साताको अन्तिम दिन सेयर बजारमा ७ अर्बभन्दा बढीको कारोबार

केही दिनयता नेप्सेमा सुधारको क्रम निरन्तर जारी रहेको छ । साताको अन्तिम कारोबारको दिन पनि सेयर बजार १२ अंकभन्दा बढीले बढेको छ ।

कारोबारको चौथो दिन बुधबार ४३ अंकले वृद्धि भएको नेप्सेमा बिहीबार पनि १२.८८ अंकले वृद्धि भएको हो । १२ अंकभन्दा बढीले वृद्धि भएको नेप्से अन्तिम कारोबार हुँदै २६३१.९० बिन्दुमा पुगेर बजार बन्द भएको छ । 

कारोबारको अघिल्लो दिन ४३.३५ अंक बढेर २६१९.०२ बिन्दुमा पुगेको नेप्से, यस दिन प्रि ओपन सेसनमा नै २६.४८ अंक बढेर २६४५.५० बिन्दुमा पुगेको थियो । यसर्थ प्रि ओपन सेसनमा नेप्से अलटाइम हाईभन्दा माथि पुगेको हो । यद्यपि, नियमित कारोबार खुल्नासाथ भने नेप्से परिसूचक तीव्र गतिमा ओरालो लागेको थियो । तर, करिब ३५ मिनेटदेखि भने बजार पुनः सुधारिन थालेको थियो । 

यस्तै, बजारमा राम्रा कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.३८ अंकले बढेको छ । बुधबार २.३८ अंकले वृद्धि भई सेन्सेटिभ इन्डेक्स ४६६.४२ बिन्दुमा पुगेको छ । समग्र नेप्से परिसूचकमा सकारात्मक प्रभाव परेसँगै यसदिन कारोबार रकममा समेत उल्लेखनीय सुधार देखिएको छ । बुधबारको तुलनामा आज कारोबार रकम वृद्धि भएको हो । 

बुधबार २०९ वटा कम्पनीको १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता सेयर कुल ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार ५३८ रुपैयाँमा खरिद बिक्री भएको थियो । तर, अन्तिम कारोबारको दिन बिहीबार भने २१८ वटा कम्पनीको १ करोड ४३ लाख ९० हजार ४४७ कित्ता सेयर कुल ७ अर्ब २५ कारेड ९ लाख २४ हजार १२४ रुपैयाँमा खरिद–बिक्री भएको छ । 

सेयर बजार विश्लेषकहरुका अनुसार, लगानीकर्ताको मनोबल बढ्ने वातावरण निर्माण भएकाले कारोबार रकम बढेको हो । 



‘विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत हाराहारी हुने प्रक्षेपण गरेको छ । कोभिड प्रभाव न्यूनीकरणका लागि राष्ट्र बैंकले चालेका सुधारका काम पनि निरन्तर हुने सम्भावना धेरै छ,’ सेयर विश्लेषक अनलराज भट्टराई भन्छन् सूचीकृत कम्पनीको तेस्रो त्रैमासको वित्तीय विवरण पनि राम्रो आउने र अहिले लगानी गर्दा ४–५ महिनापछि वार्षिक प्रतिफल लिन पाउने भएकाले पनि लगानीकर्ता पुनः बजार प्रवेश गर्न थालेका छन्, जसका कारण कारोबार रकम बढेको हो ।’ 

यतिबेला बजार बुलिस ट्रेण्डमै रहेकाले लगानीकर्ताको आत्मविश्वास बलियो देखिन्छ । आर्थिक सूचक पनि सकारात्मक हुने प्रक्षेपणपछि संस्थागत लगानीकर्ता फेरि बजारमा प्रवेश गरेको उनको दाबी छ । 



यस दिन व्यापार उपसमूहबाहेका कारोबारमा आएका १३ उपसमूहमध्ये ९ वटा उपसमूहको सूचक बढेको छ भने ४ वटा उपसमूहको सूचक घटेको छ । बिहीबार व्यापार उपसमूहको परिसूचक सर्वाधिक ८.६३ प्रतिशत बढेको छ । त्यसैगरी, अन्य उपसमूहको परिसूचक ३.२६ प्रतिशत, विकास बैंकको २.०३ प्रतिशत र वित्तको १.९६ प्रतिशतले बढेको छ । कारोबारमा आएको होटल उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक २.११ प्रतिशत घटेको नेप्सेले देखाएको छ ।

बिहीबार ७ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन साञ्जेन जलविद्युत कम्पनी, युनाइटेड फाइनान्स, किसान माइक्रोफाइनान्स, वोमी लघुवित्त, एनआइसी एशिया लघुवित्त, अजोड इन्स्योरेन्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, यस दिन साल्ट ट्रेडिङ कर्पोरेशनको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।

यता, शतप्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)को सेयरमूल्य भने यस दिन सर्वाधिक ५.५३ प्रतिशत घटेको छ ।

  • प्रकाशित मिति : चैत १९, २०७७ बिहीबार २०:४३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया