माओवादी केन्द्रले गर्‍यो रेग्मीलाई कारबाही, सांसद पद जाने
फरकधार / २१ चैत, २०७७
माओवादी केन्द्र संसदीय दलको बैठकका निर्णयहरू सार्वजनिक गर्दै प्रमुख सचेतक सीता नेपाली । तस्बिर : वसन्त भण्डारी/फरकधार ।

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सांसद धर्मराज रेग्मीलाई कारबाही गरेको छ । माओवादीबाट एमाले प्रवेश गरेका रेग्मीलाई कारबाही गरेको घोषणा शनिबार गरिएको हो ।

कर्णाली प्रदेश माओवादी केन्द्र संसदीय दलको बैठकका निर्णयहरू सुनाउँदै प्रमुख सचेतक सीता नेपालीले सांसद रेग्मीको पद समेत नरहने गरी कारबाही गरिएको बताइन् ।

‘पार्टी प्रवेशको विषयलाई लिएर माओवादी केन्द्रको केन्द्रीय समितिले सांसद रेग्मीलाई स्पष्टीकरण सोधेको थियो,’ उनले भनिन्, ‘सांसद रेग्मीले स्पष्टीकरणको कुनै वास्ता नगरेपछि केन्द्रीय समितिले नै सांसद रेग्मीलाई कारबाही गरेको हो । कारबाही गरिएको कुरा हामीले प्रदेश सभालाई शुक्रबार नै पत्र बुझाइसकेका छौँ ।’

माओवादी केन्द्रबाट आफ्नो राजनीतिक सुरु गरेका रेग्मी नेकपा विभाजन हुँदा ओली पक्षमा लागेका थिए । हाल उनी नेकपा एमाले कर्णाली प्रदेश समितिका सचिव छन् । योसँगै कर्णाली प्रदेशसभा सदस्यको एक संख्या रिक्त भएको छ । बैठकले प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिमा माओवादीका तर्फबाट रहेका रेग्मीको ठाउँमा सांसद रातोकामीलाई पठाउने निर्णय समेत गरेको छ ।

फरक प्रसंगमा सचेतक नेपालीले प्रदेश सरकार अहिले पनि बहुमतमा भएकाले विश्वासको मत लिनुपर्ने आवश्यकता नरहेको बताइन् । 

‘एमालेको एक पक्षले समर्थन फिर्ता लिएको बताए पनि सोही पार्टीका मन्त्रीहरूले हामीलाई समर्थन गर्नु भएको छ’, उनले भनिन्, ‘यस्तो अवस्थामा चैत्र ४ गतेको निर्णयलाई आधिकारिक मान्न सकिँदैन । जबसम्म एमालेका मन्त्रीहरूको राजीनामा आउँदैन तबसम्म हाम्रो सरकार पूर्ण रूपमा बहुमतमा चल्छ ।’

यसअघि एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । एमालेका सभामुखसहित २० जना सांसदमध्ये १० जनाको सहभागिता रहेको थियो । बैठकको निर्णय एमालेको माधव नेपाल पक्षले नमानेपछि प्रदेश सरकार स्थिर अवस्थामा रहेको छ । यस्तै एमाले संसदीय दलको बैठक आइतबार बस्दै छ ।

माओवादी केन्द्रको कारबाहीमा परेका सांसद धर्मराज रेग्मी ।

  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १७:५८:५७,   अन्तिम अपडेट : चैत २१, २०७७ शनिबार १८:१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया