प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली संसदमा उपस्थित नभएको बारेमा प्रश्न उठाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि सुरक्षा थ्रेट बढेको बताएको विषयलाई लिएर कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले गृहमन्त्रालयसँग जवाफ मागेका हुन्।
'केही समयअगाडि प्रधानमन्त्री ओलीले आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बेला भौतिक आक्रमण हुन सक्ने अभिव्यक्ति दिनु भएको थियो', उनले भने, 'उहाँलाई के के सुरक्षा व्यवस्था थपिएको छ? त्यसबारेमा संसदलाई जानकारी दिनु आवश्यक छ।'
बडूले प्रधानमन्त्री प्रतिनिधिसभामा नआएकोमा पनि आपत्ति जनाए। 'प्रधानमन्त्री प्रतिनिधिसभाका यति धेरै बैठक हुँदा पनि किन आउनु भएन?', उनले सोधे, 'कतै नआउनुको कारण सुरक्षा खतरा त होइन?'
आजसहित संसदका ६ वटा बैठक बसिसक्दा पनि प्रधानमन्त्री नआएको भन्दै उनले आपत्ति जनाए। 'संसद चलिरहेको छ तर आजसम्म प्रधानमन्त्री संसदभित्र देखिनु भएको छैन, कतै उहाँमाथि सुरक्षा खतरा कायमै रहेको हो र?', उनले भने, 'उहाँले सुरक्षासँगै नैतिक खतरा पनि महसुस गरिरहनुभएको हो?’
उनले यदि सुरक्षा खतरा थिएन भने बनावटी कुरा किन गरेको भन्दै सोधे। 'सुरक्षा खतरा थिएन भने नेपालको सुरक्षा व्यवस्था र क्षमतामाथि प्रश्न उठ्ने गरी बनावटी अभिव्यक्ति किन प्रधानमन्त्रीले दिएको?', उनले सोधे, 'यसबारेमा प्रधानमन्त्री, गृहमन्त्री वा सरकारका प्रवक्ताले संसदलाई जवाफ दियुन्।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।