प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केपी शर्मा ओलीलाई बिदा गरेर सरकारको नेतृत्व लिन तयार भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा बसेको केन्द्रीय कमिटी बैठकले उक्त निर्णय लिएको हो।
कांग्रेसको बैठकले अब ओलीलाई बिदा गर्ने बेला भएको भन्दै वैकल्पिक सरकारको नेतृत्व आफैं गर्ने पनि निर्णय लिएको छ। बैठकबाट कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई संयुक्त सरकारमा जान आवश्यक निर्णयसहित आउन पनि भनेको छ।
'सरकारमा जाने कुरामा अब कांग्रेसले समय परिपक्व भएको ठहर गरेको छ। त्यसका लागि माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई तयार हुन भनिएको छ', शर्माले भने, 'कांग्रेस ओलीलाई विदा गर्न तयार भएको छ तर त्यसका लागि अन्य शक्तिहरु (माओवादी र जसपा) लाई आवश्यक निर्णयसहित आउन आग्रह गर्ने निर्णय गरेका छौँ।'
कांग्रेसले ओलीलाई बिदा गर्नका लागि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताउँदै आएको छ। अर्कातिर जसपालाई सबै सांसदहरुसहितको निर्णय लिएर आएमा संयुक्त सरकार निर्माणमा जान सकिने बताउँदै आएको छ।
तर माओवादी केन्द्रले अझैसम्म ओली सरकारबाट समर्थन फिर्ता लिन सकेको छैन। उसले सरकारलाई समर्थन नरहे पनि प्राविधिक कारणले चिठी मात्रै पठाउन नसकेको बताउँदै आएको छ।
अर्कातिर जसपा अध्यक्ष महन्थ ठाकुर बहुमत सांसदसहित ओली सरकारमा जाने तयारीमा छन्। तर त्यहीँ बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओलीलाई सरकारबाट बिदा गर्ने योजनामा छन्। तर उनीहरुको पक्षमा जसपा भित्र बहुमत छैन।
कांग्रेसको यो आग्रहपछि माओवादीले ओलीलाई दिएको समर्थन फिर्ता गर्ने अवस्था बनेको छ। तर जसपामा देखिएको विभाजनले कांग्रेस र माओवादीले मात्रै सरकार बनाउन सक्ने अवस्था छैन। उता ओलीले आफ्नो सरकार जोगाउन जसपाका २० जना सांसदको साथ लिए पुग्ने अवस्था छ।
'कांग्रेसले राजीनामा मागिसकेपछि कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने छ', कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, 'असंवैधानिक र जनविरोधी कदम चालेर द्वन्द्वमा केन्द्रित प्रधानमन्त्रीले नैतिक रुपमा शासन त्यागेर विकल्प दिनुपर्थ्यो दिएनन्। आजको बैठकले कांग्रेस नेतृत्वमा सरकार बनाउने पहल गर्ने छ। अब यो सरकार विस्थापित गर्नुपर्छ भन्ने दलहरुले एक ठाउँमा उभिएर विकल्पतर्फ लाग्नुपर्छ। त्यसैले उनीहरु अब निर्णयसहित आउन्, कांग्रेसले नेतृत्व गर्नेछ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।