हल सञ्चालकको मर्म कसले बुझ्ने ?

बितेको एक वर्ष नेपाली चलचित्र क्षेत्र ठप्प रह्यो । कोरोनाका कारण देशका सम्पूर्ण क्षेत्र ठप्प भएसँगै चलचित्र क्षेत्रमा पनि कुनै काम हुन सकेनन् । यो समय चलचित्रमा चलेका धेरै कलाकारले म्युजिक भिडियोबाट आफ्नो जीवन गुजारा गरे । फिल्ममा चलेका स्टार कलाकार राजेश हमालदेखि केदार घिमिरेसम्म म्युजिक भिडियोमा देखिए ।

एक वर्षपछि अन्य क्षेत्र बिस्तारै खुल्दै गर्दा सिनेमा हल खोल्न भने सरकारले अनुमति दिएन । सरकारसँग बारम्बार ताकेता गर्दा पनि अनुमति नपाएपछि चलचित्रकर्मी आफैंले एकतर्फी रूपमा गत पुस १० गतेबाट हल खोले । कोरोनाअघि प्रदर्शन भइरहेका चलचित्र पुनः रिलिज गरेर हल सञ्चालन गरे पनि सिनेकर्मीलाई ती सिनेमाहरूले राहत दिन सकेनन् ।

पुस २६ गतेबाट ५० प्रतिशत अकुपेन्सीसहित सञ्चालनको अनुमति पाएपछि केही पुराना फिल्म रिलिज गरे । यही बेला अभिनेता शिव श्रेष्ठको नयाँ फिल्म पनि हलमा रिलिज गरियो । तर, दर्शक भने गएनन् ।

हल खुलेको ३ महिना गुज्रिसकेको छ । सरकारले ५० प्रतिशत अकुपेन्सीको नियम हटाएको छैन । हलमा दर्शकको उपस्थिति शून्य प्रायः नै भए पनि थुप्रै फिल्म मेकरले आफ्ना नयाँ फिल्म प्रदर्शनका लागि मिति लिएर चलचित्रको प्रचार थालेका थिए । फिल्म निर्माणको औपचारिक घोषणाका साथमा छायांकन निक्कै बाक्लिएको थियो । चलचित्रकर्मीको दैनिकी बिस्तारै व्यस्त बन्दै गएको थियो ।

यही बीचमा विश्वमै कोरोनाको दोस्रो लहर सुरु भयो । यसको असर चलचित्र क्षेत्रमा पनि देखिएको छ । चलचित्रकर्मीहरू पुनः अन्योलमा परेका छन् । छायाङ्कनमा निस्किएका चलचित्र सक्ने हतारोमा निर्माणकर्ता छन् । नेपालमा पनि कोरोना संक्रमणको दर बढेको भन्दै स्वास्थ्य मन्त्रालयले भिड नगर्न आग्रह गरेसँगै काम सकेर ढुक्कका साथ बस्ने मनस्थितिमा चलचित्रकर्मी छन् । दर्शकको न्यून उपस्थितिमा सञ्चालन भइरहेका हलहरू पुनः बन्द हुने अवस्थामा पुगेका छन् ।

यता, प्रदर्शन मिति लिएर प्रचारमा निस्किएका चलचित्रहरू पनि कोरोनाको दोस्रो लहर सुरु भएसँगै मिति परिवर्तन गर्ने क्रम बढेको छ । निर्माण भइरहेका चलचित्र प्रदर्शनका निम्ति निर्माताहरू तयार देखिएका छैनन् । प्रदर्शन मिति पाएर प्रचारमा रहेका चलचित्रकर्मी पछि हटिरहेका छन् । जसले गर्दा नेपाली चलचित्र घरमा अझै लामो समय सन्नाटा छाउने देखिन्छ ।



भारतमा दैनिक ठूलो संख्यामा मानिसहरूमा कोरोना संक्रमण देखिन थालेपछि त्यसको असर नेपालमा देखिएको चलचित्र वितरक गोपालकाजी कायस्थले बताएका छन् । प्रदर्शनको तयारीमा रहेका बलिउडका ठूला–ठूला ब्यानरका चलचित्र रोकिएपछि नेपालका निर्माताहरू पनि पर्ख र हेरको अवस्थामा पुगेको उनको बुझाइ छ ।

नेपाली नयाँ वर्षमा दर्शक तान्ने तरखरमा रहेको ‘लप्पन छप्पन–२’ का निर्माता निर्देशले नयाँ मिति नतोकी फिल्म प्रदर्शन नगर्ने निर्णय गरे । त्यसपछि लगातार अन्य निर्माता निर्देशकले पनि प्रदर्शनको तयारीमा रहेका चलचित्र अनिश्चित कालका लागि रोके । योसँगै चलचित्र क्षेत्र झन् धेरै अन्योलमा फसेको छ ।



हलहरूले चलचित्र निर्मातालाई केही राहत दिने बाचा गरेको खण्डमा चलचित्र प्रदर्शन गर्ने मनस्थितिमा रहेको निर्माताहरूले बताउँदै आएका छन् । तर, एक वर्षदेखि सुनसान रहेका हलका मालिकहरूको मर्म कसले बुझ्ने ? हल सञ्चालकहरूको आफ्नै प्रश्न र अन्योलता छ । यही अन्योलताका बीच केही सिनेमा हलहरू सधैंका लागि बन्द भइसकेका छन् ।

कोरोना संक्रमण दर घटेसँगै सक्रिय देखिएका सिनेकर्मी पुनः निष्क्रिय बन्दै गएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएसँगै फेरि जाँगर हराएको उनीहरूले बताएका छन् । चलचित्रमा लगानी गर्न, निर्माण भएर बसेका चलचित्र प्रदर्शन गर्न पनि निक्कै सोच्नु पर्ने चलचित्रकर्मी बताउँछन् । 

‘चलचित्र क्षेत्रमा मडारिएको कालो बादल पूर्ण रूपमा हट्नै नपाई पुनः मडारिन सुरु गर्‍यो’ पुराना निर्देशक मोहन निरौलाले भने । चलचित्र निर्माणको औपचारिक घोषणा गरेर काममा निस्किएका कलाकारले पनि काम पूरा गर्न पाउँछन् पाउँदैनन् भन्ने शंका सुरु भएको निरौलाको भनाइ छ । 

ठूलो लगानीमा निर्माण भएर प्रदर्शन हुन नपाएका चलचित्रका कारण निर्माताहरू निक्कै मारमा छन् । उनीहरूले यो मार अझै लामो समय खेप्नु पर्ने देखिएको छ । कोरोना अघि नै निर्माण सकेर ३ दर्जनभन्दा धेरै चलचित्र थन्किएर बसेका छन् । जसले गर्दा करोडौं रकम फ्रिज भइरहेको निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउँछन् ।

  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार १९:४८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया