सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई एमालेले फेरि सोध्यो स्पष्टीकरण

यसअघि चैत ९ मा सोधिएको स्पष्टीकरणको जवाफ नपठाएपछि नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई नेकपा एमालेले फेरि स्पष्टीकरण सोधेको छ।

वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गरेकै दिन एमालेले पाण्डे र भुसाललाई फेरि स्पष्टीकरण पत्र पठाएको हो। प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यसअघि सोधिएको स्पष्टीकरणको जवाफ नदिएकाले फेरि पत्र पठाउने निर्णय भएको जानकारी दिए।

दुवैजनाले यसअघि सोधिएको स्पष्टीकरणको जवाफ दिएका छैनन् । यसअघिको स्पष्टीकरणको जवाफ नदिनुको कारणसहित तीन दिनभित्र पुनः स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

यसअघि समानान्तर पार्टी अभ्यास गरेपछि नेताहरू माधव नेपाल, भीम रावल, पाण्डे र भुसाललाई चैत ९ मा स्पष्टीकरण सोधिएको थियो।

चैत १२ मा जवाफ दिँदै नेता नेपालले ओलीमाथि नै प्रतिप्रश्न गरेका थिए। रावलले ओलीमाथि १९ करोड भ्रष्टाचार गरेको आरोप लगाएका थिए। 

तर पाण्डे र भुसालले अझै पनि जवाफ पठाएका छैनन्। आजै मात्रै नेपाल र रावललाई ओलीले एमालेबाट ६ महिनाका लागि साधारण सदस्यदेखि निलम्बन गरिसकेका छन्। 





  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार १७:५५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया