नेपाल-रावल निलम्बन : नेकपा एमाले फुटको अर्को उद्घोष !
नेपालको अडान : डराउँदिन, मैदान छाडेर भाग्दिनँ

काठमाडौं : स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट निलम्बन गरेका छन्।

दुवैजनालाई दुई/दुई पेज लामो पत्र पठाउँदै अध्यक्ष ओलीले ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको जानकारी गराएका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवम् एमाले केन्द्रीय सदस्य सूर्य थापाले दुवै नेतालाई एमालेले ६ महिनाका लागि निलम्बन गरेको पुष्टि गरेका छन्। ‘हो, उहाँहरु दुवैजनालाई पार्टीले निलम्बन गरेको छ’, उनले भने, ‘उहाँहरुले दिएको स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएपछि यो कदम चालिएको हो।’

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको नेपाल र रावललाई पठाइएको पत्रमा उल्लेख छ। पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टी भित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गरेको, पार्टीका कु-भलो चिताउनेसँग निरन्तर भेटघाट गरी उनीहरुको पक्षपोषण गरेको आरोप ओलीले लगाएका छन्। 

‘आफ्नो भुलत्रुटीको स्वीकारोक्ति नगरेको, कुनै आत्मसमीक्षा नगरिएको, आत्मालोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखियो। आफ्नो स्वार्थको लागि देश जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पुर्‍याउनु तयार भएको आपराधिक मनोवृत्ति प्रष्ट रुपमा थप पुष्ट भएको’, पत्रमा भनिएको छ।



त्यस्तै पत्रमा यस्तै गतिविधिहरु कामय रहेमा जुनसुकै बेला थप कडा कारबाही गरिने चेतावनी समेत ओलीले दिएका छन्। आफ्ना विचार र क्रियाकलाप सच्याई पार्टीका पक्षमा आएमा निलम्बन अवधि बीचैमा पनि निलम्बनको अवधि घटाउन सकिने र बीचमै थप कारबाही गर्न सकिने जानकारी पनि दिइएको छ।



ओलीको कारवाही : फुटको उद्घोष 

फागुन २३ गते नेकपाको नाम विवादसम्बन्धी मुद्दामा फैसला गर्दै २०७५ जेठ २ गते नेकपा एमाले र माओवादी केन्द्र एक भएर बनेको नेकपाको नाम नै खारेज गरिदियो। 

अदालतले सत्तारुढ नेकपा खारेज गर्दै पुरानै एमाले र माओवादी पुनःस्थापित भएपछि फागुन २४ गते नेकपाको अन्तिम बैठक बसी प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली इतर समूहमा रहेर आन्तरिक शक्ति संघर्ष गर्दै आएका माधवकुमार नेपाल-झलनाथ खनाल पक्षका नेताहरु एमालेमै फर्किएका थिए।

नेकपाभित्र रहँदा पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर ओलीविरुद्ध समीकरण निर्माण गरी शक्ति अभ्यास गर्दै आएका नेपाल–खनालले ओलीले आफूहरुबीचमा जति असहमति, विवाद भए पनि ओलीले आफूहरुलाई मिलाएर जाने अपेक्षा गरेका थिए।

उनीहरुले एमालेमै फर्किसकेपछि नयाँ बानेश्वरस्थित अर्याल होटलमा आफ्नो समूहको गतिविधि जारी राखे। एमालेमा फर्किएर पनि पुरानै नेकपाभित्रको समीकरण, गुटको भेला/बैठक जारी राखेको भन्दै चिढिएका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले फागुन २८ गते बालुवाटारमा आफूनिकट केन्द्रीय सदस्यहरुको बैठक राखेर नवौं महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी संरचना खारेज गरिदिए। 

उनले त्यसबेला सातै प्रदेशमा नयाँ इञ्चार्ज र सह-इञ्चार्जमा आफूनिकटलाई अवसर दिए। माओवादीबाट आएका रामबहादुर थापा बादललगायत २३ जना नेताहरुलाई केन्द्रीय कमिटीमा जिम्मेवारी प्रदान गरे। 

पार्टी बचाउने पक्ष नेपाल 

ओलीले नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि अब पार्टी एक हुने आशा टुटेको नेपाल पक्षका केन्द्रीय सदस्य विष्णु रिजाल बताउँछन्। ‘केपी कमरेडले माधव कमरेडलाई कारबाही गर्नुभयो भने, पार्टी फुट्ने बाहेक अरु विकल्प रहँदैन’, उनले भने, ‘उहाँ (ओली) ले होइन, पार्टीबाट निकाल्नु हुँदैन, मिलेर जाऊँ भन्नुभएको भने पार्टी फुटाउने , माधव कमरेडको योजना थिएन । तर अब निलम्बन भन्‍ने कुरा आएको छ, यसले पार्टी सिंगो रहन मुस्किल नै होला ।’

पार्टी फुटाउने योजना भए फागुन २३ को अदालतको निर्णयपछि नेता नेपालले एमालेमा आउने निर्णय नै नगर्ने उनी बताउँछन् । केही नेताहरुले एमालेमा फर्कने निर्णयले ‘आत्मसमर्पण भयो, आउनु हुँदैनथ्यो’भनिरहेको अवस्थामा एउटै पार्टी भएपछि मिलेर जानुपर्छ भन्‍ने हेतुले नेता नेपाल पक्ष एमालेमै फर्किने निर्णयमा पुगेको उनले बताए। 
उनले भने, ‘पार्टी फुटाउनेतिर जानुहुँदैन। त्यतातिर लाग्नुहुँदैन भनेर नै एमालेमै उहाँहरु आउनुभएको हो', रिजालले अगाडि भने ।

नेपाललाई कारबाही गरिएको भनेर कागजको चिर्कटो आउनेबित्तिकै पार्टी फुटेको मान्‍न सकिने उनले बताए। ‘सानो कागजको चिर्कटोमा मात्रै माधव कमरेडलाई निकालेको भनेर दिनेबित्तिकै पार्टी फुट्यो भने हुन्छ। अहिले त पत्र नै पठाएको भन्‍ने छ। यसरी त पार्टी एक हुन सक्दैन’, उनले भने, ‘माधव कमरेडको मुड, हामी सबैको दबाब, सद्भाव, आग्रह चाहिँ पार्टीभित्र कहिलेकाहीँ तलमाथि हुन्छ, केही फरक पर्दैन। पार्टीभित्रै बसेर आफ्नो कमिटीगत ढंगले जनवादी केन्द्रीयताको अभ्यासअनुसार नै अगाडी बढ्ने भन्‍ने थियो।’ 

पुरानै प्रश्नले समस्या

नेकपा खारेजीमा परेपछि नेपाल–खनाल समूहले एमालेमै फर्किने निर्णय गरिसक्दा ओलीले पुरानै घटनालाई लिएर प्रश्नहरु गर्दा झन् समस्या बल्झिएको एमाले नेपाल समूहका अर्का एकजना नेता बताउँछन् ।

‘फागुन २३ गते पार्टी पुनःस्थापित भएपछि त्यो भन्दा पहिले प्रचण्डसँग हुँदा किन अविश्वासको प्रस्ताव ल्यायौ? नेकपामा हुँदा मलाई किन निकाल्यौ? नेकपामा हुँदा किन प्रचण्डसँग मिल्यौ ? १९ बुँदे अहिले किन ल्यायौ? भनेर सोधेपछि त १९ बुँदे ल्याउँदा जे-जे कारण उल्लेख गरिएका थिए, त्यही कारण उल्लेख हुने भयो नि त,’ उनले भने। 

पुरानै एमाले पुनःस्थापित भइसकेपछि फागुन २३ पछि भएका घटनाक्रमलाई लिएर प्रश्न सोधिनुपर्ने उनको भनाइ छ। ‘हुनुपर्ने थियो फागुन २३ गतेको चिन्ता । त्यसपछि समानान्तर कमिटीको बैठक, भेला किन बस्यौ ? माओवादी कार्यालयमा गएर किन बैठक बस्यौ ? ती कुराहरु सोधेको भए नयाँ उत्तर आउनेथियो’, ती नेता भन्छन्, ‘तर पुरानै कुरा सोधेपछि त पुरानै उत्तर त आउने नै भयो।’

नेपालको प्रतिक्रिया

एमालेबाट कारबाहीमा परेपछि वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई कारबाही गर्ने अधिकार केपी शर्मा ओलीसँग नरहेको प्रतिक्रिया दिएका छन्। ओलीले आफूसहित भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेको विषयमा प्रतिक्रिया दिँदै नेता नेपालले आफूलाई कारवाही गर्ने अधिकार अध्यक्ष ओलीसँग नरहेको बताएका छन्। 

ओलीले आफूलाई पार्टीबाट हटाएको कुनै जानकारी नरहेको बताउँदै उनले केन्द्रीय कमिटी नै विघटन गरेका व्यक्तिले कारबाही गरेँ भनेर हल्ला फैलाउनुको कुनै अर्थ नरहेको समेत बताए। नेपालले भने, ‘मलाई कुन पार्टीबाट हटाइयो ? ओलीको पार्टीबाट?’

उनले ओलीको कथित कारवाहीका डरले पार्टी छाडेर मैदानबाट नभाग्ने पनि बताएका छन्। ‘टुक्रा–टुक्रामा विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत, विस्तार र विकास गरेको हामीले हो, यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन', उनले भनेका छन्, 'नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो, नवौँ महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अतः निराश होइन, दृढ बनेर कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ ।’

रावलले यसो भने 
ओलीले गरेको कारबाही अस्वीकार्य हुने नेता भीम रावलले बताएका छन्। उनले आफूहरुलाई गरेको कारबाही पार्टी विधान र नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशनविरुद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्य भएको दाबी गरेका छन् । 

रावलले नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयम् अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको उक्त निर्णयको भर्त्सना गर्दै पूर्ण रुपमा अस्वीकार गरेका छन्।

  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार २१:५०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया