सेयर बजारमा एक अंकको नयाँ रेकर्ड, कारोबार रकम भने घट्यो

सेयर बजारमा सोमबार पनि नयाँ रेकर्ड बनेको छ । आइतबार मात्रै नयाँ उचाइमा पुगेको सेयर बजारमा सोमबार १ अंकको वृद्धि भएको हो ।

दिनभर अधिकांश समय रातो देखिएको बजार बन्द हुने समयमा भने एक अंकको वृद्धिसहित २६५८ बिन्दुमा पुगेको हो ।

आज बजारमा निकै उतारचढाव देखिएको थियो । सुरुमा २०/२२ अंकसम्म बढेको बजार केही समयमै १५ अंकसम्म झरेको थियो । त्यसपछि दिनैभरि २/३ अंकसम्म तल र माथि हुँदै गएको बजार एक अंकले बढेर बन्द भएको हो ।

बजार १ अंकले बढे पनि कारोबार रकम भने करिब २ अर्बले घटेको छ । आइतबार नौ अर्बभन्दा माथि पुगेको कारोबार रकम आज सवा सात अर्ब रुपैयाँमा सीमित भएको छ। 

कारोबार रकम घटेसँगै लगानीकर्ता बाहिरिएको आशंका गरिएको छ । आइतबार नौ अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच भएकोमा सोमबार जम्मा सात अर्ब २९ करोड रुपैयाँको मात्रै किनबेच भएको छ। जुन अघिल्लो दिनको तुलनामा पौने दुई अर्ब रुपैयाँ कम हो ।

लामो समय सम्म ५/६ अर्ब रुपैयाँ रहेको कारोबार रकम ३ दिन मात्रै सात अर्ब रुपैयाँ नाघेको थियो । यसले बजार बढेको समयमा यस अघिको सर्वाधिक उचाइमा सेयर किन्नेहरु बजारबाट बाहिरिएका त होइनन् भन्ने लगानीकर्ताको आशंका छ।



सोमबार २०६ कम्पनीका १ करोड ५८ लाख कित्ता सेयर ७ अर्ब २९ करोड रुपैयाँमा किनबेच हुँदा कारोबारमा आएका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ।

१६ कम्पनीको मूल्य स्थिर रहेकोमा ५९ कम्पनीको मूल्य बढेको छ बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।



वोमी लघुवित्त, एनआइसी एसिया लघुवित्त, राधि विद्युत कम्पनी र सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्य करिब १०/१० प्रतिशतले बढेको छ । गुर्खाज फाइनान्स, श्री इनभेस्टमेन्ट र स्वाभिमान लघुवित्तको सेयर मूल्य २/३ प्रतिशतले घटेको छ।

माथिल्लो तामाकोशीको सर्वाधिक ३४ करोड रुपैयाँको सेयर किनबेच हुँदा आइएमई जनरल इन्स्योरेन्सको ३१ करोड, निफ्राको २८ करोड, हिमालयन जनरल इन्स्योरेन्सको २५ करोड र नेपाल टेलिकमको १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

व्यापार समूह १३२ र होटल तथा पर्यटन समूह ११४ अंकले बढ्दा, निर्जीवन बिमा समूह १०६ अंक र जीवन बिमा समूह ३८ अंकले घटेको छ।

अहिलेको सेयर बजारको वृद्धि २०१६ को क्रयासको जस्तै भएको बजार विश्लेषकको भनाइ छ ।

सेयर बजारका प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्याल सन् २०१६ मा नयाँ रेकर्ड बनाएर क्रयास भएको बजारको जस्तै अहिलेको बजार रहेको दाबी गर्छन्।

२०१६ र अहिलेको बजारको वृद्धिदरलाई तुलना गर्दै बस्याल भन्छन्, 'त्यतिबेला पनि हकप्रद सेयरको पछि लाग्दा बजार क्रयास भएको थियो । अहिले पनि लगानीकर्ताहरु हकप्रद सेयरको पछि लागेर महंगो मूल्यमा सेयर किनिरहेका छन् । यसले गर्दा यी दुवै अवस्था उस्ता उस्तै देखिएका छन् । बजार क्रयास हुन्छ नै भन्ने त छैन तर हुँदैन भन्न पनि सकिँदैन ।' 

२०१६ मा नेप्से १८९१ बिन्दुसम्म पुग्दा छोटो समयमै २०/२५ प्रतिशतको वृद्धि भएको थियो । अन्ततः बजारले वृद्धि थेग्न सकेन र निरन्तर ओरालो यात्रा तय गरेको थियो ।

  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार १६:४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया