'संसदीय व्यवस्था डुब्‍न लागिसक्यो, अब टुप्पी मात्रै बाँकी छ'
ओली–प्रचण्ड अब मिल्दैन, त्यो सम्भावना पनि छैन
फरकधार / १८ चैत, २०७७

२१ फागुनमा सरकासँग ३ बुँदे सहमति गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा यतिबेला आन्तरिक गृहकार्यमा छ । विप्लव नेतृत्वको नेकपामाथि २ वर्षअघि २०७५ फागुनमा केपी शर्मा ओली नेतृत्वकै सरकारले प्रतिबन्ध लगाएको थियो। तर उनै ओलीले वार्ताको पहल गरेर आफैंले प्रतिबन्ध लगाएका विप्लवलाई शान्तिपूर्ण राजनीतिमै फर्काए। शान्तिपूर्ण राजनीतिमा फर्किएपछि विप्लव, खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' र धर्मेन्द्र बाँस्तोलासहितका नेताहरु अहिले कार्यकर्ता भेटघाटदेखि संगठन विस्तारलाई पनि तीव्र बनाएका छन्। सरकारसँग सहमति हेमन्त प्रकाश वलीसहितका कयौँ नेता कार्यकर्ता अझै जेलमै छन्। उनीहरुलाई रिहाइका लागि आवश्यक पहल भइसकेको प्रधानमन्त्री ओलीले  बताएका छन्।

तर जेलमा रहेका आफ्ना नेता कार्यकर्ता रिहा नभएपछि विप्लवले प्रधानमन्त्रीलाई नै भेटेर तीव्र असन्तुष्टि जनाइसकेका छन्। एकीकृत जनवादी क्रान्ति गर्ने भन्दै भूमिगत भएको विप्लव नेतृत्वको नेकपाको अबको बाटो के त ? उनीहरुको भाषामा बाख्राको टाउको देखाएर कुकुरको मासु बेच्ने संसदीय व्यवस्थामा फर्किएर दलाल पुँजीपतिविरुद्धको लडाइँ जितिन्छ त? विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ अब आफ्नो पार्टीको बाटो दलाल पूजीँपतिविरुद्धको अभियानका रुपमा अघि बढ्ने बताउँछन्। उनै प्रकाण्डसँग भूमिगत बाटो छाडेर शान्तिपूर्ण राजनीतिमा आएपछिका चुनौती र सम्भावनामा केन्द्रित रहेर फरकधारकर्मी रुपक चौलागाईंले गरेको कुराकानीको सारसंक्षेप : 

सामन्तवादको अन्त्य र समातायुक्त समाज निर्माण गर्ने भन्दै एकीकृत जनक्रान्तिको लक्ष्यसहित भूमिगत हुनुभएको थियो । तर दुई वर्षमै आफैंमाथि प्रतिबन्ध लगाएका केपी शर्मा ओलीसँग सम्झौता गर्नुभयो । विप्लव र प्रकाण्डजस्ता क्रान्तिकारीहरु यति चाँडै कसरी गल्न पुगे? बुर्जुवासहितको संसदीय व्यवस्था नै ठीक लाग्न थालेको हो? 

पहिलो कुरा हामीले ६ वर्ष अगाडि यो पार्टी निर्माण गरेर नेपालमा क्रान्तिको नयाँ परिकल्पना गरेका थियौँ। हामी त्यसबेला एकीकृत जनक्राान्तिको योजनासहित अघि बढेका हौँ। त्यो बेला नेपाली समाजको विश्लेषण र शासन वर्गसँग जनताको अन्तर्विरोधको पहिचानका सन्दर्भमा हामीले समान्तवादलाई मुख्य भनेका थिएनौं । किनभने २०६२/०६३ को आन्दोलनबाट सामन्तवाद अन्त्य भइसकेको थियो । 

१० वर्षे जनयुद्ध र १९ दिनको जनआन्दोलनले सामन्तवादलाई विदा गरिसकेको थियो । हामीले के भनेका थियौँ भने, नेपालमा सामन्तवादको अन्त्य भयो, राज्यसत्ता र शासन व्यवस्थामा आउनुपर्ने जनता थिए । ल्याउनपर्ने जनतालाई थियो, अझ नेपालको उत्पीडित वर्ग ल्याउनपर्ने थियो । तर, आन्दोलनको नेतृत्व गरेका नेताहरुमा पैदा भएको विचलन र सत्ता भोगले गर्दा जनतालाई धोका भयो। त्यहीकारण समाजमा दलाल पुँजीपति वर्ग आयो । दलाल पुँजीपति वर्ग जनताको आन्दोलनको लक्ष थिएन । र, यो नै अहिलेका निम्ति नेपाली जनता र राष्ट्रको प्रगतिको मुख्य बाधक बन्यो । 

जनताको अधिकारको, राष्ट्रिय स्वाधीनताको, देशको प्रगतिको, नेपालका सबै उत्पीडित जनता र सामाजिक विभेदमा परेका जनताको मुक्तिको मुख्य बाधक बनेर दलाल पुँजीवाद आएको छ । यसविरुद्ध लड्नुपर्छ भनेर हामीले एकीकृत जनक्रान्तिलाई अगाडि बढायौं । प्रतिगामी भन्ने संश्लेषण भनौं वा पदावलीको प्रयोग भइरहेको छ । विशेष गरेर प्रचण्डजी र ओलीजी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पछिल्लो समय ठूलो विवाद सुरु भएर भयावह रुप लियो । मैलै अहिलेसम्म विश्व कम्युनिष्ट आन्दोलन र नेपालको कम्युनिष्ट आन्दोलनमा पनि पार्टीभित्रको संघर्ष यति धेरै तिक्ततापूर्ण गम्भीर अवस्था पुगेको बिरलै देखेको छु । 

सायद मिल्ने भए उहाँहरुले एक अर्कालाई गोली हान्नुहुन्थ्यो । तर, अहिले मिल्ने स्थिति पनि छैन, त्यो बाटोमा पनि छैन । प्रचण्डजी, माधव नेपालजीहरुले ओलीजीलाई प्रतिगामी भन्नुभएको छ, त्यो उहाँहरुको पार्टीको कुरा हो, उहाँहरुको समूहको कुरा हो । त्यो हाम्रो राष्ट्रिय राजनीतिको संश्लेषण होइन । त्यसकारण हाम्रो सम्बन्ध त्यहाँ रहेन । हाम्रो सम्बन्ध कहाँ रह्यो भने ०६२/०६३ को आन्दोलन र १० वर्षे जनयुद्धपछि नेपाली जनताको चाहना आकांक्षा, आन्दोलनको मुद्दा र म्यान्डेट विपरीत यो देशमा प्रतिक्रान्ति गरियो । त्यो प्रतिक्रान्तिको उपज नै अहिलेको राष्ट्रिय संकट, संसदवादको संकट (क्राइसिस) हो । 

अलिहेको पार्टीहरूमा देखिएको संकट त्यसको उपज हो । त्यसकारण त्यसको समाधान चाहिन्छ भनेर हामीले भनेका छौँ। त्यसको समाधान अहिलेको यही व्यवस्थामा टालटुल गरेर होइन, ‘ड्रास्टिकल्ली’ परिवर्तन भएर जनताको सिस्टम र नेतृत्व चाहिन्छ भन्ने हाम्रो कुरा हो । यो विषय हामीले ६ वर्षदेखि उठाइरहेका थियौं । त्यसपछि बितेका २ वर्षमा त्यसलाई उठाएका थियौँ । त्यसयता दमन र काउन्टर चलिरहेको थियो । २ वर्ष पुग्दा नपुग्दै सरकारले हामीलाई जे आरोप लगाएको थियो, उसको जे स्टेटमेन्ट थियो त्यसको जस्टिफिकेशन गर्न सकेन । 

बरु आफैं पार्टी र सरकार संकटमा पर्यो । जो विशुद्ध जनता र राष्ट्रको मुद्दाको निम्ति नभएर पद, कुर्सी र सत्ताको निम्ति थियो । आन्तरिक संकटलाई राष्ट्रिय संकटमा बदल्ने मूर्खता उहाँहरुले गर्नुभयो । त्यहीकारण देश र जनता धेरै प्रताडित भए । यो बेलामा निरन्तर क्रान्ति र परिवर्तनका निम्ति पहल गरिराखेको पार्टीको हैसियतले जनताको चाहना अनुसार संकटको निकास क्रान्तिकारीले लिनुपर्छ भन्ने हाम्रो निष्कर्ष थियो । यही क्रममा सरकारले आफूलाई रिभ्यु पनि गर्यो, हामीले जे स्टेटमेन्ट जारी गरेका थियौं, त्यसको जस्टिफिकेशन गरेरै छाड्यौँ भन्ने हो । त्यसकारण हामीले सरकारसँग ३ बुँदे सहमति गर्यौं । 

यद्यपि, हामीले उठाएको मुद्दा राज्यसँग सम्बन्धित थियो। हाम्रो मुद्दालाई लिएर संघर्ष भए पनि राज्यसँगै हुन्थ्यो र संवाद पनि राज्यसँगै हुन्थ्यो । अहिले त्यसको नेतृत्व ओलीजीले गरिरहनुभएको थियो । नेपालको राजनीतिक आन्दोलनमा बाइचान्स भन्दा हुन्छ, ओलीजीसँग नेगोसियसन भएर कम्प्रमाइज भयो । सायद सरकारको नेतृत्व अरु पार्टीले गरेका भए पनि हुन्थ्यो होला । त्यो त कल्पनाको कुरा भयो, तर भयो त यो । त्यस अर्थमा हामीले सहमति गर्यौं । हामीले सहमति गर्दा, क्रान्तिकारी पार्टी र क्रान्तिकारी पार्टीका नेताहरु, जससँग राष्ट्र र जनताले धेरै ठूलो अपेक्षा गरेका छन । 

कहिलेकाहीँ नेताहरु बिग्रिएकी, स्खलित भएकी वा क्रान्तिको बाटो छोडेर अर्कोतिर गएकी त भन्ने कुरा जो छ । जनताको चिन्तालाई म रेस्पोन्स गर्छु । चिन्ता नलिनुहोला हामीले त्यो बाटो लिने कुरा त के त्यो बाटोबारे सोच्दै सोच्दैनौँ, मनमा लिँदै लिँदैनौँ । हामीले त्यो बाटो पहिल्यै छाडिसकेका छौं । प्रचण्डजीले लिएको बाटो नै त्यो थियो । त्यो त छाडेर त्यसविरुद्ध विद्रोह गरेर आयौँ । अहिले सरकारसँग सम्झौता गरेर लिएको बाटो देशको संकटको क्रान्तिकारी निकास, जनपक्षीय निकास र राष्ट्रलाई निकास दिनलाई हो। हामीले यो स्टेप चाल्दा आग्रही पूर्वाग्रही भएर आरोप लगाएका मान्छेहरूलाई भन्नु केही छैन् । 

कोही कोही त भन्दै हुनुहुन्छ, तपाईंहरु सरकारमा पनि जाँदै हुनुहुन्छ ? तपाईंकै पार्टीका नेता कार्यकर्ताहरु मन्त्री बन्दै हुनुहुन्छ ? के हो खास कुरा ? 

विगतमा क्रान्ति र आन्दोलनलाई आफू सत्तामा जाने भर्‍याङ बनाएर जनतालाई धोका दिएका तत्वरुको आरोप हो यो । सरकारमा जान्छौँ कि जाँदैनौं, यो व्यवस्थामा जान्छौं कि जाँदैनौं भन्ने कुरा अहिले हामीले गरेको ३ बुँदे सहमतिले प्रष्ट गर्छ । तीन बुँदेमा सरकारमा जाने कुरा छ वा छैन ? यो त सहमतिमा हुुनुपर्‍यो नि । व्यवस्थामा जाने कुरा त हामीले के देशका विद्यमान राजनीतिक समस्यालाई वार्ता वा संवादको माध्यमबाट हल गर्ने भनेका थियौं । समस्या हल गर्ने पो भनेका थियौं त । 

हामीले त्यो समस्यामा डुब्न जाने कहाँ भनेका छौं त । अहिलेको संसदीय व्यवस्था डुब्न लागेको छ, अब टुप्पी मात्रै बाँकी छ । हामी टुप्पी समातेर निकाल्न आएका हौं । हामी त्यससँगै भासिन आएका होइनौं । हामी अहिले सरकारमा जाने पनि होइन, मन्त्री हुने पनि होइन । किनभने, मन्त्रीका लागि हामीले यो पार्टी बनाएर क्रान्ति गरेको पनि होइन । हामी पहिले पनि मन्त्री नै थियौं । छाडेर आएका मान्छे हौं हामी । 

हाम्रो महासचिव पनि त्यो बेलामा मन्त्री नहुने मान्छे पनि होइन । हामीलाई यतिबेला देश र जनताको मुद्दासँग चिन्ता छ, जनताले भोगिरहेको पीडासँग हाम्रो चिन्ता छ । यसको अन्त्य हुनुपर्ने हामी चाहन्छौँ। देशको बडो चुनौतीपूर्ण अवस्थामा यसको निकासका लागि पार्टीले पहल लिनुपर्छ भन्ने निष्कर्षसहित हामी आएका हौं । 

२०५२ पछिको १० वर्षे अवधि र पछिल्लो समय तपाईंहरु भूमिगत भएको २ वर्षे अवधिबाट जनताले के पाए त? 

अहिले देशमा जो राजनीतिक परिवर्तन भएको छ । यो जनताको बलिदानीबाट भएको छ । झण्डै झण्डै २ सय वर्षअघि नेपालमा सामन्तवाद थियो । राजतन्त्र थियो । त्यसको मुख्यतः अन्त्य गर्ने क्रान्ति भनेको १० वर्षे जनयुद्ध बन्यो । पछिल्लो भूमिकामा १९ दिने जनआन्दोलन पनि बन्यो । १९ दिने जनआन्दोलन निर्णायक भूमिका होइन, सपोर्टिङ भूमिका पक्कै हो । सायद अहिले संसदवादीहरुले संसद, गणतन्त्र भनेर जनतालाई चिटिङ गर्न पाएका छन् । त्यो नेपाली जनयुद्धको उपज हो । 

जब जनतालाई ०६२/०६३ यता आउँदा धोका भयो, त्यो धोकालाई हेरेर हामीले नेपाली जनतालाई अपिल गरेर विद्रोह अघि बढाएका हौँ। यतिबेला देश अप्ठेरोमा छ, विगतका संघर्षबाट प्राप्त गरेका जनताका अधिकार सबै खोसिँदै छन् । हामीले विगत ६ वर्ष र पछिल्लो २ वर्षमा संघर्ष गर्न थालेपछि त्यसको रक्षा हुन थालेको छ । 

र, अहिले देशमा जो स्थिति छ, क्रान्तिकारी निकास पाउँछ भन्ने मेरो ठम्याइ छ । र, पाउनुको विकल्प पनि छैन । हाम्रो समाज र समाजको सिस्टम बदल्न धेरै ढिलो हुन्छ जस्तो लाग्या छैन । जनता अब आफैं शासन गर्ने ठाउँमा आउन र जनताको हकहितमा लाग्न धेरै समय बाँकी छैन । यो नै सबैभन्दा ठूलो उपलब्धि हो हाम्रा लागि ।

तपाईंहरु बारम्बार क्रान्ति क्रान्ति भनिरहनुभएको छ । तपाईंले एउटा सामान्य नागरिकले बुझ्ने गरि भन्दिनुस् न क्रान्ति के हो ?

जनताले बुझ्ने भाषामा क्रान्ति भनेको जीवन परिवर्तन हो । क्रान्ति भनेको अहिले जे छ देशमा यसको अन्त्य र राष्ट्र र जनताको आवश्यकता परिपूर्ति गर्ने राज्य प्रणाली हुन्छ नि, राज्यसत्ता, राज्यव्यवस्था र त्यसलाई आवश्यक पर्ने संविधान स्थापित गर्ने कुरा हो । क्रान्ति भनेको जनताको जीवन हो । क्रान्ति पन्डित्याईं होइन । 

राष्ट्र र जनताको जीवनलाई बदल्ने हतियार हो । क्रान्ति भनेको खान पाउनु हो, लाउन पाउनु हो, आवास पाउनु हो, औषधी पाउनु हो, पढ्न पाउनु हो, रोजगार पाउनु हो, सामाजिक सुरक्षा हो, राष्ट्रिय मुक्ति र स्वाधिनता हो, महिलाहरुको समानता हो, समृद्धि हो, देशको आमूल परिवर्तन हो । हामीले यसैका लागि नेपाली जनतालाई भन्दै आएका हौँ। हाम्रो क्रान्ति आंशिक रुपमा सफल भएको छ। कतिपय अवस्थामा धोकाधडी हुँदै आएकाले त्यो पूरा नहुँदा देश र जनताको लागि हामी लागेका छौं ।

नख्खुमा बमको छर्रा लागेर एक सर्वसाधरणको मृत्यु हुँदा, मोरङमा शिक्षकको मृत्यु हुँदा वा टेलिफोन टावर जलाउँदा कसरी क्रान्ति जनताका लागि भयो भनेर बुझ्ने त ? 

क्रान्ति भनेको आमूल परिवर्तन हो । आमूल परिवर्तन जनताले सजिलो तरिकाले होस भन्ने चाहन्छ । अहिले देशको स्थितिले जनताको चाहना, आफ्नो आवश्यकता र जनताका माग परिपूर्ति गरेन भनिरहेको अवस्था हो । संघर्ष गर्ने बेलामा सकभर परिपूर्ति होस्, यदि भएन भने बाध्य गर्न रोजाइको विषय होइन त्यो । इच्छाएको विषय होइन तर, फेरि क्रान्तिमा जनता र राज्यबीच तुलना गर्नुभएन । 

सबैभन्दा ठूलो दमन भन्नुहोस्, सबैभन्दा ठूलो जनअधिकार कुल्चने कुरा भन्नुहोस्, सबैभन्दा ठूलो हत्या आतंक मच्चाउने राज्य हुन्छ । संकट निम्त्याउने राज्य हो, जोसँग सेना हुन्छ, हतियार हुन्छ, कानुन हुन्छ र प्रशासन हुन्छ । त्यही भएर शासकहरुले जनतालाई केही पनि होइन भनेर मूर्खता गर्छन् । तर, जनता त्यस्तो हुँदैनन् । जब निरस्त्र जनताले सशस्त्र राज्यविरुद्ध आन्दोलन गर्नुपर्ने हुन्छ, राज्यले दमन गर्छ त्यसको काउन्टर गर्दा जनताले नचाहेका कतिपय घटना हुन्छन् । त्यो क्रान्ति र संघर्षको नियमानुसार त्यसलाई स्वभाविक हुन्छ तर, चाहना हुँदैन । 

यद्यपि नख्खुको कुरा गर्नुभयो । त्यहाँ हामीले हानेको एनसेललाई हो । जसले नेपालको अर्बौं रकम ठगेको थियो । यो राज्यको कुरा हो, तर उनीहरुले निगम पूँजीपतिसँग साँठगाँठ गरेर उल्टै पैसा खाने गरे । धेरैपटक भएपछि हामीले हानेकै हो । हामीले भनेकै छौं । 

सायद हामीले हानैकै कारणले एनसेलले तिरेको हो । अझ केही पैसा तिर्न बाँकी छ । उसले अपराध नगरेको भए जनताले कारबाही गर्दैनथे । तर, त्यो बेलामा संघर्ष गरेका जनताले आक्रमण गर्दा एकजनाको ज्यान गयो, युवती बहिनीहरू घाइते पनि हुनुभयो । त्यो हाम्रो निम्ति दुःखको कुरा हो । 

त्यो हाम्रो लक्ष थिएन । हामीले त्यो गल्ती भयो पनि भन्यौं । त्यो कुरा जनताले मान्यो तर, राज्यले मानेन । मुख्य रुपमा हामीलाई प्रतिबन्ध पनि लगायो । शिक्षक मारिएको कुरा छ, त्यहाँ एउटा घटना भएको छ । त्यो बेलामा राज्यले शिक्षकको कभरमा जनतामाथि आतंक फैलाउने काम भयो । उनलाई राज्यले प्रयोग गर्यो । 

हामीले धेरैपटक भनेका थियौं । अन्तिममा अति भएपछि हाम्रा साथीहरु सम्झाउन जाँदा उल्टै आक्रमण गर्नुभयो । हामीलाई डिफेन्स गर्ने बेला भएको घटना हो । न यो नेपालका शिक्षकमाथिको हमला हो न समाजका इमानदार मान्छेप्रतिको हमला हो, यसको जिम्मेवार राज्य आफैं छ, हामी छैनौं । 

टावरको कुरामा हामीले के भन्यौं भने कुनै पनि विदेशी लगानीकर्ताले नेपालको कानुनका अनुसार मानेर लगानी गर्ने हो । लगानी गर्दा नेपाल र जनताप्रतिको दायित्व जुन संविधानले भनेको छ, त्यो त निर्वाह गर्नुपर्छ नि । 

आफूले निर्वाह नगर्ने, अनि जनताले किन निर्वाह गरेको भन्दै अधिकार कुण्ठित गरियो भन्ने दलाल पुजीँपतिहरुको प्रचार सही छैन । टेलिफोनमै कुरा गर्न त नेपाल टेलिकम छ नि । त्यहाँ त हामीले हानेका छैनौं । त्यसकारण कुतर्क गरेर आफ्नो अपराधलाई ढाकछोप गर्ने कुरा गलत छ । 

दलाल पूँजीवादकै कुरा गर्दा सँगै सशस्त्र युद्धमा होमिएका प्रचण्डहरूले पनि यसको विरोध गर्नुहुन्थ्यो । अहिले तिनै दलालहरूको संरक्षण उहाँहरुले गर्नुभएको छ भनेर तपाईंहरु भन्नुहुन्छ । अबको १० वर्षपछि तपाईंहरुले दलाल पुँजीवादीहरुको संरक्षण गर्नुहुन्न भन्ने आधार के छ ? 

जस्तै, प्रचण्डजीहरुले विद्रोह गरेको दलाल पूँजीवादका लागि होइन । उहाँले एउटा त सामान्तवादविरुद्ध र संसदीय प्रतिक्रियावादीविरुद्ध संघर्ष गर्नुभएको थियो । ०६२/०६३ सम्म आउँदा पूँजीवाद यतिधेरै नांगो र जनविरोधी रुपमा परिणत भइसकेको थिएन । प्रतिक्रियावादी रुपमा त थियो । अथवा स्खलित भएको थिएन । प्रचण्डजीले संघर्ष गर्ने तहसम्म त ठीक थियो, तर त्यसलाई परिवर्तन गर्न उहाँले सक्नुभएन । जसको सजाय अहिले उहाँ भोगिरहनुभएको छ । 

जनता र राष्ट्रसँग धोका गरेपछि दण्डित हुनुपर्छ, उहाँ हुनुभयो । नेपालका संसदीय पार्टीसँग जनताको वितृष्णा जो छ । हिजो जनताले साथ दिएको बेलामा केही होइन भनेको परिणाम हो अहिले । त्यसकारण जतिबेला प्रचण्डजी सही हुनुहुन्थ्यो,साथ दिएका हौं । उहाँको राम्रो पनि भएको थियो । त्यही कारण संविधानसभाको चुनावमा ठूलो पार्टी बनेर माओवादी आयो । अन्तर्राष्ट्रिय रुपमा त्यसको प्रभाव पर्‍यो । 

२०६२/०६३ मा आउने बेला राज्यसँग गलत निर्णय गर्नुभयो नि । क्रान्तिको सबै उपलब्धिलाई परित्याग गरेर जनताको विपक्षमा आउनुभएपछि हामीले प्रचण्डजीको विरोध गर्‍यौं । ०६९ मा हामी अलग भयौं । हाम्रो इतिहास हेर्दा पनि जनतालाई हुने धोकासँग साथ दिने नेता यी होइनन् भन्ने प्रमाण हामी दिन चाहन्छौं । 

दोस्रो कुरा, हामीले यो पार्टी बनाएर संघर्ष गर्न थालेपछि हामीविरुद्ध षडयन्त्र पनि भएका छन् । २ वर्ष त राज्यले प्रतिबन्ध गर्‍यो । हाम्रा १२ जनाका साथीहरु शहादत भएका छन् । व्यक्तिगत स्वार्थका निम्ति हामीले यत्रो गर्नै पर्दैनथ्यो । तर, राष्ट्रलाई मुक्ति दिन राष्ट्रघात गर्दैनौं भन्ने कुरा त्यो पार्टीको राजनीतिक विचार र व्यवहारले गर्छ । 

हाम्रो विचार र व्यवहारले यो पार्टी धोका दिने होइन र यिनीहरुसँग स्वार्थ छैन भन्ने छाप जनतामा छ । त्यसकारण राष्ट्र र जनताको स्वार्थभन्दा हाम्रो अरु केही छैन । कि त हामी देशका लागि बलिदान गर्छौं कि त देशलाई दलालबाट मुक्त गर्छौं । बाँकी त इतिहासमा भएका नकारात्मक कुरा हेरेर हामीलाई विश्वास गर्नुस् भन्ने हाम्रो आग्रह छ ।

तपाईंहरुले अघि सारिरहनुभएको विचार मार्क्सवाद हो, लेनिनवाद हो वा प्रचण्डपथ, विप्लववाद वा प्रकाण्डवाद हो ? 

पहिलो कुरा जनताले बुझ्ने गरि हामी निर्देशित भइरहेको विचार भनेको जनताको विचार हो । जनताको विचार देशको विचार हो । राष्ट्रको विचार हो । त्यसलाई सैद्धान्तिकरण गरेर भन्दा हामी कम्युनिष्टहरुको विचार मार्क्सवाद, लेनिनवाद, माओवाद नै हो, हामी त्यसबाट निर्देशित छौं । विश्वका सबै श्रमजीवी जनताको विचार भएकाले हामी यसबाट निर्देशित छौं । नेपाली समाजलाई बदल्न हामीले त्यसबाट निर्देशित छौँ र हाम्रो पार्टी पनि।

दोस्रो, यो प्रचण्डपथको विरोधमा छ । किनभने, प्रचण्डपथले नै नेपालमा प्रतिक्रान्ति गर्‍यो, त्यसको विरोधमा हामी छौँ । नेपालमा भएका जनक्रान्तिको प्रयोगको त साथ पनि लिएर गएको छ । त्यसका आधार पनि हुन् । 

तर, पछिल्लो समय प्रचण्डजीमा विचलन देखियो, त्यसविरुद्धको संघर्षमा जन्मिएको हाम्रो पार्टीका आफ्नै धारणा छन् । तेस्रो कुरा, विप्लववाद नै त अहिले हामीले भनेका छैनौं । तर, नेपाली क्रान्तिमा हामी नयाँ प्रयोग गर्दैछौं । त्यो क्रान्तिको प्रयोगका लागि नेपाली विशेषताको आधारमा क्रान्तिको एउटा नयाँ विचार चाहिन्छ है, २० औं शताब्दीको कुरा गरेर हुँदैन । 

अर्को सवालमा लेनिनले रसियामा गरेको क्रान्ति र माओले चीनमा गरेको क्रान्तिको लाइन फरक छ । तर, क्रान्ति त सर्वहारा क्रान्ति नै हो । हामी २१ औं शताब्दीमा पनि क्रान्ति गर्दैछौं । यस आधारमा नेपालमा हुने क्रान्ति भनेको नेपाली विशेषता, नेपाली मौलिकता र विशेषताको हुनुपर्छ । हाम्रो क्रान्तिको लाइन भनेको एकीकृत जनक्रान्तिको लाइन नै हो। 

यो भनेको हाम्रा महासचिव विप्लवकै नेतृत्वमा पार्टीको विकास गरेर ल्याएका छौं । त्यसकारण यो एकीकृत जनक्रान्ति विचार पनि हो । यसलाई कमरेड महासचिवको विचार पनि भन्न सक्छौं हामी । हाम्रो पार्टीको विचार हामी भन्न सक्छौं । तर, यो विकासको प्रक्रियामा छ । तर, मार्क्सवाद लेनिनवाद र माओवादको लाइनबाट नेपाली समाजमा विकास चाहिँ हो । 

भनेपछि नेपाली समाजले फेरि एउटा एक्स्पेरिमेन्ट गर्नुपर्ने भयो? हिजो प्रचण्डपथ भनेजस्तै विप्लवपथ वा विप्लववाद केही आउँदै हो ? 

सर्वहारा वर्गको विचार, श्रमजीवी वर्ग जतिबेला विभाजित भयो । वर्गीय समाजको विगत र त्यसबेला जन्मिएको मार्क्सवाद, लेनिनवाद र माओवादको विचार हो । समाज विज्ञानको हिसाबले नेपालमा हामी एउटा प्रयोग गर्दैछौं। विज्ञानको विकास पन प्रयोगबाट हुने हो । एउटा प्रयोगबाट अरु कुरा विकास हुँदै जाने हो । अर्को चाहिँ प्रयोगको संश्लेषण सोचाइबाट पनि हो । हामी नेपालमा प्रयोग गर्दैछौं । तर, नेपालमा मार्क्सवाद लेनिनवाद र माओवादको वैज्ञानिक ढंगबाट प्रयोग गर्छौं । 

ल्याटिन अमेरिकी देशमा फिडेल क्यास्ट्रो, चे ग्वेभाराको सन्दर्भ किन नहोस्, अहिले रुसमा पुटिनले नाभाल्नीलाई विष खुवाइरहेको प्रसंग किन नहोस् अर्थात् चीन उदार अर्थतन्त्र वा खुला अर्थतन्त्रमा गएको प्रसंग र छिमेकी भारतमा त अहिले कम्युनिस्ट पार्टी कहाँ छ भन्ने खोज्नै पर्ने भइसकेको छ, अहिलेको पुस्तालाई त भारतीय कम्युनिस्ट नेताको नाम पनि सम्झना छैन होला । विश्वभर कम्युनिस्ट हराइरहँदा नेपालमा किन अझै कम्युनिस्टको रटान लगाइरहनु भएको छ । के यसको सन्दर्भ अझै नेपालमा छ र?

ल्याटिन अमेरिकी देशको कुरा गर्नुस्, चाहे रुसको कुरा गर्नुस् चाहे चीनको कुरा गर्नुस् चाहे भारतमा भएको क्रान्तिको कुरा गर्नुस् । यी त्यो बेला सफल भए, जतिबेला विचार सही थियो, लिडरसिप सही थियो र त्यसको प्रयोग सही थियो । यी त्यो बेलामा विफल भए, जतिबेला विचार र लिडरसिपमा विचलन आयो । 

तर, २० औं शताब्दीमा स्थापित भएको विषय भनेको पूँजीवादी विचार भन्दा मार्क्सवाद, लेनिनवाद, माओवादकै कम्युनिष्ट विचार स्थापित भएको छ । यो नै श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने कुरामा स्थापित भएको छ । यो नै जनताको प्रतिनिधित्व गर्ने विचार हो भन्ने अकाट्य तरिकाले स्थापित भएको छ । 

 जब त्यो सही हुन्छ त्यतिबेला मात्र समाजमा उत्पीडनमा परेकाहरुको विचार बोल्छ भन्ने स्थापित भएको छ । सन् ८० को दशकपछि यसलाई निरन्तरता दिने सन्दर्भमा कम्युनिष्टहरुले नै गल्ती गरेका छन् । यसको गम्भीर समीक्षा जरुरी छ।

विश्वको इतिहासको समस्याको समाधानका लागि डाक्टर भएन । हामीले नेपालमा कम्युनिष्ट आन्दोलनको उपचारका लागि डाक्टर खोजेका हौं । नेपालमा त्यसको काम हामीले अघि बढाएका छौं । अहिले पूँजीवादमा जुन किसिमको संकट आएको छ । त्यसले उत्पीडित समुदायको नेतृत्व गर्न सकेको छैन । 

२१ फागुनमा सार्वजनिक हुँदै गर्दा महासचिव विप्लवले जनमत संग्रहको विषय उठाउनुभएको छ । खास तपाईंहरुले चाहेको जनमत संग्रह कस्तो हो ? 

यो अलिक ठूलो विषय पनि हो । अहिले देशमा विद्यमान सिस्टम फेलियर भयो । आमजनताले भन्ने विषय पनि हो । सिस्टम फेलियर भयो भनेको यो व्यवस्थाको लिड गर्ने लिडरसिप र संसदवाद नै फेलियर भयो भनेको हो । नेपालमा अहिले प्रतिनिधित्व गर्ने दलाल पूँजीवाद फेलियर भयो । जनताले यसको ठाउँमा आफ्नो प्रतिनिधित्व गर्ने सिस्टम, व्यवस्था, संविधान चाहन्छ । 

यो जनताको मुद्दा हो । हामीले भन्यौं कि, जनताको आफ्नो मुद्दामा आफैंले फैसला गर्ने कार्यलाई जनमत संग्रह भन्यौं । अबको राजनीतिक मुद्दाको समाधान गर्ने जिम्मा जनतालाई दिऊँ न त भनेका छौं । जनतामा गएर यो कुरा उहाँहरुलाई नै फैसला गर्न दिऊँ भन्ने कार्यक्रमलाई जनमत संग्रह भनेका हौं । र, यसले जनतालाई स्वतन्त्रताको अधिकार दिन्छ । यो अभ्यास गरेपछि जनताले आफ्नो मुद्दाबारे आफैँ फैसला गर्छ । 

जनमत संग्रहको मुद्दा त हिन्दुवादी र राजावादीले पनि उठाएका छन् नि ? कतै मिलनबिन्दु त्यही त होइन ? 

यो कुरालाई ट्वीस्ट गर्ने मूर्खता भएको रहेछ, बाहिर । राजावादी भनेको विगतमा ३०० वर्ष नेपालमा शासन गरेको एउटा शक्ति हो वा विचार हो भन्नुस् । त्यसलाई जनताले फाल्दिहाल्यो । त्यसपछिको संसदीय व्यवस्था पनि फेलियर भयो । जनताले यो भन्दा उन्नत व्यवस्था खोजेका छन् । यसैका लागि हामी लागेका छौं । 

अहिले स्थापना भनेको त जनताको व्यवस्था पो हुन्छ त । १४ वर्ष अघि फालिएको राजतन्त्रलाई हामीले सारेको क्रान्तिकारी मुद्दामा जोड्ने भनेको वदनियतपूर्ण छ । हामी त्योसँग सम्बन्धित छैनौं । 

हेर्नुस् भिडियो अन्तरवार्ता :

 

  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार ११:२६:१५,   अन्तिम अपडेट : चैत २४, २०७७ मंगलबार १७:१९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया