कोरोनाको दोस्रो लहर, सरकार कत्तिको तयार !

कोरोना भाइरसको उत्परिवर्तित ((म्युटेन्ट) स्वरूपले फेरि विश्व आक्रान्त बनाइरहेको छ । विश्वका विभिन्न मुलुकहरू जस्तै, ब्राजिल तथा फ्रान्समा पुनः लकडाउनको घोषणा भएको छ । छिमेकी मुलुक भारतमा पनि कोरोनाको दोस्रो लहरले दिनप्रति दिन नयाँ रेकर्ड बनाउँदै गएको छ । यसका क्रममा नेपालमा पनि यसको असर देखिन थालेको छ ।

स्वास्थ्य मन्त्रालयले दश दिन अघिबाट नै स्वास्थ्य सतर्कतालाई पुनः जोड दिन थालेको छ । नेपालमा भारतसँगको खुला सिमानाका कारण जोखिम बढ्न सक्ने भएकाले सरकार यो विषयमा तयार रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

कस्तो छ, सरकारको तयारी ?

‘कोरोनाको दोस्रो लहर नेपाल प्रवेश गर्नु अघि नै हामी तयारी अवस्थामा छौं । यसले अघिल्लो पटक जस्तो महामारीको रूप लिन पाउँदैन ।’ यसका लागि नेपाल सरकारले भारतसँगका नाकाहरूमा स्वास्थ्य परीक्षणलाई तीव्रता दिएको गौतमले जानकारी दिए । भारतबाट नेपाल आउने नाकाहरूमा स्वास्थ्य परीक्षण र क्वारेन्टाइनको व्यवस्था गरिसकेको उनले बताएका छन् ।

शुक्रराज ट्रपिकल अस्पताल डाक्टर तथा वरिष्ठ सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन पनि टेक्निकल तर्फबाट आफूहरू तयार रहेको बताउँछन् ।

नेपालमा रहेका अस्पतालहरूको क्षमता पहिलो चरणको कोरोनाको तयारीमा जुन अवस्थामा थिए त्यही अवस्थामा रहेको उनले जानकारी दिए । ‘पहिलो चरणका भ्यान्टिलेटर र उपचार सामग्री तयार नै छन् । अहिलेको अवस्थामा अस्पताल तथा स्वास्थ्यकर्मीहरू रिल्याक्स नै छन् । सञ्चार माध्यमहरूले सचेत गराइरहेका छन् । 



त्यसतर्फ सबैको ध्यानाकषर्ण भएमा रोग नियन्त्रण सहज हुनेछ ।’

नेपालका अस्पतालहरूमा एकैपटक धेरैको संख्यामा संक्रमित फेला परेमा अस्पतालहरूलाई धान्न मुस्किल हुने कुरामा उनले जोड दिए । ‘हामीसँग सीमित स्रोत साधनहरू छन् जसले गर्दा ठूलो मात्रामा बिरामी धान्ने क्षमता छैन ।’



यदि नेपालमा यो लहर पुनः फैलिएमा पहिलेको तुलनामा मृत्यु हुनेको संख्यामा वृद्धि हुन सक्ने उनले बताएका छन् । ‘यदि दोस्रो लहर फैलिएमा हामीले सोचेको भन्दा धेरै संख्यामा मानिसहरूको मृत्यु हुन सक्छ ।’

दोस्रो लहरका लागि कोरोनाको खोप कत्तिको प्रभावकारी ?

डाक्टर शेरबहादुर पुनका अनुसार अहिलेको कोरोनाको खोप विश्व स्वास्थ्य संगठनले नै प्रयोग अनुमति दिएकाले प्रभावकारी छ । खोप लगाइ सकेपछि पनि स्वास्थ्य सर्तकता भने उत्तिकै अपरिहार्य रहेको उनी बताउँछन् ।

‘कोरोनाको खोप प्रभावकारी र सन्तोषजनक नै हो । त्यो भन्दै गर्दा यो खोप शतप्रतिशत भने होइन रोग प्रतिरक्षा क्षमता कम भएका व्यक्तिहरूले भने सावधानी अपनाउनु पर्छ ।’

खोप लगाइसकेको छ, अब केही हुँदैन भनेर जथाभावी हुलमुलमा हिँड्ने स्वास्थ्य सावधानी नअपनाउने हो भने समस्या निम्तिने उनले बताए ।

‘कोरोना पूरै हराइसकेको होइन शिथिल भएको हो’

उनका अनुसार हाल पिसिआर टेस्ट तथा जाँचहरू कम भएको छ । जस अनुरूप संक्रमितको संख्या पनि कम छ । ‘अहिले लक्षण देखिएकाहरूलाई मात्रै परीक्षण गरिन्छ । त्यसैले त्यति धेरै मात्रामा संक्रमित देखिएका छैनन् ।’

आगामी दिनमा यो बढ्ने सम्भावना रहेकाले सबैले आफ्नो क्षेत्रबाट सर्तकता अपनाउन समेत उनले अनुरोध गरेका छन् ।  उनले भने, ‘कोरोना सरुवा रोग हो, यसलाई नियन्त्रण गर्न व्यक्तिगत तहबाट नै सबैले स्वास्थ्य सावधानी अपनाउनु पर्छ ।’ 

सरकारका प्रयासहरूमा पनि समीक्षा गरी के कस्ता कमी कमजोरी भएका थिए त्यसलाई कसरी सुधार गर्ने भन्ने तर्फ सचेत रहनुपर्नेमा उनले जोड दिएका छन् ।
यसै क्रममा काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत कालीप्रसाद पराजुली दोस्रो लहरको कोरोना संक्रमणका लागि आफूहरू विशेष सावधानीका साथ तयार रहेको बताउँछन् । काठमाडौं महानगरपालिकाले संक्रमण बढ्न नदिन सचेतना सम्बन्धित कार्यक्रम चलाउन थालेको उनले जानकारी दिए ।

सार्वजनिक स्थलमा अनिवार्य रूपमा मास्क लगाए नलगाएको निगरानी बढाउने तथा सम्पूर्ण स्वास्थ्य सावधानीका उपाय अपनाउन पनि महानगरपालिका विशेष सावधान रहेको उनले जनाएका छन् ।

भौतिक दूरी कायम गरी आफ्नो दैनिक कार्य सञ्चालन गर्ने, भिडभाड युक्त क्षेत्रमा कम गई आफू सुरक्षित रही अरूलाई पनि सुरक्षित राख्न उनले अनुरोध गरे ।
यसै सन्दर्भमा सम्पूर्ण तहका पदाधिकारीहरूले कोरोना फेरि फैलिन नदिन सबैले आफ्नो व्यक्तिगत तर्फबाट स्वास्थ्य सावधानी तथा सरकारी निर्देशनको पालना गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार १८:०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया