म सबैभन्दा ठूलो फ्यान पल शाहकै हुँ
फरकधार / २० चैत, २०७७

पश्चिम नेपालको दाङबाट कलेज पढ्न राजधानी छिरेको एउटा ठिटो, जसको काठमाडौं प्रवेशको एउटा मात्रै उद्देश्य थियो राम्रो पढ्नु। 

बुबाको सपनाको फेर समातेर राजधानी छिर्दै गर्दा पलसँग केबल राम्रो पढ्नु र आफ्ना पिताको सपना साकार पार्नु थियो। उनका पिताले उनी सेनाको मेजर भएको हेर्ने सपना पालेका थिए। पढ्नका लागि काम गर्नुपर्ने बाध्यता थिएन उनलाई। उनको पढाइमा खर्च गर्न सम्झौता गर्नुपर्ने खालको थिएन उनको पारिवारिक अवस्था।

तर, समयसँगै यो ठिटोका मनमा केही गर्ने जोश पलायो। बुबाको मेजर बनाउने सपना सँगालेर राजधानी छिरेका पल शाहले भिडियो सम्पादकका रुपमा जागिरे जीवन सुरु गरे। 

उनले जागिर सुरु गरेको उनका बुबालाई कत्ति मन परेन। कुनै समय बाबुछोराका बीच भनाभन् नै भयो। पलका बुबाले काम गर्ने भए खर्च रोकिदिन्छु भनेन् मात्रै रोकि नै दिए। 

बुबाले खर्च रोकीदिनुको अर्थ पललाई समस्यामा पार्नु थिएन। कामले पढाइ बिग्रन्छ भन्ने चिन्ता थियो बुबाको। छोराले राम्रो पढोस् भन्ने चहाना थियो। पलको भाग्य बलियो थियो। सञ्चार क्षेत्रबाट भिडियो सम्पादनसँगै सुरु भयो पलको कला यात्राको जग।

पलले निक्कै गीतका म्यूजिक भिडियो सम्पादन गरे। भिडियो सम्पादनका क्रममा उनीभित्र अभिनय मोह फस्टाउँदै थियो। यही समय उनलाई अभिनयको अफर आयो। आएको मौकालाई पलले चुक्न दिएनन्। अहिले पल उनी म्यूजिक भिडियोका नम्बर वान मोडल भएका छन्। उनी सबैभन्दा ब्यस्त मोडलमा पर्छन्। उनले अभिनय गरेका म्यूजिक भिडियोले युट्युबको ट्रेन्डिङ कब्जा जमाइरहेका हुन्छन्।  

म्यूजिक भिडियोमा अभिनय गर्दै गर्दा चलचित्र निर्देशक विकाश आचार्यको नजरमा परे पल। आचार्यद्धारा निर्देशित चलचित्र ‘नाइँ नभन्नुल ४’ मार्फत ठूलो पर्दामा डेब्यू भयो उनको। त्यसयता उनले जोनी जेन्टलमेन, सत्रुगते, म यस्तो गीत गाउँछु, वीरविक्रम २ लगायतका चलचित्रमा काम गरे। उनलाई ठूलो पर्दामा पनि दर्शकले रुचाए। 

पललाई पहिलो पटक अभिनयमा पत्याउने निर्देशक हुन विज्ञान राई। राईले ‘तिम्रै यादमा’ बोलको म्यूजिक भिडियोमा पहिलो पटक पललाई अभिनयका लागि अफर गरेका थिए। त्यसयता उनले पछाडी फर्किएर हेर्नु परेको छैन्। 

पछिल्लो समय लगातार हिट गीतमा अभिनय गरेका पल युवा पुस्तामा निक्कै लोकप्रिय छन्। थुप्रै फ्यान कमाएका उनी आफैं पनि आफ्नो ठूलो फ्यान हुन्। भन्छन्, ‘म सबैभन्दा ठूलो फ्यान पल शाहकै हुँ’।

सबैको रोजाइमा परेका तन्नेरी अभिनेता पल शाह युवतीहरुका नजरमा झन बढी पर्छन्। उनलाई फलो गर्ने केटीहरु थुप्रै छन्। ती थुप्रैबाट उनले विशेष छान्न भने भ्याएका छैनन्। पललाई भविष्य सोचेर प्रस्ताव राख्नेहरु धेरै छन्। तर, विवाहअघि पलको आफ्नै सपना छ। उनी बिहेअघि घर बनाउँन चाहान्छन्। 

सामाजिक कार्यमा पनि सक्रिय पल अहिले दैनिक एक म्यूजिक भिडियोमा काम गरिरहेका छन्। उनलाई धेरैले म्यूजिक सेलेक्ट नगरी जस्तो पायो त्यस्तै भिडियोमा काम गरेको भन्दै गाली गर्छन्। तर, पाएका सबै काम गर्नुका पछाडि पलको आफ्नै सपना छ। उनले त्यो सपना घर हो।

एक समय अभिनेत्री आँचल शर्मासँग नाम जोडिने पलको अहिले मोडल गरिमा शर्मासँग जोडिएको छ। उनीहरुको प्रेमको चर्चा राम्रैसँग चलेको छ। पल भने आफूहरु प्रेममा नरहेको बताउँछन्। भन्छन्, ‘हामी एक अर्कालाई सम्मान गर्छौँ। कामको कमेस्ट्री मिल्दा दर्शकले मन पराउनु स्वभाविक हो’। 
 

  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार १३:११:२४,   अन्तिम अपडेट : चैत २०, २०७७ शुक्रबार १३:११:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया