ओलीविरुद्ध मानहानी मुद्दा लिएर अदालत जाने नेपाल समूहको तयारी

काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूहले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालत जाने तयारी गरेको छ। सर्वोच्च अदालतको फैसला अनुसार एमालेलाई २०७५ जेठ २ को अवस्थामा नलगी धमाधम कारबाहीसहितका निर्णय गर्न थालेपछि नेपाल समूह अदालत जाने तयारीमा लागेको हो।

आज बसेको स्थायी कमिटी बैठकमा सर्वोच्चको फागुन २३ को फैसलाको पालना नगरी अघि बढेपछि नेपाल समूह ओलीविरुद्ध मानहानीको मुद्दा लिएर जाने तयारीमा जुटेको हो।

शुक्रबार बसेको स्थायी कमिटी बैठकमा पनि यसबारे छलफल भएको नेताहरुले बताएका छन्। ओलीले फागुन २३ मा एमाले फर्किएपछि फागुन २८ मा केन्द्रीय कमिटी बैठक डाकेर नवौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष र महासचिवबाहेकका पदाधिकारी हटाएका थिए। त्यस्तै उनले सातै प्रदेशका इन्चार्ज फेरेका थिए भने माओवादीबाट आएका २३ जनालाई केन्द्रीय कमिटीमा ल्याएका थिए। 

तर माधव नेपाल पक्षले भने सर्वोच्चको फैसला अनुसार एमाले फर्किएर २०७५ जेठ २ मा पुगेको भन्दै त्यहीँबाट पार्टीलाई अघि बढाउने गरी केन्द्रीय कमिटी बैठक डाक्न माग गरेका थिए। 

तर ओलीले फागुन २८ र चैत ७ गते केन्द्रीय कमिटी र संसदीय दलका बैठक राखेर नेपाल पक्षका नेताहरूमाथि कारवाही थालेका थिए। उनले ८ चैतमा स्पष्टीकरण सोधिएका माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि निलम्बन गरिसकेका छन्। 

त्यसपछि नेपाल समूह ओलीविरुद्ध आक्रमक देखिएको छ। यो समूहले भातृ संगठनका समानान्तर कमिटी बनाइसकेको छ भने जिल्लामा पनि समानान्तर कमिटी निर्माणलाई तीव्र पारेको छ।



एमालेमा १५ वर्षसम्म पार्टीको नेतृत्व गरेका नेपालसहितका अन्य नेताहरुलाई निलम्बन गरिएपछि ओलीविरुद्ध अवहेलना मुद्दा दायर सर्वोच्च जाने तयारी गरिएको एक नेताले जानकारी दिए।

शुक्रबारको स्थायी समिति बैठकमा सहभागी ती नेताका अनुसार अवहेलना मुद्दा दायर गर्न अदालत जाने या नजाने विषयमा दुवै थरी मत नेताहरुले राखेका थिए। 'अदालत जाने विषयमा दुवै खालका कुराकानी बैठकमा भएका छन्', ती नेताले भने, 'बैठकले यही मितिमा अदालत जाने भन्ने टुंगो गरिसकेको छैन।'



ओलीले एकपछि अर्को कारबाहीसहितका एकपक्षीय निर्णय गरेपछि चिढिएको नेपाल समूहले अदालत जाने आन्तरिक तयारी गरेको हो । नेपाल समूहले समानान्तर कमिटी विस्तारको कामलाई पनि तीव्र पार्ने भएको छ।

  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार २०:३७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया