काठमाडौं : २८ फागुनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीको पद खारेजी गरेसँगै विवाद उत्कर्षमा छ।
त्यही दिन प्रधानमन्त्रीसमेत रहेका ओलीले आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर प्रदेश इन्चार्ज र विभागीय प्रमुख तोके।
२०३५ मा बनेको नेकपा माले बनेदेखि सधैं मुख्य जिम्मेवारीमा रहँदै आएका नेता माधव कुमार नेपाललाई ओलीको यो निर्णयले ठूलो झट्का दियो। ओलीको निर्णयपछि त्यही दिन आकस्मिक स्थायी कमिटी बैठक राखेर नेपाल–खनाल समूहले समानान्तर कमिटी गठनको चेतावनी दियो।
ओलीले निर्णय गरेको २४ घण्टा नबित्दै माधव नेपाल पक्षले समानान्तर कमिटी गठन गर्न सुरु पनि गर्यो। अर्थात् २९ फागुनमा बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले ओलीलाई चुनौती दिँदै सातै प्रदेशको इञ्चार्ज र विभागीय प्रमुख पनि तोक्यो।
जसअनुसार प्रदेश १ प्रमुखको जिम्मेवारी भीम आचार्य, प्रदेश २ घनश्याम भुसाल, प्रदेश ३ अष्टलक्ष्मी शाक्य, प्रदेश ४ सुरेन्द्र पाण्डे, लुम्बिनी–कर्णाली युवराज ज्ञवाली र सुदूरपश्चिमको जिम्मा भीम रावलले पाए।
यस्तै, युवा विभागको जिम्मा रघु पन्तलाई, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्टलाई, प्रचार विभागको जिम्मा योगेश भट्टराईलाई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइयो।
त्यसपछि ओलीसँग भेट
सर्वोच्चले २३ फागुनमा ब्यूँताइदिएको नेकपा एमाले त्यसपछि जुट भन्दा पनि फुटको बाटोमा अघि बढ्यो। ५ पुसमा ओलीले गरेको संसद विघटनको निर्णयपछि प्रचण्डसँग एलायन्स गरेर अघि बढेका नेपाल त्यसपछि पनि प्रचण्डसँगकै सुमधुर यात्रा अघि बढाए।
फागुन २४, २७, २९ र चैत १ गते नेपालले विभिन्न व्यापारीका घरलाई प्रयोग गर्दै प्रचण्डसँगको भेटलाई तीव्र बनाए।
एकातिर समानान्तर गतिविधि अघि बढ्न थाल्यो त अर्कातर्फ प्रचण्डसँग नेपालको उठबस तीब्र भयो। यसबीचमा प्रधानमन्त्री ओलीले नै नेपाललाई भेटको प्रस्ताव राखे।
सुरुमा सरकारी निवास बालुवाटारमै बोलाएका ओलीलाई नेपालले आफू बालुवाटार नआउने स्पष्ट गरे। पार्टी कार्यालय धुम्बाराहीमा भेट्ने सहमतिपछि २ चैतमा उनीहरुबीच भेट भयो।
नेता नेपालका अनुसार सुरुमा ओलीले राम्रो कुरा गरेपनि छलफलको अन्त्यमा टर्रो कुराकानी भयो। त्यसपछि पुनः उनीहरु यथावत अवस्थामा फर्किए। भेटमा नेपालले २८ फागुनमा गरेको निर्णय फिर्ता लिनैपर्ने बताए भने ओलीले प्रचण्डसँगको सामाप्यिता घटाउन बारम्बार आग्रह गरे।
साथै, ४ र ५ गते आयोजना गरेको राष्ट्रिय भेला पनि रोक्न ओलीले भने। ओलीले निर्णय फिर्ता नलिने बताएपछि उनीहरुबीच टर्रो कुराकानी भएको थियो। र, त्यसपछि एमालेका दुवै पक्ष आफ्नै गतिविधि गरिरहेका छन्।
अनि राष्ट्रिय भेला
२ चैतमा ओलीसँगको भेटवार्ता सकारात्मक नभएपछि ४ र ५ गते सानेपास्थित हेरिटेज गार्डेनमा नेपाल समूहले राष्ट्रिय भेला आयोजना ग¥यो। भेलामा सहभागीले ओलीको एकलौटी शैलीको व्यापक विरोध गरे।
अर्कोतर्फ ओली गुटगत भेला आयोजना गरेको भन्दै रुष्ट थिए। नेपाल–खनाल समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई ओली समूहले बहिस्कार गर्न निर्देशन नै दियो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका एमाले नेता सूर्य थापाले नेपाल समूहको ब्यानर नै च्यातेर सामाजिक सञ्जालमार्फत वहिस्कारको आह्वान गरेका थिए।
दुई दिनसम्म बसको उक्त भेलाको निष्कर्ष नै देशभरका कमिटीहरु ब्यूँताउने बन्यो। तर, ओलीले पेलेरै जाने मुड बनाएर अघि बढेपछि समानान्तर कमिटीका गतिविधिहरु त्यसपछि झनै बढेका छन्।
कहाँ कहाँ समानान्तर कमिटी ?
ओलीको एकलौटी निर्णयको विरोध गर्दै नेपाल समूहले २९ फागुनमै प्रदेश इञ्चार्ज र विभागीय प्रमुख तोक्यो। त्यसपछि राष्ट्रिय भेला गरेको यो समूहले त्यसपछि विभिन्न संगठनका कमिटीहरु पनि गठन गरेको छ।
६ चैतमा नेपाल समूहले विधिवत् रुपमै समानान्तर कमिटी विस्तारको प्रक्रिया सुरु ग¥यो। महिला भेलाले जयन्ती राईको अध्यक्षतामा अनेमसंघको समानान्तर कमिटी गठन गर्यो। भेलाले ४७५ सदस्यीय केन्द्रीय कमिटी नै बनाएको थियो।
त्यसको भोलिपल्टै राजधानीमा नेपाल पक्षीय युवा संघको भेला भयो। जसबाट नरेश शाहीलाई अध्यक्ष बनाएर अर्को कमिटी गठन भयो। संघको वरिष्ठ उपाध्यक्षमा क्रान्ति बुर्लाकोटी र महासचिवमा दीपक जीएमसहित नयाँ नेतृत्व चयन भएका थिए। ५० जना भन्दा धेरै सदस्य राखेर युवा संघको गठन गरियो।
त्यसपछि राष्ट्रिय भेलाकै निर्णय अनुरुप काठमाडौंमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को राष्ट्रिय भेला आयोजना ग¥यो।
भेलाले अनेरास्ववियुको ५०१ केन्द्रीय सदस्य रहेको जम्बो कमिटी गठन ग¥यो। जसको सुदेश पराजुली, सह–अध्यक्षमा वसिम आलम र महासचिवमा आरती लामा चयन भए।
माधव नेपाल पक्षीय अनेरास्ववियुको उपाध्यक्षमा यशु लामा, रेनु शाही, माधव पन्त, कल्पना थापा, सुदीप शर्मा, लोकेश निरौला र केशरी रेग्मी छन्। कोषाध्यक्षमा दिपेश प्रसाईंलाई चयन गरियो। त्यस्तै, अनेरास्ववियुको सातै प्रदेशको नेतृत्व पनि बनाइएको छ भने १३ जनाको स्थायी कमिटी गठन गरिएको छ।
जिल्लामा पनि
माधव नेपाललाई ६ महिनाका लागि पार्टीबाटै निलम्बन गरिएपछि आकस्मिक रुपमा हिजो
(मंगलबार) कलंकीस्थित मेघा पार्टी प्यालेसमा स्थायी कमिटी बैठक बस्यो। ओलीले पेलेरै जाने निर्णय गरेपछि बसेको यो बैठकले देशभर समानान्तर कमिटी ब्यूँताउने निर्णय गर्यो।
भोजपुरमा बन्यो
त्यही दिन भोजपुरमा माधव पक्षको जिल्ला कमिटी गठन गरिएको छ। पार्टीको विस्तारित बैठक राखेर शरण कुमार राईको अध्यक्षतामा १७५ सदस्यीय अलग्गै कमिटी बनाइएको हो।
समानान्तर कमिटीको उपाध्यक्षमा विष्णु बहादुर राउत, सचिवमा वीरजंग राई र उपसचिवमा इन्दिरा घलेलाई चयन गरिएको छ।
अर्घाखाँचीमा
त्यस्तै, नेकपा (एमाले) नेपाल समुहले अर्घाखाँचीमा पनि समानान्तर कमिटी विस्तार गरेको छ। गत शनिबार जिल्ला भेला आयोजना गरेर ७१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ। समानान्तर कमिटीमा साविक एमालेका निर्वाचित जिल्ला सचिव रामबहादुर चौहान अध्यक्ष छन्।
सचिवालय सदस्यहरूमा तत्कालीन उपसचिव प्रेम नारायण गैरे, कुलदीप भूसाल, भविश्वर पाण्डे, सिद्धि भुसाल, सरोज भुसाल, सुनिता बेल्बासे, सुमित्रा मुखिया, पुष्पा भाट, हृदय भुसाल, तारापति भट्टराई छन्।
गोरखामा पनि
नेपाल पक्षले गोरखामा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ। यही सोमबार सदरमुकाममा बसेको जिल्ला कमिटी भेलाले यादव बस्नेतको नेतृत्वमा ६४ सदस्यीय कमिटी गठन गरेको हो।
भेलाले बस्नेतकै नेतृत्वमा १४ सदस्यीय जिल्ला सचिवालयसमेत गठन गरेको पार्टीका जिल्ला कमिटी सदस्य विश्वेश्वर कट्टेलले बताए।
सचिवालय सदस्यहरूमा कट्टेल, टेकराज भट्ट, सानुमाया बस्नेत, कृष्णमान श्रेष्ठ, रज्मदिन मिया, नारायणध्वज खड्का, सीताराम बुढाथोकी, कल्पना कुँवर, प्रदीप क्षेत्री, द्रोण तिमिल्सिना, अमृत काराखेती, भोला श्रेष्ठ र गिरिधारी सापकोटा छन्।
पूर्वी नवलपरासीमा नेपाल समूहले चाँडै समानान्तर जिल्ला कमिटी बनाउने तयारी सुरु भएको छ। त्यस्तै कास्कीमा पनि समानान्तर कमिटीको तयारी लगभग टुंगिसकेको छ।
गोरखामा पनि समानान्तर गतिविधि सञ्चालन गर्ने तयारीका साथ छलफल चलेको छ। एमाले जिल्ला कमिटीका ६३ सदस्यमध्ये अहिले ११ जना खनाल–नेपाल समूहमा खुलेका छन।
म्याग्दीमा पनि खनाल–नेपाल समूहले समानान्तर कमिटी गठनको तयारी गरेको छ। उक्त समूहमा गण्डकी प्रदेश कमिटीकी मुना बानियाँ र जिल्ला सचिव बालकृष्ण सुवेदी लगायत समानान्तर कमिटी गठन गरी ओलीको प्रवृत्तिविरुद्ध अन्तरसंघर्ष गर्ने बताएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।