सेयर बजारमा नयाँ रेकर्ड, नेप्से अहिलेसम्मकै उच्च बिन्दुमा

सेयर बजारमा आइतबार नयाँ रेकर्ड कायम भएको छ । यस अघिको उच्चतम बिन्दु २६४० को रेकर्ड तोड्दै नेप्से सूचक २६५० भन्दा माथि पुगेको छ।

२०७३ साउनमा कायम भएको १८८१ बिन्दुको रेकर्ड ब्रेक गर्दै नेप्से गत मंसिर ११ गते १८९३ विन्दुमा पुगेको थियो ।

त्यसपछि निरन्तर उकालो लागेको बजार फागुन ९ गते २६४० बिन्दु सम्म पुगेको थियो । त्यसपछि बजारमा आएको करेक्सनले मध्य चैतमा बजार २३९० बिन्दुसम्म झरेको थियो ।

यस अघिको सर्वाधिक उचाइको तोड्न करिब पाँच वर्ष लागेकोमा अहिले भने बजारले डेढ महिनामै नयाँ रेकर्ड बनाएको हो।

बजार बढेसँगै कारोबार रकम पनि बढेको छ । गत बिहीबार सात अर्ब रुपैयाँ पुगेको कारोबार रकम आइतबार नौ अर्ब रुपैयाँ पुगेको छ।

तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुने मिति नजिकिएसँगै लगानीकर्ताहरु पुनः बजार प्रवेश गरेकाले बजारमा कारोबार रकमसमेत बढेको हो ।



‘आजको बजार भने बिमा कम्पनीको पुँजी वृद्धिको कुरा आएर बढेको हो । निर्जीवन/जीवन सबै बिमा कम्पनीको पुँजी वृद्धिको कुरा आएको छ,’ नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले भने, ‘तर आगामी दिनमा पनि बजारलाई असर गर्ने कुनै पनि कुरा नदेखिएकाले लगानीकर्ता आत्मविश्वासी छन् । आगामी असारसम्म बजारले नयाँ नयाँ रेकर्ड बनाउँछ ।’

वैशाखपछि दैनिक १५ देखि २० अर्ब रुपैयाँसम्मको सेयर किनबेच हुन सक्ने पनि रौनियारको दाबी छ ।



सेयर बजार विश्लेषक विष्णुप्रसाद बस्याल भने बजारमा ठूलो करेक्सन नआएर बढेको बढ्यै भएकाले कुनै पनि बेला बजारमा २० प्रतिशतसम्मको करेक्सन आउन सक्ने बताउँछन् । कुनै कम्पनीको मूल्य हल्लाको पछि लागेर बढेको छ । हल्लाकै पछि लाग्ने लगानीकर्ताका कारण बजार क्र्यास हुने सम्भावना पनि उत्तिकै रहेको बस्यालको तर्क छ।

बजार विश्लेषक अनलराज भट्टराई भने बजारको गति नियमित नै रहेको दाबी गर्छन् । 'हो कुनै कुनै कम्पनीको मूल्य अस्वाभाविक रुपमा बढेको देखिन्छ । हल्लाको पछि लागेर नभई कम्पनीको राम्रा नराम्रा पक्ष हेरेर लगानी गर्दा बुलिस ट्रेन्डमा फाइदा लिन सकिन्छ,' उनले भने। 

बजार बढेका बेला छोटो समयका लागि लगानी गर्ने र नाफा खाने सोच राख्नेहरुले बजार तल माथि हुँदा घाटा खान सक्छन् । तर २/४ वर्षका लागि कसैले मार्केटमा लगानी गर्छु भन्यो भने उसले घाटा खानु नपर्ने भट्टराईको दाबी छ।

आइतबार २१२ कम्पनीको १ करोड ८१ लाख कित्ता सेयर ९ अर्ब रुपैयाँमा किनबेच भएका छन्।

१२ कम्पनीको मूल्य स्थिर रहँदा ५८ वटा कम्पनीको मूल्य भने घटेको छ । ११० कम्पनीको मूल्य बढ्दा वोमी लघुवित्त, जनरल इन्स्योरेन्स, राधी जलविद्युत, आइएमई जनरल इन्स्योरेन्स, एनआइसी एसिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र साञ्जेन जलविद्युत कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।

साल्ट ट्रेडिङ कम्पनी, एचआइडिसिएल र सपोर्ट लघुवित्तको सेयर मूल्य ४/४ प्रतिशतले घटेको छ।

अधिकांश उपसमूह हरियो भएको बजारमा निर्जीवन बिमा समूहको सूचक सर्वाधिक ५४३ अंकले बढेको छ । जीवन बिमा समूहको सूचक १५५ अंकले बढेको छ। अन्य समूहको सूचक पनि ६९ अंकले बढेको छ।

व्यापार समूहको सूचक २०३ अंकले घट्दा होटल तथा पर्यटन समूहको सूचक ३० अंकले घटेको छ।

निफ्राको सर्वाधिक ४६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । माथिल्लो तामाकोशीको २८ करोड, पुनर्बिमा कम्पनीको १६ करोड, नबिल बैंकको २४ करोड र प्रुडेन्सियल इन्स्योरेन्सको २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

  • प्रकाशित मिति : चैत २२, २०७७ आइतबार १६:९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया