सपनाको खेती अर्थात् ‘सपनाका अवयव’

राजनीतिक विषयवस्तुलाई उठान गर्दै व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था जस्ताको त्यस्तै रहेको विचार अभिव्यक्त गर्ने सशक्त कवि सुवास खनालका कवितामा हुने खाने वर्गले सदैव हुँदा खाने वर्गलाई पिँधमा पुर्‍याएको यथार्थ चित्रण गरिएको छ । जनताका विवशता, बाध्यता र भोकका सपाट पक्षलाई कवितामा उतार्दै युगीन आवाज बुलन्द पार्न कवि अभ्यस्त छन् ।

उनै कवि सुवास खनाल पिता गोकर्ण खनाल र माता सुशीला खनालको कोखबाट विसं २०४३ मा बकैया–५, पावस मकवानपुरमा जन्मिएका हुन् । कविता लेखनमा २०५७ सालदेखि क्रियाशील उनी साहित्यिक संघसंस्थाको नेतृत्व गर्दै आएका छन् । उनी गजल मञ्च मकवानपुरका संस्थापक सचिव, साहित्य संगम मकवानपुरका पूर्व अध्यक्ष, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका संस्थापक सचिव, प्रलेस नेपालका राष्ट्रिय परिषद् सदस्य समेत रहेका छन् ।

टिम टेलिभिजन हेटौंडाको ‘सिर्जनाको सुसेली’ साहित्यिक कार्यक्रम चलाउँदै आएका खनाल त्रिभुवन मावि हेटौंडाका का मावि स्थायी विज्ञान शिक्षक हुन् । उनको ‘विचारको उल्टो नदी’ (२०७१) यसअघि प्रकाशित कविता कृति हो । 

३३ वटा कविता समावेश गरिएको उनको ‘सपनाका अवयव’ कविता सङ्ग्रह शाब्दिक बुक्स काठमाडौँले २०७७ भदौमा प्रकाशनमा ल्याएको हो । स–साना सपनालाई सङ्गाल्दै जीवनमा खुसी खोज्ने आशावादी तथा प्रगतिशील कवि सुवास खनालका कवितामा खरो वैचारिकता र कविताभित्र दृश्यात्मक जस्ता लाग्ने सुन्दर ग्राम्य जीवनका कथाहरू बुनिएको पाइन्छ । प्रभावशाली कवि सुवास खनालको कविता कृति ‘सपनाका अवयव’ भित्रका कविता पढ्दा भएका स्वअनुभूति यस लेखमा प्रस्तुत भएको छ ।

शासकहरू विलासी जीवनप्रति आकर्षित हुने साथै स्वार्थको साझेदारीमा बेमेल भएपछि सबैलाई आतङ्कवादी देख्ने र विश्वका बलिया मुलुकले कमजोर मुलुकप्रति संशयका दृष्टिले हेर्ने विषयलाई उनले आतङ्कवाद कवितामा प्रस्तुत गरेका छन् । यस सन्दर्भमा कवि भने आतङ्कवादको रेडिमेड परिभाषाप्रति विमति राख्छन्  । कवि चिन्तनको पिनास केवल घात र प्रतिघातको अनौठो शृङ्खला देखा पर्ने भयानक रोग रहेको कुरा व्यक्त गर्छन् । प्रत्येकको अस्तित्वलाई स्वीकार्दै साझा अस्तित्व बनाउन सके प्रत्येक फरक रङहरू सुन्दर इन्द्रेणी बन्न सक्ने कविको ठम्याइ छ । 

जब वजनको वजन खिइन्छ
जब गुणस्तरको विभागले वजनलाई वजन मान्दैन
अनि, यो विक्रय हुन्छ कवाडीको मोलमा
त्यसैले
वजनहरूले आफ्नो वजन सधैँ कायम राख्नुपर्छ ।

(वजनको वजन)



कवि खनालले जीवनको गहिरो सन्देश ‘वजनको वजन’ कवितामार्फत दिएका छन् । अस्तित्व शून्य भएमा या खिएर गएमा वजन कवाडीको मोलमा बिक्री हुने भएकाले मानक मानिएकाहरूले आफ्नो वजनदार जीवन यथावत राख्न सक्नुपर्छ भन्ने उनको अभिव्यक्ति छ ।

भोलिको चिन्तामा कवि छट्पटाएका छन् । भावी पुस्ताले के खालान् भनेर गम्भीर आक्रोश व्यक्त गरिएको छ । देखावटी जीवन शैली बाँच्नका लागि मानिस अभ्यस्त छन् । समाजमा पैसा ठूलो भएको छ । श्रम नगर्ने कमिसनको खेलमा गाँसिएका जमिनहरू प्लटिङ भएर बिक्री हुँदै छ । घरहरू थपेर सहरमा रूपान्तरित हुँदै गर्दा उत्पादन शून्य भएकाले अब भावी दिनमा सहरले ढुङ्गा खानुको विकल्प नभएको व्यङ्ग्य गर्छन् र आजको यथार्थ पनि यही हो । कविताको अंश :



जब सहरले पैसामात्र चिन्छ
र पैसाले मान्छे चिन्दैन
त्यसपछि के खान्छ सहरले ?
– सहरले ढुङ्गा खान्छ ।

(सहरले ढुङ्गा खान्छ)

मस्तिष्कमा उत्पत्ति भएका धमिराहरू मानवीय विकासमा बाधक रहेको कविको ठहर छ । विभिन्न तह र तप्कामा रहेका प्रत्येक व्यक्तिहरूले चुपचाप बिजनेस चलाएर नाफा लिइरहेका छन् । देशका प्रत्येक जिम्मेवार व्यक्तिहरू देशको अधोगति भए पनि आफ्नो स्वार्थमा लिप्त भएको र चुपचाप रहँदै भ्रष्ट व्यवहारमा आकृष्ट भएको यथार्थ कुरालाई कवि खनालले तीखो व्यङ्ग्य गरेका छन् ।

सम्बन्धहरूलाई प्वाल पार्दै घरदेखि सिंहदरबार हुँदै बालुवाटार लगायत चारैतिर घरमारा रुपी सुलसुलेले सबै काम बिगारेको पाइन्छ । छुचुन्द्रा रुपी चरित्रहरू भएका मानिसहरूले अँध्यारोको पक्षमा वकालत गर्ने र  चाप्लुसीको भाषा बोलेर इमान्दार व्यक्तिहरूलाई सताउन अभ्यस्त भएको कुरा कवि व्यक्त गर्छन् । नेपाली समाजको यथार्थ घटनालाई कवितामा उतार्दै पीडाले छटपटिएका ग्रामीण पात्रहरूको कारुणिक अवस्थालाई ‘राहत’ कवितामा उतारिएको छ । कवितांश :

पाडो मर्ने मधु बस्नेत
खेत पुरिने हरि चम्लगाईँ
गोठ लड्ने शेरबहादुर विकलाई
भाग पुग्यो हेलिकप्टर उड्दाको हावा

(राहत)

हृदयलाई चसक्क छोइदिने माथिको कवितांशमा ती पात्रहरूका अपेक्षाकृत आँखाहरू हेलिकप्टर उड्दाको हावाले टालिएका छन् । राहत पाउनेले पनि खासै ठूलो केही पाएनन् र जे पाए ती राहतकर्ताहरूले पाएका छन् । आजको वर्तमान नेपालको परिदृश्य पनि त्यस्तै छ । आआफ्ना तर्कहरूका कारण मान्छेहरू बाँचिरहेका छन् ।

‘लाल बहादुरको किड्नी बिक्रीमा छ’ कविता गहिरो भावबोध भएको र नेपाली समाजको दारुण यथार्थ पस्किने कविता हो । नेपाली समाजको दर्दनाक गरिबी, अभाव र जति श्रम गरे पनि जीवन धान्न नसकेपछि अब एउटा मात्रै किड्नीले बाँच्छु भनेर लालबहादुर किड्नी बेच्ने सुरमा रहेको यो कथाजस्तो लाग्ने कविताले प्रत्येक पाठकलाई रुवाइ दिन्छ ।

देशको राजनीतिक परिवर्तनले जनतामा आशा त देखायो तर राजाको विकल्पमा बिस्तारै हजारौँ राजाहरूको उदय भएपछि व्यवस्था परिवर्तन भए पनि जनताको व्यवस्था फेरिएन । यस्तो गतिविधिले कविको मन टुक्रिएको छ । विचार सदैव जीवित हुने कुरामा कवि जिकिर गर्छन् । हृदयमा सपनाका बीजहरू रोपेर सुनौलो आगत कुर्दै आशावादी बन्न कवि रुचाउँछन् । राराको सौन्दर्यमा डुबेर आनन्दित हुँदै गर्दा राराको मौनता आफैँमा गहिरो प्रश्न रहेको कविको आँकलन छ ।

पुरुष प्रधान समाजमा नारीमाथिको अवहेलना अन्त्य गर्नुपर्छ । जनमानसमा आधा–आधा आकाश मानेर नारी हिंसा भएको हो भन्ने ठम्याइ भएपछि कविले दुवैको आकाश सिङ्गो हुने तर्क गर्दै समसत्ता र सहअस्तित्वको दृष्टिकोण राखेका छन् । औँलाहरूको सम्मिलनबाट जीवनमा नयाँ ऊर्जा मिल्छ भने त्यस्ता व्यक्तिहरूसँग नै हात मिलाउने इच्छामा देखिन्छन् कवि ।

फूर्ति लगाएर, बहानाबाजी गरेर परिवर्तनका नाममा हामीले धेरै समय बर्बादी गरेका छौँ । कविको विचारमा हामीले हामीलाई नै चिन्न र बुझ्न ढिलो भइसकेको अनुमान छ । आम नेपालीका ठूला सपना छैनन् ससाना सपना पनि कसैका ठूलो सपनाले थिचिँदा पीडा हुने भएकाले कवि स–साना सपनामै रमेको भान यसरी व्यक्त गर्दछन् ।

हुर्काउन चाहन्छु म
मेरो स–साना सपना
जहाँ बन्नेछ
युग निर्माणको जग
म एकै पटक
ठूलो सपनाको पहिरोमा थिचिन चाहन्नँ

(सपनाको अवयव)

श्रमिकको रगत र पसिनाले साहुको जीवन मुस्कुराएको यो समयलाई कवि मुर्दावाद भन्छन् । वर्गीय विभेद र श्रमिकको श्रमको मूल्य न्यूनताको विरोध गर्दै शासकले गरिबको पसिनामा होली खेली रमाउन नहुने तर्क कवि गर्छन् । बाल्यकालको स्मृति र गाउँको प्रगतिको सपाट पक्ष ‘बाझो जमिन’ कवितामा प्रष्ट देखिन्छ । यान्त्रिक जीवन बाँचेर सहरमा कवि निस्सासिएका छन् ।

सहरमा दैनिकी गुजार्न झुट, चाप्लुसी र प्रार्थनाहरू अनुहारमा टाँसेर हिँड्नु पर्दाको बाध्यता यिनको कवितामा आएको छ  । बाँझो जमिन उर्वरा भएर पनि श्रमको पर्खाइमा छ भने यता सहरमा श्रम भएर पनि उर्वरा शून्य जीवन बाँच्नु परेको तितो सत्यलाई कवि यसरी प्रष्ट्याउँछन् :

गाउँमा पुर्खाबाट नामसारी हुँदै आएको जमिन 
मेरो नाममा हाँस्छ
ऊ बाँझो हुनुको नियतिमा छ
ऊसँग उर्वरा छ श्रम छैन
म यता छटपटी जस्तो जिन्दगी बाँच्छु
मसँग श्रम छ, उर्वरा छैन ।

(बाँझो जमिन)

प्रत्येक मानिस मात्र होइन  देशका शासकसमेत देशलाई परनिर्भरतातिर धकेलेर आडम्बर देखाइ घमण्ड गर्न तम्सेको देखिन्छ । सौजन्यमा प्राप्त खुसीमा देखिने घमण्डको तुजुक नहुने कुरा कवि व्यक्त गर्दछन् । नदेखिएको अर्थपूर्ण क्षितिज हेर्न चाहने कवि एकढङ्गी यात्राले जीवन सुन्दर नहुने कारण समाजले वर्जित गरेका सपनाहरूको पनि आफ्नै मूल्य रहने तर्क प्रस्तुत गर्छन् ।

भोकाएर युगीन सपना देख्नेहरूको कथालाई कविले कवितामा कोर्छन् । मूक दर्शक भएकाहरू मौन रहन्छन् र सत्यलाई सत्य भन्न नसक्ने यो समाजका सालिकजस्ता चुपचाप बसेका मान्छेदेखि उनलाई झोक चल्छ । महत्त्वाकाङ्क्षी सपना बाँडेर शाषकले जनतालाई झुक्याएकामा कवि चिन्तित छन् । समयको मागसँगै मान्छेले आदर्श एकातिर र व्यवहार अर्कातिर देखाउँदै क्रान्तिकारी बनेको ढोङ रचेकामा कविमा दिग्दारी छाएको छ । एक कवितांश :

पट्याएर बोकेको छ जिब्रो दुईवटा
कुन बेला, कुन निकाल्ने ? प्रष्टता छ उसँग
दाँत दुई किसिमका छन्
कुन् देखाउने, कुनले चपाउने ? प्रष्टता छ उसँग 

(खुङ्खार क्रान्तिकारीको कथा)

कोही आउनुको प्रतीक्षा ऊ नआउन्जेल गरिएको प्रतीक्षा नै प्रिय हुन्छ भन्ने कविको ठम्याइ छ । ओझेलमा परेका, सङ्कटले घेरिएका, समस्याले थिचिएकाको कुनै विषय र प्रसङ्गले पत्रकार तथा मिडियाको ध्यान नखिचेको विवशता कवि गम्भीर भई प्रस्तुत गर्छन् । दूरदराजका समस्याले हामीलाई गाँज्ला कि भन्ने आशङ्का गर्ने शासकहरूले जाजरकोट जस्ताको पीडा सुन्ने फुर्सद नभएको कुरा कविलाई लाग्छ ।

कुनै चिन्ताबिना निदाएका डमीजस्ता मान्छेहरू बेपर्वाह, निर्धक्क आफ्ना अस्तित्व र सपना भुल्छन् तर कवि यो समय निर्धक्क निदाउन सक्दैनन् । ठूलो आशङ्का व्यक्त गर्छन् कि मान्छेको मनबाट देश हराए के होला ? जसरी देशभित्रै मानिसहरू हराएका छन् ।

हरेक व्यक्ति र हरसमय डरको प्रतीक बनेका बेलामा कवि पनि त्रसित बनेको प्रसङ्ग आएको छ ।

समकालीन नेपाली कविता लेखनमा फरक स्वाद पस्केर अलग पहिचान बनाउन कवि सुवास खनाल सफल भएको अनुभूति हुन्छ । कतिपय कविताहरू हृदयस्पर्शी यथार्थ कथाहरूजस्ता लाग्छन् र त्यही कविताका सशक्त पात्रहरूले पाठकको हृदयलाई छोई दिनु कविको शक्ति हो ।

ग्रामीण जीवनशैली र ग्राम्य जीवनप्रतिको मोहमा कवि तानिनुले उनी ग्रामीण प्रेममा चुर्लुम्म डुबेको ठम्याइ हुन्छ । पिँधमा पारिएका, जीवनबाट थाकेका, निराशाले पिल्सिएका, गरिबीले आहत पारिएका, समयको घनचक्करले हिर्काइएका तमाम मानिसहरूको जीवनमा उज्यालो छर्न सक्ने तागत उनका कविताले बोकेको पाइन्छ । यथार्थवादी भाव कवितामा छर्नु र प्रगतिशील धारमा कविता कोर्नुले उनी प्रगतिवादतर्फ उन्मुख भएको बुझ्न सकिन्छ ।

रुटिनमा आधारित जीवनले सहरप्रति वितृष्णा, मानवीयताको ह्रास, सम्बन्धमा आएको खण्डित स्वरुपले उनमा अति चिन्ता देखिन्छ । समग्रमा सपनाका पारखी कविले आशावादी हुन र उज्यालो भविष्यतर्फ आफूलाई डोर्‍याउँदै राजनीतिक लयप्रति सदैव जनतालाई झक्झक्याउन कविताका प्रत्येक भावले पाठकलाई सचेत बन्न प्रेरित गरेको छ ।

सरलजस्ता देखिने तर गम्भीर भाव सम्प्रेषण भएका कविताहरू केही हदसम्म जटिलजस्ता पनि छन् । केही कविताहरू क्लिष्ट देखिनु, व्याकरणीय समस्याहरू पनि कवितामा देखिनु, केही कविता बिम्बका भाषा नभई सोझै अभिव्यक्त भएको लाग्नु उनको कविताको आलोच्य पक्ष हो ।

  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार १६:४३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया