नेपाल समूहको कार्यक्रमस्थलबाट ‘सूर्य’ चिन्ह हराएपछि...
अष्टलक्ष्मी शाक्यको निर्देशनमा राखियो
सूर्य चिन्ह अंकित ब्यानर नदेखेपछि पछाडि हेर्दै नेतृ अष्टलक्ष्मी शाक्य।

काठमाडौं : खारेजीमा परेको नेपाल कम्युनिष्ट पार्टीमा तनाव देखिएपछि विवादको केन्द्रमा परिरह्यो, ‘नेकपा’ नाम र चुनाव चिन्ह ‘सूर्य’ । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि शीर्ष नेताहरुले गर्ने हरेक भाषणमा नेकपा र सूर्य चिन्ह आफूहरुको रहेको दाबी उनीहरुले गरे । 

अरु त अरु पुष्पकमल दाहाल प्रचण्डले समेत हँसिया हथौडा भन्दा सूर्य चिन्हलाई आफ्नो भनेर दाबी गरे। पुस ५ यताका कतिपय सभाहरूमा चुनाव चिन्हसहितको झण्डा राख्न बिर्सिएका कारण आलोचना पनि यिनै नेताले खेपे । कतिपय सभामा राखिएका झण्डाको औचित्य नभएको भन्दै आरोप-प्रत्यारोप सार्वजनिक मञ्चमै भएको देखियो । 

२३ फागुनमा सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र र नेकपा एमालेलाई २ जेठ अघिको पूर्ववत् अवस्थामा पुर्‍याइदियो । त्यसयता, नेताहरुले नेकपा नाम त लगभग भुलिसके । तर, सूर्य चिन्हलाई भने अझै बिर्सन सकेका छैनन् ।

आइतवारको दृश्य 

आइतबार एमालेको माधव नेपाल समूहले राजधानीको बुद्ध नगरस्थित एक पार्टी प्यालेसमा गरेको कार्यक्रममा पनि त्यस्तै दृश्य देखियो । 



पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै काठमाडौं जिल्ला कमिटी घोषणा गर्न आयोजित कार्यक्रम दिउँसो १ बजेका लागि तय भएको थियो । कार्यक्रममा सहभागी हुन पूर्व प्रधानमन्त्री समेत रहेका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि पुगेका थिए । १ बजेका लागि तय भएको कार्यक्रम साढे १ बजे बल्ल सुरु भयो । 



एमालेभित्र बढ्दै गएको आन्तरिक विवादबीच नेपाल समूहले भातृ संगठनदेखि देशभर जिल्ला कमिटी पनि घोषणा गर्ने क्रम जारी छ । संघीय राजधानी काठमाडौंको जिल्ला कमिटी घोषणा सभालाई पनि महत्वका साथ हेरिएको थियो । 

कार्यक्रम सुरु हुनु केही मिनेट अघि नै वरिष्ठ नेता त्यहाँ खनाल पुगिसकेका थिए । हिजो मात्रै राष्ट्रपतिसँग भेटेपछि उनी नेपाल समूहका पनि चासोका केन्द्र भएका थिए। उनी पुगेको करिब १५ मिनेटपछि नेता नेपाल, नेतृ अष्टलक्ष्मी शाक्य, जीवनराम श्रेष्ठ लगायतका नेता कार्यक्रमस्थल छिरे।

कार्यक्रमको बीचमा सूर्य चिन्ह अंकित झण्डा ल्याएर राखिँदै

कार्यक्रमस्थलमा नेताहरु उपस्थित भएपछि नौलो दृश्य देखियो । सूर्य चिन्ह कसको भन्‍ने विवाद अझै पनि एमाले चर्किरहेको छ। यद्यपि सूर्य चिन्ह दाबी गर्ने दुवै समूह अहिले पनि कानुनी रुपमा एमालेमै छन्। 

नेता खनाल र नेपालले नेकपा एमाले आफूहरुले नै जन्माएको दाबी गर्दै आएका छन्। यस्तोमा आइतवार बुद्ध नगरको कार्यक्रमस्थलबाट सूर्य चिन्ह नै गायब थियो। कार्यक्रमस्थलमा कहीँकतै ‘सूर्य’ चिन्ह राखिएको नदेखेपछि त्यहाँ कार्यकर्ताले खैलाबैला सुरु गरे।

कार्यक्रममा उपस्थित धेरैले त्यहाँ सूर्य चिन्हसहितको झण्डा नरहेको कुरालाई त्यति चासो दिएनन्। तर भेला सुरु भएको केही बेरपछि भने नेता-कार्यकर्ताले हलभित्र र बाहिर सूर्य चिन्ह भएको झण्डा नभएको ख्याल गरे।

खोजेर ल्याइयो 

काठमाडौंको जिल्ला भेलामा वरिष्ठ नेता नेपालसँगै उपस्थित नेतृ अष्टलक्ष्मी शाक्यसँग केही नेता कार्यकर्ताले सूर्य चिन्ह गायब भएकोबारे जानकारी गराए । र, त्यसपछि सूर्य चिन्ह अंकित झण्डा बोकेर एकजना कार्यकर्ता मञ्चमा उपस्थित भए । 

ती कार्यकर्ताले नेताहरुलाई भाषण गर्नका लागि बनाइएको ड्यासमा उक्त सूर्य चिन्ह अंकित झण्डा राख्‍न खोजे। त्यहाँ सूर्य अंकित झण्डा राख्‍न नमिलेपछि मञ्चमा बसेका नेताहरुको कुर्सी अगाडिको टेबुलमुनि सूर्य चिन्ह अंकित झण्डा टाँगियो । 

झण्डा टाँगिनुअघि ड्यासमा बसेका नेताहरु पनि खासखुस गरिरहेका थिए।  नेकपा रहँदा पुष्पकमल दाहाल प्रचण्डले पनि सूर्य आफ्नै हुने दाबी गरेका थिए। तर माओवादी केन्द्र फर्किएपछि अब उनको चुनाव चिन्ह हँसिया हथौडा भएको छ। अब एमाले पुनःस्थापित भएको अवस्थामा अहिले ओली र नेपाल दुवैले त्यसमा दाबी गरिरहेका छन्। 

एमाले कानुनी रुपमा फुट्न अनेक जटिलता छन्। तर नेपाल पक्षले देशका करिब दर्जन जिल्लामा समानान्तर कमिटी बनाइसकेको छ। यसअघि नै नेपाल समूहले युवा संघ, अनेरास्ववियु, महिला संघसहितको समानान्तर कमिटी बनाइसकेको छ। 

मञ्चमा नेताहरु बसेको अगाडि टी टेबलमा राखिएको सूर्य चिन्ह अंकित झण्डा

  • प्रकाशित मिति : चैत २२, २०७७ आइतबार २१:५५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया