित्तीय संस्थाले करिब ७ देखि ९ प्रतिशत ब्याजदरमै सेयर कर्जा दिँदै आएका छन् । जब कि गत वर्ष बैंकहरूले सेयर कर्जामा १३ देखि १५ प्रतिशतसम्म ब्याज लिने गरेका थिए ।



यसबाहेक, नीतिगत व्यवस्थामा आएको सुधारले पनि सेयर कर्जा लगानी बढेको हो । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जाको सीमा बढाएको थियो । जसको प्रभाव पछिल्लो समय कर्जा विस्तारमा देखिएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् सेयर धितो (मार्जिन) कर्जा ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्‍याएको थियो । यस्तै, मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयर धितोको मूल्यांकन गर्दा १८० दिनलाई (औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ) घटाएर १२० दिनको मूल्यको आधारमा गर्ने व्यवस्था गरेको थियो ।

  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार १५:१२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया