यसरी जन्मियो संस्कृतमा फूलबुट्टे सारी

नेपालको सांगीतिक क्षेत्रमा अहिले फूलबुट्टे सारी, सपक्कै पारी.. गीतको निकै चर्चा छ । राजन राज सिवाकोटीको शब्द र संगीत रहेको यस गीतका वास्तविक गायक मार्मिक लामा हुन् ।  

करिब ३ महिना अगाडि युट्युबमा अपलोड भएको यो गीत अहिले धेरै गायक गायिकाको भर्जनमा सुन्न सकिन्छ । 

यसको असली गायक को हो भन्नेमै दर्शक अन्योलमा पर्ने अवस्था आएको छ । नेपाली मात्रै नभएर विदेशी गायक गायिकाले पनि यो गीत गाएर नेपालीमाझ चर्चा कमाएका छन् । युगान्डाकी गायिकादेखि पञ्जाबी गायकसम्मले फूलबुट्टे सारी गाइसकेका छन् । यसैबीच यस गीतलाई संस्कृत भाषामा अनुवाद गरेर पनि सोही लयमा गाइएको छ । 

फूलबुट्टे सारीको संस्कृत भर्जन शुक्रबार मात्रै युट्युबमा अपलोड भएको छ । केएन स्वामी नामको युट्युब च्यानलबाट भिडियोसहित संस्कृत भाषामा गाइएको फूलबुट्टे सारी ४३ हजारभन्दा बढीले हेरिसकेका छन् ।

यस गीतलाई संस्कृत भाषामा स्वामी केशवानन्दको टिमले निकालेको हो । उनीसहित ३ जना मिलेर फूलबुट्टे सारीको संस्कृत भर्जन निकालेका हुन् । यो बनाउन करिब ३ दिनको समय खर्चिएको स्वामीले फरकधारलाई जानकारी दिए ।  

रेकर्डिङ स्टुडियो चलाउने सूर्यमणि जमरकट्टेलले यो अवधारणा उनलाई सुनाएका थिए । 



यो गीत निकै चर्चित भइरहेको स्वामीलाई पनि जानकारी थियो ।

‘नेपाली माझ यो गीत निकै चर्चित भयो, पशुपति आएर धेरैले टिकटक बनाएको देखेँ,  केटाकेटीहरू धेरै यसमै रमेको, भुलेको देखेँ’, उनले भने ।



विभिन्न देशका गायकले गाएर चर्चा पाइसकेको यो गीतलाई संस्कृतमा ढाल्न पाए भारत लगायत विश्वका विभिन्न भागमा रहेका संस्कृत भाषीसम्म पुर्‍याउन सकिन्छ भन्ने लाग्यो उनलाई । चर्चित गीतबाट संस्कृतको ब्रान्डिङ पनि हुन्छ हुने आँकलन गरे ।

त्यसपछि आफ्नै विद्यार्थी जागरण घिमिरेलाई गाउन लगाए । घिमिरे सिकारु गायक हुन् । भिडियो निर्माण र सम्पादन सूर्यमणिले गरे ।

संस्कृत भाषामा शब्दको भाव र लय नबिगारी अनुवाद गरिएको उनले बताए । ‘यो गीतबाट हामीले संस्कृतको यो विशेषता पनि देखाउन खोजेका हौँ कि, संस्कृतमा अनुवाद गर्दा जस्तोसुकै गीतको पनि लय जस्ताको तस्तै समाउन सकिन्छ’, उनले भने । अर्को भाषामा अनुवाद गरेर त्यही लय र संगीतमा गाउँदा पनि राम्रो गीत बनेको स्वामी बताउँछन्  ।

संस्कृतमै पीएचडी गरिसकेका स्वामी नेपालकै केही गुरुकुलहरूमा पढाउँछन् । विदेशमा रहेकालाई पनि अनलाइनबाट संस्कृत भाषा पढाउने गरेको उनले सुनाए । 

संस्कृत भाषाको शब्द कोष बनाएका स्वामीले संस्कृत–नेपाली, संस्कृत–हिन्दी र संस्कृत–अंग्रेजीको शब्दकोष पनि बनाएका छन् । 

धादिङको कल्लेरीमा जन्मिएका अश्विनी कुमार खतिवडा सन्यास ग्रहणपछि स्वामी केशवानन्दका नामले परिचित छन् । उनी हाल पशुपतिको शंकराचार्य मठमा बस्छन् ।

  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १९:५९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया