कर्णालीमा ‘एक’ एमाले, माओवादी केन्द्र साइड !
फरकधार / १९ चैत, २०७७

पछिल्ला दिन पार्टीमा व्यापक असन्तुष्टि र नेताहरुबीच समानान्तर कमिटी बनाउँदै गए पनि कर्णाली प्रदेशमा नेकपा एमाले एक हुने सम्भावना देखिएको छ । 

नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलको बैठक बोलाइएपछि यस्तो संकेत देखिएको हो । २२ चैतका लागि बोलाइएको बैठकमा एमालेका दुई पक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका सबै सांसद उपस्थित हुने सम्भावना रहेको बताइएको छ ।

राष्ट्रिय राजनीतिमा जे भए पनि आफूहरु एक भएर अगाडि बढ्ने नेपाल पक्षका एमाले नेता तथा सांसद सुशील थापाले बताएका छन् । ‘२२ गतेको दलको बैठकमा हाम्रा सबै सांसदहरु उपस्थित हुनुहुन्छ,’ उनले फरकधारसँग भने, ‘बैठकपछि हामीले चैत्र ४ गतेको निर्णयलाई मानेर अघि बढ्नेछौ । त्यसपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने छ ।’

प्रदेशसभाका ४० सांसदमध्ये एमालेका सभामुख सहित २० सांसद छन् । यसअघि चैत ४ गते एमाले संसदीय दलका नेता यामलाल कंडेलको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर माधव नेपाल पक्षले गुटको बैठक भन्दै समर्थन कायमै रहेको बताएको थियो । बैठकमा ओली पक्षका १० जना सांसदहरुको उपस्थित थिए । 

हाल एमालेको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सरकारमा सहभागी छन् । राष्ट्रपतिले संसद विघटन गर्दा मन्त्री रावल र बुढाले मन्त्री पद जोगाउनको लागि ओली पक्ष परित्याग गरी नेपाल पक्षमा लागेका थिए । जस कारण प्रदेश सरकार टिकेको थियो । 

सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइ दिएपछि एमालेका सांसदहरु एकै ठाउँमा उभिने कसरत गरिरहेका छन् । संविधानतः कुनै पनि राजनीतिक दलले सरकारको समर्थन फिर्ता लिइसकेको अवस्थामा त्यहि पार्टीका सांसदहरु मन्त्रीको पदमा बस्न नमिल्ने सांसद थापा बताउँछन् । विशेष गरी ओली पक्षका सांसदहरुले माधव नेपाल पक्षबाट सरकारमा सहभागि भएका मन्त्रीहरुलाई राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्ग प्रष्ट गर्न आग्रह गरिरहेका छन् । एमालेको माधव नेपाल पक्षकै अर्का सांसद अमरबहादुर थापाले चैत्र २२ गतेको बैठकले सबै कुराहरु प्रष्ट पार्ने बताए । 

सरकार जोगाउने अन्तिम कसरतमा माओवादी 

यता माओवादी केन्द्र सरकार जोगाउने अन्तिम कसरतमा लागेको छ । माओवादी केन्द्रले चैत्र २१ गते तै संसदीय दलको बैठक बोलाएको छ । एमालेले समर्थन फिर्ता लिएको अवस्थामा सरकारले विश्वासको मत लिएर अघि बढ्ने माओवादी केन्द्रकी सांसद सीता नेपालीले बताइन् । ‘एमालेले समर्थन फिर्ता लिए पछि सरकारले संसदबाट विश्वासको मत लिएर अघि बढ्ने छ,’ उनले भनिन् । 

कर्णाली प्रदेश सभामा ४० सांसद छन् । तीमध्ये एमालेका २०, माओवादीका १३, काँग्रेसका ६ र राप्रपाका एक सांसद छन् । माओवादी केन्द्रबाट संसद रहेका धर्मराज रेग्मी एमालेमा प्रवेश गरिसकेका छन् ।

  • प्रकाशित मिति : चैत १९, २०७७ बिहीबार १६:४:४७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया