मेलम्चीको जस लिन कांग्रेसले टाँग्यो कृष्णप्रसादको फोटोसहितको ब्यानर

करिब ३० वर्ष लामो कसरतपछि सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौं आइपुगेपछि दलहरुबीच जस लिने होडबाजी चलेको छ। मेलम्चीको पानी आजैदेखि राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा भृकुटीमण्डपबाट काठमाडौंमा वितरणको सुरुवात गर्दैछिन्। 

पानी औपचारिक रुपमा वितरण थालिने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली  पनि सहभागी हुनेछन्। आजको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवालाई डाकिएको छ। 

मेलम्चीको पानी केपी शर्मा ओली नेतृत्वको सरकारले काठमाडौंमा झारेको दाबी गरिरहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि जस लिन खोजेको छ। उसले आफ्ना सन्त नेता कृष्णप्रसाद भट्टराईको परिकल्पना र योजना अनुसार काठमाडौँमा मेलम्चीको पानी आइपुगेको भन्दै जस लिने प्रयत्न गरेको हो। 

राष्ट्रपतिले मेलम्चीको पानी वितरणलाई औपचारिक रुपमा सुरु गर्नै लाग्दा नेपाली कांग्रेस काठमाडौं महानगरपालिका १० नम्बर वडा अध्यक्ष रामकुमार केसीले नयाँ बानेश्वर पिपलबोटस्थित आकाशे पुलमा पूर्वप्रधानमन्त्री एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको तस्विरसहितको ब्यानर टाँगेका छन्। जहाँ लेखिएको छ 'सन्त नेता कृष्णप्रसाद भट्टराईको सपनापछिको मेलम्ची पानीको योजना राजधानीबासीको दु:खको निराकरण ३० वर्षमा यथार्थमा परिवर्तन, जय नेपाल!'

उता नेपाली कांग्रेस केन्द्रीय कमिटीले मेलम्ची आएको जस लिन नेता भट्टराईको सपना साकार भएको भन्दै  भिडियो नै बनाएर सामाजिक सञ्जालमा हालिसकेको छ। जहाँ नेता भट्टराईले मेलम्चीबारे बोलेको भाषणसमेत राखिएको छ।

तत्कालीन राजा वीरेन्द्रले परिकल्पना गरेर अध्ययन गरिँदा मेलम्चीको पानी काठमाडौं आउन सक्ने ठहर भएको थियो। त्यसपछि सन्त नेता भट्टराईले पहिलोपटक मेलम्चीको पानी ल्याएर काठमाडौंबासीको तिर्खा मेट्ने योजना सुनाएका थिए। सन्त नेता केपी भट्टराईको पालामा सुरु भएको आयोजना एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलामा पूरा भएपछि यसको जस लिने प्रतिस्पर्धा चलेको छ।



कांग्रेसले बनाएको भिडियो



  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार ११:१४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया