प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिनुपर्ने धारणा राखेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसद कँडेलले भने, ‘संविधानको धारा १ सयको उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्छ ।
नेकपा विभाजन भएको आजै ३० दिन हुँदैछ । म प्रश्न गर्न चाहन्छु । दल विभाजित भयो । एमालेले हिजो समर्थन लिएको होइन । विश्वासको मत लिएको होइन । यो अवस्थामा हामी एमालेलाई चिन्दैनौँ । त्यसकारण विश्वासको मत लिने कि नलिने ? उहाँ पन्छिन पाउनुहुन्न । विश्वासको मत फिर्ता लिए हुन्छ भनेर भन्न पाइन्न ।’
प्रधानमन्त्री ओलीले कुर्सी मोहका कारण आफू सँगैका सहकर्मीलाई पाखा लगाएको र पार्टी एकीकरणलाई असफल पारेको दाबी उनले गरे ।
उनले भने, ‘२०७४ सालको प्रदेश र संघको निर्वाचनका क्रममा तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले गोर्खाको पालुङटारमा आमसभालाई सम्बोधन गर्न जानुभयो । उहाँले व्यक्त गरेका अभिव्यक्तिहरु उहाँकै शब्दमा म भन्न चाहन्छु, म भन्दिन चाहन्छु नेपालको इतिहासमा नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री शेर बहादुर देउवा हो । मिति तोकिदिन पर्छ भने तोकिदिन्छु । २०७४ साल पुस महिनासम्म नेपाली कांग्रेसको प्रधानमन्त्री रहन्छ । र नेपाली कांग्रेसको यस देशमा प्रधानमन्त्री शेरबहादुर देउवा अन्तिम हुन्छन् । नेपाली कांग्रेसका कार्यकर्ता साथीहरुप्रति समवेदना व्यक्त गर्न चाहन्छु भनेर उहाँको अभिव्यक्ति थियो । ...जसरी उहाँले गोर्खामा भन्नुभयो, त्यही शब्दमा भन्ने हो भने यदि स्थिति रह्यो भने सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै रहनेछन् । त्यसपछि अघि बढ्न सक्तैन ।’
प्रधानमन्त्री ओली समुहका सांसद गोकुल बास्कोटा बोलेलगत्तै बोलेका सांसद कँडेलले बास्कोटालाई व्यंग्य गर्दै भने, ‘जस्ता गुरु त्यस्तै चेला म त्यतातिर जान चाहन्नँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।