आइएसएमटी कलेजमा विद्यार्थीले मागे हर्टफोर्डसायरको सम्बन्धन पत्र, प्रशासनले दिन सकेन
फरकधार / २३ चैत, २०७७

नेपालमा बेलायती डिग्री भन्ने स्लोगनका साथ अध्यापन गराइरहेको आइएसएमटी कलेजले भ्रमपूर्ण सूचना दिएर विद्यार्थी भर्ना गर्ने गरेको पुष्टि भएको छ ।

फरकधारमा यसअघि आइएसएमटी कलेजले भ्रमपूर्ण सूचना दिएर विद्यार्थी पढाइरहेको भन्ने समाचार प्रकाशन भएपछि आइएसएमटीका विद्यार्थीहरुले कलेज प्रशासनसँग विदेशी विश्वविद्यालयसँग आइएसएमटीले गरेको सम्बन्धनको सर्टिफिकेट माग गरेका छन् ।

सोमबार बिहान कलेजमा विद्यार्थीहरुले सम्बन्धनको सर्टिफिकेट माग गरे पनि कलेज प्रशासनले सर्टिफिकेट देखाउन सकेको छैन । 

फरकधारको समाचार पढेर सम्पर्कमा आएका एक विद्यार्थी भन्छन्, ‘हामीलाई सुरुमा भर्ना लिँदा कलेजले हर्टफोर्डसायर विश्वविद्यालयको सर्टिफिकेट छ भनेको थियो । तर, आज हामीले माग्दा उनीहरुले छैन भने । हामी ठूलो अन्योलमा परेका छौँ ।’

ती विद्यार्थीका अनुसार आइएसएमटी कलेजले अहिले आफूहरुले सन्डरल्यान्ड विश्वविद्यालयसँग सम्बन्धन लिने प्रक्रिया अगाडि बढेको बताएको छ । ‘हामीलाई यस विषयमा पनि अब विश्वास भएको छैन,’ आइएसएमटीमा पहिलो वर्षमा अध्ययनरत ती विद्यार्थीले भने, ‘हामीले आज कलेजमा प्रमुखसँग पनि भेट्न पाएनौँ । हामीसँग भर्नाको समयमा नै आइएसएमटीले ठूलो रकम लिइसकेको छ, यतिका समय बितिसकेको छ । यसले हामीलाई थप समस्यामा पार्ने भएको छ ।’

यस वर्ष पनि भर्ना लिनका लागि आइएसएमटीले आफूहरु हर्टफोर्डसायरको सम्बन्धनमा अगाडि बढेको बताउने गरेको थियो । 

त्यस्तै उसले विद्यार्थीहरुलाई आफूले पढाउने डिग्रीको विषयमा पनि झुट बोल्ने गरेको पाइएको छ । 

‘यो कोर्स खासमा ब्याचलर्स लेभलको कोर्स होइन रहेछ,’ ती विद्यार्थीले भने, ‘हाइयर नेसनल डिप्लोमा रहेछ । तर, हामीलाई सुरुमा परामर्श गर्दा यसरी भन्ने गरिएको थिएन । फरकधारको समाचार पढेपछि हामीले आज सोधखोज गर्दा बल्ल यसबारे बुझ्ने मौका पायौँ ।’

त्यस्तै, फरकधारको सम्पर्कमा आएका आइएसएमटी कलेजमा दोस्रो वर्ष अर्थात् चौथों सेमेस्टरमा पढिरहेका अर्का एक विद्यार्थीले पनि आफूहरुलाई कलेजले पहिले भ्रममा राखेको बताएका छन् । ‘हामीलाई कलेजले यसरी गलत सूचना दिएर आफूहरु शिक्षाको व्यापार गरिरहेका रहेछन्,’ उनले भने, ‘पछिल्लो समय कलेजले हामीसँग पैसा उठाउन मात्र जोड दिइरहेको छ । यसमा पनि हामी सन्तुष्ट छैनौँ ।’

अर्कोतिर, आइएसएमटीले पछिल्ला दिनमा विद्यार्थी भर्ना लिँदा पनि अनावश्यक प्रलोभन देखाउन थालेको विद्यार्थीहरुले नै गुनासो गर्न थालेका छन् । एक विद्यार्थीका अनुसार आइएसएमटीले अहिले पूरै एक वर्षको वा दुई वर्षको शुल्क तिर्दा विशेष स्कलरसिप रहेको बताउँदै आएको छ ।

‘त्यो त आफ्नो ठाउँमा छ,’ ती विद्यार्थीले भने, ‘तर, अचम्मको कुरा त हामीसँग आइएसएमटीले एउटा कोर्स स्ट्रक्चर र फी स्ट्रक्चर दिएको छ तर हामीसँग पैसा लिँदा पाउण्डको हिसाबमा लिएको हुन्छ ।’ उनका अनुसार पाउन्ड बढेको समयमा आइएसएमटीले त्यही अनुसार विद्यार्थीसँग शुल्क लिने गरेको छ । तर, पाउण्डको भाउ घट्दा आइएसएमटीले बढी मूल्य जसरी पाइन्छ, त्यसलाई आफ्नो आधार बनाउन थालेको छ ।

‘यो त कलेजको मात्र कुरा होइन, हाम्रो भविष्यसँग जोडिएको प्रसंग हो,’ फरकधारको सम्पर्कमा आएका ती विद्यार्थीले भने, ‘हाम्रो भविष्यमाथि खेलवाड गर्ने र हाम्रो समय र पैसाको बर्बादी गर्ने यस्ता कलेजलाई किन शिक्षा मन्त्रालय र अन्य जिम्मेवार निकायले कारवाही गरेका छैनन् ?’

  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार १४:३४:२८,   अन्तिम अपडेट : चैत २७, २०७७ शुक्रबार ७:०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया