विदेशी वायुसेवा कम्पनीलाई नेपाली आकाशमा इन्टरनेटको सुविधा

विदेशी वायुसेवा कम्पनीले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो ।

गत चैत ९ गते बसेको दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेसँगै नेपाली आकाशमा विदेशी एयरलाइन्सले इन्टरनेट तथा मोबाइल फोनको प्रयोग गर्न पाउने भएका हुन् । प्राधिकरणले विदेशी वायुसेवा कम्पनीले माग गरेमा १० हजार फिट उचाइमा उक्त सेवा प्रयोगको अनुमति दिनसक्ने निर्णय गरेसँगै नेपाली आकाशमा दूरसञ्चार सुविधा पाउन सकिने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

उनका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)बाट अनुमति प्राप्त  एयरलाइन्सले उक्त सुविधा पाउनेछन् । आइकाओको अनुमतिको आधारमा प्राधिकरणले उक्त सेवा उपलब्ध गराउन अनुमति दिनेछ । १० हजार फिटभन्दा कम उचाइमा इन्टरनेट सेवा सञ्चालनको अनुमति दिँदा नेपालभित्रको फ्रिक्वेन्सीमा अवरोध हुनसक्ने अनुमान गर्दै उक्त सुविधा दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणमा ३ विदेशी वायुसेवा कम्पनीले आकाशमा इन्टरनेट सेवा सञ्चालनका लागि आवेदन दिएका थिए । विदेशी कम्पनीको माग (आवेदन)का आधारमा प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरण, सञ्चार मन्त्रालयलगायतका निकायसँग छलफल गरी बोर्ड बैठकबाट सेवा सञ्चालनको अनुमति दिने निर्णय गरेको हो । 

यसअघि भारत र अफगानिस्तानले १० हजार फिटभन्दा माथिको आकाशमा इन्टरनेट सेवा प्रदान गर्दै आएका छन् । उक्त दुई देशपछि आकाशमा दूरसञ्चार सेवा उपलब्ध गराउने दक्षिण एसियाकै तेस्रो देश नेपाल बनेको छ ।





  • प्रकाशित मिति : चैत १९, २०७७ बिहीबार १६:३५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया