कांग्रेस बैठक : सरकारको नेतृत्व एजेन्डा, महाधिवेशन कार्यतालिका हेरफेर हुँदै
पौडेल पक्षले ओलीलाई हटाउनेबारे कुरा उठाउने

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको कार्यपालिका हेरफेर तयारी गरेको छ। आगामी भदौ पहिलो साता गर्ने भनिएको कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका क्रियाशील सदस्यताका कारण हेरफेर हुने भएको हो। 

क्रियाशील सदस्यता विवरण केन्द्रमा बुझाइसक्नु पर्ने अन्तिम मिति १० चैतका लागि निर्धारित थियो। तर उक्त मितिमा त्यो सम्भव नभएपछि कांग्रेसले कार्यपालिका हेरफेर गर्न लागेको हो । त्यसका लागि आज २ बजेदेखि कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ।

बैठकमा कार्यपालिका हेरफेर सम्बन्धी प्रस्ताव महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा पेस गर्दैछन् । हालसम्म कांग्रेसले ६८ जिल्लाबाट करिब पाँच लाख नयाँ र पुराना सदस्यहरूको विवरण अनलाइन प्रणालीमा इन्ट्री गरेको छ। अझै नौ जिल्लाबाट सदस्यता विवरण आउन बाँकी रहेको कांग्रेसले जनाएको छ। 

बैठकमा अन्य पार्टीबाट आएका नेता कार्यकर्ताको समायोजन पनि एजेन्डा बनेको छ। त्यसबारेको प्रस्ताव उपसभापति विमलेन्द्र निधिले बैठकमा पेस गर्ने कार्यतालिका छ। बैठकमा नयाँ सरकार निर्माणबारे पनि छलफल हुने योजना छ। 

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न कांग्रेस तयार हुनु पर्ने अडानसहित वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले कुरा उठाउने तयारी गरेका छन्। कांग्रेसबाहेक अन्य दलको नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार हुनुपर्ने गरी बैठकमा कुरा उठाउने योजना पौडेल समूहको छ। 

अन्य दल तयार नभए सभापति देउवा सरकारमा जान नमाने कांग्रेसबाट नै अर्को अनुहारलाई अघि सार्ने प्रस्ताव पौडेल समूहले गर्ने भएको छ। कांग्रेस सभापति देउवाले माओवादीले सरकारको समर्थन फिर्ता नगरेको र जनता समाजवादी पार्टीले पनि निर्णय नगरेकाले सरकारको गठबन्धनबारे निर्णय गर्न मानेका छैनन्।





  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार १४:३९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया