‘केपी ओली यसैगरी सत्तामा बसिरहे राजतन्त्र फर्काइदिन्छन्'
जेठ २ मा फर्किए कुरो मिल्छ, नत्र पार्टी अलग हुन्छ
फरकधार / २४ चैत, २०७७

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि सम्भावित सत्ता समीकरणलाई लिएर राजनीतिक गर्मी बढ्दो छ। एउटा पंक्ति केपी शर्मा ओली नेतृत्वको सरकार जोगाउने पक्षमा छ भने अर्को पंक्ति कुनै पनि हालतमा उनलाई सत्ताबाट निकाल्ने रणनीतिमा छ। त्यहीकारण राजनीतिक दलहरु दुई कित्तामा विभाजित छन्। सत्ताको बागडोर सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीकै पार्टी विभाजनको मुखमा छ। कानुनतः पार्टी एउटै छ तर व्यवहारत दुई पार्टीको अभ्यास सुरु भइसकेको छ। एमालेको विभाजनतिरको यात्राले राजनीतिक संकट झन् चुल्याएको छ।



२०५४ सालमा विभाजनको पीडा भोगिसकेको एमालेले पाठका रुपमा लिन सकेको छैन। यो पटक विभाजनकारी अभ्यासले एमालेलाई उठ्नै नसक्ने अवस्थामा पुर्‍याउन लागेको विश्लेषण हुन थालेको छ। एकातिर केपी ओली निषेध गरेर अघि बढ्ने अर्कातिर माधव नेपाल समानान्तर अभ्यास गरिरहने। यसले देशकै ठूलो कम्युनिष्ट पार्टीमा इतिहासकै सबैभन्दा ठूलो दुर्घटना निम्तिने पक्का भएको छ। २०७४ सालको जनमतको समेत अपमान हुने गरी एमालेलाई विभाजनतिर लाने कुरामा दुवै समूह उत्तिकै जिम्मेवार रहेको कार्यकर्ताले बताइरहेका छन्। एमाले फुटको संघारमा पुगेको दुई समूहका क्रियाकलापले पुष्टि गरिसकेको छ। कानुनी रुपमा एमाले एकै छ तर व्यवहारमा यो पार्टी माथिदेखि तलसम्म विभाजित भइसकेको छ। यो अवस्थामा एमालेलाई सग्लै बनाइराख्ने विकल्प कति छन्? फुटतर्फ जानुको प्रमुख दोषी को हो? अब मिल्ने सम्भावना सकिएको हुन् त? संवादहीनताको अवस्था कसरी अन्त्य होला? माधव नेपालले एमाले फुटाएर अर्को पार्टी खोल्ने सम्भावना कति? वा प्रचण्डसँगै विलय हुन सक्ने अवस्था छ कि छैन? यी र यस्तै अनेक प्रश्नको उत्तर फरकधारकर्मी रुपक चौलागाईंले नेकपा एमालेका एकजना नेता बेदुराम भुसालसँग खोज्ने प्रयास गरेका छन्। 

२०५४ सालको विभाजनको क्षति अहिलेसम्म भरिन सकेको छैन। तर, पछिल्ला दिनहरुमा तपाईंहरुलाई फेरि पार्टी फुटाउने रहर लागेको देखिँदैछ? एमालेलाई विभाजनको दिशातर्फ लानु भयो नि होइन?

पार्टी फुटाउन रहर गर्ने विषय नै होइन। तर, हाम्रो पार्टीमा एउटा गम्भीर समस्या चाहिँ उत्पन्न भएको छ। खासगरी, नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित कमरेड केपी ओलीले पार्टीलाई जसरी स्वेच्छाचारी शैलीमा चलाउन खोज्नुभयो। त्यसको परिणाम अहिले पार्टीमा विभाजनका रेखा कोरिएका छन्। पार्टी फुट्ने आशंका पैदा भएका छन्। त्यसलाई रोक्न हामी प्रयत्नशील छौं। सकिन्छ कि सकिँदैन हेर्दै जाऊँ। 



यसो भनिरहँदा अदालतले एमालेतिरै मिलाइदिए पनि पछिल्लो समय तपाईँहरू पुष्पकमल दाहाल प्रचण्डसँगै नजिकिएको देखिन्छ नि ? प्रचण्ड र माधव नेपालको निरन्तर भेटले त्यसलाई पुष्टि गरे न र?

यो निराधार आशंका हो। राजनीति गर्ने मान्छे एक आपसमा भेटघाट र कुराकानी गर्छन। यो अस्वभाविक होइन। हामीले पार्टी एकता गरेका थियौं। त्यो एकता गर्दा एमालेको अध्यक्ष केपी शर्मा ओली नै थिए। अरु कोही थिएन। त्यो एकता उहाँले गराउनुभएको हो। 

मैले एकता गरेको भनेर बारम्बार प्रचार गर्नुभएको छ। त्यसकारण, दुई पार्टीको एकता, सामिप्यता सबैको योजनाकार ओली नै हुन्। यद्यपि दुई पार्टीबीच आज मात्रै होइन, माओवादी सशस्त्र संघर्षमा हुँदा पनि एमाले महासचिवको हैसियतले माधवकुमार नेपालले धेरै ठाउँमा पुगेर प्रचण्डलाई भेट्नु भएको थियो। 

देशभित्र र देशबाहिर पनि भेटघाट गरेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पहल गर्ने काम भएको थियो। जसको परिणामस्वरुप नेपालमा शान्ति कायम भएको हो। यो इतिहासको तथ्यलाई अहिले ढाकछोप गर्न खोजिएको छ। 

जब जब संकट आउँछ मुलुकमा, तब नेताहरुबीच भेटघाट हुन्छ। यो अस्वभाविक कुरा हुँदै होइन। यस्तो कुरालाई पनि आफूले गरेका सबै कुराहरु ठीक, अरुले गरेका सबै गलत भनेर दोष थुपार्ने मनोवृत्ति कमरेड केपीले नेतृत्व गर्नुभएको पंक्तिमा छ। त्यो पंक्तिको बर्बराहट मात्रै हो, अरु केही पनि होइन। 

ओलीले नेताहरुलाई कारबाही गरिरहनु भएको छ। उहाँ पेलेरै जाने तपाईंहरु, प्रतिरोध गरिरहने, यसरी त मिलनबिन्दु कसरी भेटिन्छ त? 

त्यसकारणले  त मैले ओलीकै कारण पार्टी विभाजनको अवस्था उत्पन्न भयो भनिरहेको छु। उहाँले पार्टी महाधिवेशनले पारित गरेको नीति मान्नुभएको छैन। महाधिवेशनमा पारित विधि विधान मान्नु भएको छैन। अहिलेको कारबाही अवैध छ।

फागुन २८ गते एउटा गुटको बैठक बसेर जे निर्णय गर्‍यौं भनिएको छ, त्यो सबै पार्टीको विधानसँग मिल्दैन। विधान विपरीत छ। त्यसपछि निर्णयहरु विधानत: बैठक बसेर गरिएको छैन। पार्टीको एउटा गुट बसेर, विधान मिचेर गरिएका निर्णय हुन् ती। त्यसकारण त्यो अमान्य छ, स्वीकार्य छैन। त्यसलाई हामीले मान्छौँ या मान्दैनौँ भन्दा पनि पार्टीको विधानले ती सबै कामलाई स्वीकार्दैन। हामी त्यसलाई अस्वीकार गर्छौं, प्रतिवाद गर्दै अगाडि बढ्छौँ। 

फागुन २३ गते सर्वोच्चले एमाले र माओवादी ब्यूँताउने निर्णय गर्‍यो। त्यसपछि पेरिस डाँडाबाट तपाईंहरु फर्किएर धुम्बाराही वा बालुवाटार जानुपर्दथ्यो होला। तर, होटलतिरै गुट बैठक बस्न थाल्नुभयो। त्यसले त अध्यक्ष ओलीलाई चिढ्यो नि? होइन र?

सबैभन्दा पहिलो कुरा त अध्यक्ष हुँ भन्नेले नै २३ फागुनपछि सके त्यही दिन, नसके भोलिपल्ट केन्द्रीय कमिटी बैठक बोलाउन पथ्र्यो। पार्टीको सचिवालय थियो, पार्टीको स्थायी कमिटी थियो, पोलिटब्युरो थियो। त्यो नबोलाउने काम गरियो। त्यहाँबाट पार्टीमा विभाजन प्रारम्भ भयो। 

जहाँसम्म पेरिस डाँडाको कुरा गर्नुभयो, हामीले पार्टी एकता गरेका थियौं। हामीसँग धुम्बाराही र पेरिसडाँडा दुवै पार्टी कार्यालय थिए। त्यो एमाले वा माओवादीका कार्यालय थिएन। त्यो नेकपाको कार्यालय थियो। ती कार्यालय दुवैलाई केन्द्रीय कार्यालय भनेका थियौं। हाम्रा लेटरप्याडमा दुवै केन्द्रीय कार्यालय हुन भनेका थियौं। त्यसो भएपछि हामी धुम्बाराही र पेरिस डाँडाका कार्यालयमा जान्छौं। 

हामीलाई अदालतले अलग अलग हुने भनिसकेपछि बिदाबारी हुन जहाँसुकै गएर हात मिलाउन सक्छौं नि। पेरिसडाँडा गयौं कि, धुम्बाराही गयौं कि, होटलमा गयौं कि। पार्टी ठूलो भइसकेपछि कार्यालयमा नअटाउने भएकाले होटलमै गरेका हौँ नि। 

फागुन २३ गतेपछि त एकपटक अध्यक्षलाई सम्झाउनुपर्थ्यो होला नि ? 

पहिलो कुरा अध्यक्षले सम्झनुपर्थ्यो। अध्यक्षले हो अगुवाइ गर्ने। अध्यक्षले हो बैठक बोलाउने, अरुले हो र ? नबोलाइएपछि हामीले किन बोलाइएन भनेर चिन्ता जाहेर गरेका हौं। 

उहाँले त पटक पटक केन्द्रीय कमिटी बैठकमा तपाईंहरु आउनु भएन भनिरहनु भएको छ।

केन्द्रीय कमिटीको बैठक बोलाउन पर्‍यो नि। गुटको बैठक बोलाउन अलग्गै त्यसपछि निर्णय गरेर हिँड्ने अनि कोही आउँछ त ? त्यो विधानले नचिनेको केन्द्रीय कमिटीलाई खारेज गरेर बनाइएको आयोजक कमिटीको बैठकमा हामी कसरी जान सक्छौं ? त्यो त विधानले नचिन्ने बैठकमा हामी जाँदैनौं स्पष्ट कुरा यही हो। 

पछिल्लो समय तपाईंहरु केन्द्रदेखि जिल्लासम्म समानान्तर कमिटी अभ्यास गरिरहनुभएको छ। समानान्तर गतिविधि ओलीलाई धम्क्याएको हो वा अन्य पार्टीसँग मिल्न जाने एउटा बिन्दु बनाएको हो ? 

समानान्तर कमिटी हामीले बनाएका छैनौं। हामीले नेकपा एमालेको पुनर्गठन अभियान चलाएका छौं। २०७५ जेठ २ गतेका जुन कमिटी थिए, तिनलाई क्रियाशील बनाउन लागेका हौं। समानान्तर कमिटी बरु केपी ओली नेतृत्वको गुटले नै बनाएको छ। जहाँ उहाँहरुको आफ्नो पुरानो कमिटीको वर्चश्व छैन, ती कमिटीहरूमा उहाँहरुले त्यो काम गरिरहनुभएको छ। 

हामीले प्रष्टसँग भनेका छौं, हामी राष्ट्रिय भेला गरेर अघि बढेका छौं र छलफल गरेका छौं। एमालेलाई पुनर्गठन गरेर अघि बढाउने अभियानमा लागेका छौं। हामीले कुनै समानान्तर कमिटी गठन गर्ने, विभाजन गर्ने लगायतका कुरा हामीले गरेका छैनौं। तर, दुःखका साथ भन्नुपर्ने अवस्था सिर्जना भएको छ, कमरेड केपी ओली गुटले पार्टी विभाजनमा कदम चालिरहेको छ। ती कदम हामीले रोक्न सकेनौँ भने पार्टी विभाजनको दुःखद परिणाम भोग्न बाध्य हुनेछौं। 

पार्टी विभाजन सकेसम्म रोक्छौँ भनेर भनिरहनु भएको छ। तर, नेपालका कम्युनिष्टहरुको इतिहास चाहिँ सत्ता बाहिर हुँदा एक तर सत्तामा पुगेपछि फुट्ने देखिएको छ। पछिल्लो समय नेकपामा पनि त्यही अवस्था थियो। एमालेमा पनि त्यही देखिँदैछ। कम्युनिष्टहरूमा किन यस्तो सत्तालिप्साको रोग देखिएको ? 

इतिहासलाई पुनः दोहोर्‍याएर हेर्नुपर्ने हुन्छ। सत्तामा जान मात्रै एकता गरेको इतिहास छैन। हाम्रो पार्टीको तेस्रो महाधिवेशनपछि २०१९ सालमा भूमिगत रुपमा भएको थियो। त्यो महाधिवेशनपछि नेपालको कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भयो। त्यसलाई एकीकृत गर्न हामीले अनेक पहल गर्‍यौं। 

र, हामीले नेकपा माले, नेकपा मार्क्सवादी लगायतका धारहरु हुँदै एमाले बनाएका हौं। त्यो बेला करिब ४० भन्दा बढी धारलाई एक ठाउँमा ल्याएर एमाले बनाएका हौं। त्यतिबेला कुनै सत्ता थिएन। सत्तामा जाने कुरा पनि थिएन। मुलुकमा परिवर्तनका लागि गरिएको एकता थियो। 

माओवादी धारकै कुरा गरिरहँदा, धेरै समूहलाई एकता गरेर सशस्त्र संघर्ष भएको हो। नेपाली कम्युनिष्ट आन्दोलनमा दुईवटा धार सुरुदेखि नै थिए। एउटा चाहीँ शान्तिपूर्ण संघर्ष गर्ने धार, अर्को सशस्त्र संघर्षको बाटोबाट अगाडि बढ्ने धार। शान्तिपूर्ण संघर्षको धारबाट अघि बढ्ने नेता मनमोहन अधिकारी हुनुहुन्थ्यो, सशस्त्र संघर्षको धारबाट अघि बढ्ने नेता पुष्पलाल हुनुहुन्थ्यो। अनेकौं विभाजनपछि पुनर्गठन हुँदाहुँदै नेकपा एमाले र माओवादी धार बने। दुईवटा धारबीच एकता गरेका थियौं। 

त्यतिबेला हामीले सामान्य संगठनका मात्रै नभइ नेपाली कम्युनिष्ट आन्दोलनका दुईवटा धारको एकता गरेका थियौं। तर, दुईवटा धारको एकता भंग गर्ने काम सत्तालिप्साका कारण भयो। त्यो सत्ता लिप्सा केपी ओलीमा भएकाले समस्या भयो। उहाँ आफूले बस्न नपाए कुर्सी नै भाँचिदिन्छु भन्ने सिद्धान्त बोकेर जब हिँड्नुभयो, त्यसपछि विभाजनको अवस्था आयो। दोष अरुलाई लगाइँदैछ तर, त्यही काम आफैंले गरिँदैछ। यो वास्तविकतालाई चिन्नुपर्छ। 

केपी ओलीकै भाषामा भन्ने हो भने उहाँलाई ‘धकेलेर निकाल्न’ खोजियो। आखिर महाधिवेशन कुर्दा पनि हुन्थ्यो होला। तपाईंहरुले महाधिवेशन किन कुर्न नसक्नुभएको ? 

महाधिवेशन भए पो कुर्नु। उहाँले मंसिरमा घोषणा गर्नुभएको छ। मंसिरमा हुन्छ, हुँदैन हेरौँला धेरै छैन बाँकी। त्यो अहिलेको कुरा भयो, उहाँको गुटको कुरा भयो। नेकपा हुँदा उहाँले महाधिवेशन कुर्नै चाहनुभएको थिएन भन्ने प्रमाण धेरै छन। तीन महिनाभित्र सबै एकताका काम टुंग्याउने भनेर घोषणा गर्नुभएको होइन उहाँले। ती कामहरु कहाँ गर्नुभयो उहाँले, कहाँ अघि बढ्न दिनुभयो उहाँले ? बढाउँदै बढाउनुभएन। 

त्यसपछि पटक पटक एकताका बाँकी काम गर्ने निर्णय गर्‍यौं। तर, कहिले पनि एकताको काम अगाडि बढाउन चाहनु भएन। एकताको काम अगाडि नबढाएपछि तपाईंले काम गर्नुभएन भन्न हुने कि नहुने ? पार्टीको विधान अनुसार हरेक नेताले चल्नुपर्छ भन्न हुने कि नहुने। पार्टीको निर्णयबाट नेता चल्नुपर्छ भने त्यो कुरा उठाउन हुने कि नहुने ? त्यो कुरा उठाउँदा धकेलेर फालेको हुन्छ ? नेताको हैसियतले, पार्टीको हैसियतले समस्या समाधान गर्ने दायित्व हुन्छ कि हुँदैन ? त्यो दायित्वलाई उहाँले पूरा गर्न सक्नुभएन, त्यो क्षमता उहाँले देखाउन सक्नुसभएन। आफूले सत्तामा बस्ने ढिपीबाहेक उहाँले केही गर्न सक्नुभएन। त्यो कारण समस्या उत्पन्न भएको हो। 

राष्ट्रिय भेलापछि त फेरि कार्यबाहक अध्यक्ष हुनुपर्छ भन्नेसम्मको निर्णय गर्नुभयो। तपाईंहरुले फेरि भनेको कार्यबाहक अध्यक्षको कुरा कस्तो हो ? पार्टीमा फेरि टीके प्रथा सुरुवात गर्न लागेको हो ?

हामीले कार्यबहाक अध्यक्ष भनेका छैनौं। त्यो भेला र अरु पनि भेलाबाट हामीले भनेको चाहिँ के हो भने, २०७५ साल जेठ २ गतेको परिस्थितिबाट सुरु गरौं र त्यहाँबाट अघि बढौं। त्यहाँ रहेर बैठक बसौं। त्यतिबेला हाम्रो जुन संरचना थिए, त्यो संरचनामा बैठक बसौं। र, छलफल गरौं। त्यहाँबाट भएका निर्णयलाई मानेर हिडौं भनेका छौं। अहिले पनि हाम्रो कुरा त्यही हो। 

उहाँ (केपी ओली) ले त तपाईंहरुको राष्ट्रिय भेलालाई पनि मान्नुभएको त छैन नि ? 

त्यो उहाँहरुले २८ गते गुटको भेला गर्नुभयो। त्यसको प्रतिवादमा हामीले भेला गरेका हौं। त्यसलाई मान्नुहुन्छ कि मान्नुहुन्न उहाँको कुरा हो। 

त्यही त, तपाईंहरु यसरी प्रतिवाद गरिरहने उहाँ पेलेरै अघि बढिरहने, मिलनबिन्दु कसरी भेटिन्छ त नि ? 

मिलनबिन्दु भनेको फेरि पनि ०७५ जेठ २ गते हाम्रा जुन संरचना थिए, त्यसमा गयो भने हाम्रा मिलनबिन्दु भेटिन्छन्। त्यो भन्दा अन्यन्त्र गएर मिलनबिन्दु भेटिँदैन। मिलनबिन्दु नभेटेपछि दुईवटा धार अलग अलग बाटोमा जान्छ। त्यही हुन्छ। यो त यसै अनुमान गर्न सकिने कुरा हो नि। 

अब अलग अलग धार हुँदा चाहिँ तपाईंहरु नयाँ पार्टी गठन गरेर अघि बढ्ने ? 

हामी एमालेलाई पुनर्गठन गर्छौँ। हाम्रो त मान्यता त्यही हो। 

चुनाव चिन्हदेखि लिएर अरु सबै कुरा त ? 

ती सबै गौण कुरा हो हेर्नुस्। राजनीतिमा चुनाव चिन्ह के हुन्छ, भन्ने जस्ता कुरा चुनाव आएपछि गरौंला नि। मुख्य कुरा भनेको राजनीति कसरी लैजाने भन्ने हो। यतिबेलाको राजनीतिमा २ वटा प्रश्न हाम्रासामु खडा भएका छन। 

पहिलो, लोकतान्त्रिक मूल्य मान्यता संरक्षण गर्ने कि नगर्ने ? प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रलाई सिध्याउन खोजेको कुरा प्रष्टै हो नि। त्यसलाई हामीले कमसेकम बचाएका छौं। त्यसमा हामीलाई गौरव छ। प्रतिनिधिसभा विघटनमार्फत संविधानसभाले निर्माण गरेको संविधानलाई सिद्याउन खोजेकै हो। यसमा कुनै द्विविधा छैन। व्यवस्था जोगिएको छ, व्यवस्था जोगिएपछि विभिन्न हिसाबले भूमिका खेल्छन राजनीतिक शक्तिहरुले। 

दोस्रो कुरा भनेको नेपालको कम्युनिष्ट आन्दोलनलाई कसरी जोगाउने भन्ने हो। पार्टी एकता भंग गर्ने भनेको कम्युनिष्ट आन्दोलनलाई सिद्याउने कुरा हो। यो एकता सामान्य तरिकाले नेताहरु अलग अलग भए भन्ने मात्रै होइन नि। त्यत्रो दुईवटा धारलाई एकता गरिएको अवस्थालाई भंग गर्ने। त्यतिले मात्र नपुगेर नेकपा एमालेलाई पनि विभाजित गर्ने जुन खालका कदमहरू चालिएका छन ती गलत कदम छन् तिनलाई परास्त गर्नुपर्छ। भोलि चुनाव होला, चुनावमा के चिन्ह लिउँला के गरौं त्यो बेलाको कुरा हो। 

त्यसो भए, यतिबेलाको एमालेको लडाईँ वैचारिक हो वा केही नेताबीचको जुँगाको लडाइँ ? 

यो वैचारिक लडाइँ नै हो। नवौं महाधिवेशनले पारित गरेका विधान र कार्यदिशा बमोजिम नचलेकाले देखिएको समस्या हो। त्यो अनुसार चल्ने गरी नै समाधान खोज्नुपर्छ भनेका छौं। त्यसकारण यो वैचारिक कुरा हो, सांगठनिक कुरा पनि हो, विधिको कुरा पनि हो। यो व्यक्तिको जुँगाको कुरा चाहिँ होइन। 

तपाईंहरु आफैं पनि एमालेको विचार बनाउन लागि पर्नु भएको व्यक्ति भएर पनि व्यक्तिगत भन्दा वैचारिक लडाइँतर्फ लान नसकेको जस्तो देखिन्छ नि ? 

खासमा नवौं महाधिवेशनले पारित गरेको विचार, विधि अनुसार पार्टी अध्यक्षले पार्टी नचलाएकाले समस्या भएको हो। हामीले त्यतातर्फ लान बारम्बार प्रयत्न गर्‍यौं। एमाले छँदा पनि प्रयत्न गर्‍यौं। यो छोटो संवादमा सबैकुरा त म बताउन सक्दिनँ। तर, पटक पटक मैले आफैंले पनि लिखित मत जाहेर गरेको छु। पार्टीले अंगिकार गरेको जुन कार्यदिशा थियो, विचार थियो, जुन विधान थियो। 

त्यसअनुसार चलेन भनेर पटक पटक भनेको छु। अरु नेताहरुले पनि राख्नुभएको छ। तर, त्यतातर्फ निर्वाचित अध्यक्ष जाँदै जानुभएन। त्यसको एउटा कारण के थियो भने, महाधिवेशनमा जुन विचार पास गर्‍यौं, जुन कार्यदिशा पारित गर्‍यौं। त्यसको पक्षमा उहाँ हुनुहुन्थेन। ओली त्यसको विपक्षमा हुनुहुन्थ्यो। क्रमशः स्थिति बिगार्दै लैजानुभयो। 

प्रधानमन्त्री हुने दाउमा उहाँले पार्टी एकता गर्नुभयो। प्रधानमन्त्री हुन एकता गरेको उहाँले सार्वजनिक रुपमा भन्नुभएको छ। मैले आरोप लगाएको हैन। पार्टी एकता गर्न दल विभाजित नहोस् वा समर्थन लिएको दलले फिर्ता नलेओस् भन्ने कारणले एकता गरेको आफैं भन्नुभएको छ। तर, यो पार्टीलाई विचारमा आधारित पार्टी, विधिमा आधारित पार्टी बनाएर लान चाहनुभएन। 

एकता गर्ने बेलामा पनि तपाईंहरुसँग वैचारिक छलफल भएन केही ?

जसरी हुनुपथ्र्यो, त्यसरी भएन। एकता गरिसकेपछि हामीले दुईवटा कार्यदल बनाएर दस्तावेजको मस्यौदा तय गर्‍यौं। एकता टुंगोमा पुगिसकेपछि। एकता गर्नुअघि जसरी एकताको आधारहरूमा छलफल गर्नुपथ्र्यो, कस्तो वैचारिक आधारमा एकता गर्ने, कस्तो सांगठनिक संरचना बनाउनेगरी एकता गर्ने भन्ने विषयमा छलफल भएन।
 
त्यति मात्रै होइन, एकता कसरी गरिएको थियो भन्ने कुरा त बाहिर नै आएको छ नि। गोप्य सम्झौता गरेको रहेछ भन्ने त सार्वजनिक नै छ नि। प्रधानमन्त्री पद आधा आधा समय चलाउने, दुवैजना आधा आधा समय अध्यक्ष चलाउने भन्ने पदीय स्वार्थका लागि गोप्य सम्झौता गरेर एकता गरिएको भन्ने त देखियो नि। त्यसकारण एकता नै विचार र विधिको आधारमा नभएर स्वार्थका आधारमा भयो। 

तैपनि, एकता भइसकेपछि हामीले जोगाउनुपर्छ, यसलाई विचार आधारित नै बनाएर अगाडि लैजानुपर्छ भनेर निकै प्रयत्न गर्‍यौं। त्यसमा उहाँ असहयोगी हुनुभयो र विपक्षीमा जानुभयो। जसका कारणले आजको अवस्था आइपुग्यो। 

यो संक्रमणकालीन अवस्थामा तपाईंहरुले बनाउँछौं भन्नुभएको एमालेको वैचारिक दिशा, कार्यनीति वा दर्शन के हुन सक्छ ? 

नेकपा एमालेले हिजोदेखि अंगाले अनुसार मार्क्सवाद, लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्छ। जनताको बहुदलीय जनवादलाई कार्यक्रम मानेर आएको थियो। तिनलाई नवौं महाधिवेशनबाट केही परिमार्जित गरेका थियौं। विगतदेखि नै नेकपा एमालेका सिद्धान्त, विचार, विधि छ तिनै हाम्रा विधि पद्धतिहरू हुन। हाम्रो चैत ४ र ५ गतेको भेलाबाट नै एउटा नारा तय गरेका छौं।

‘जनताको बहुदलीय जनवादका मुल्य मान्यताको रक्षा गरौं, समाजवादको दिशामा अगाडी बढौं’ यही नै हाम्रो अहिलेको निर्देशक नारा हो। त्यसका आधारमा नै हामीले जनताको बहुदलीय जनवादका जुन मूलभूत मान्यता छन्, तिनको रक्षा गर्दै अब मुलुकमा आएको परिवर्तनको आधारमा यसमा टेकेर समाजवादको दिशामा अगाडि बढ्न पहल गर्ने, कार्यक्रम गर्ने अभियानमा छौं।

सत्ता समीकरणको अभ्यास चलिरहँदा तपाईंहरुकै पार्टी विभाजनको संघारमा छ। अब मुलुकले राजनीतिक निकास कसरी पाउन सक्छ? 

अहिले पनि हाम्रो प्रधानमन्त्रीमा सद्बुद्धि आउने हो भने, वामपन्थीहरूको गठबन्धनको सरकार कायम रहन सक्छ। म चाहिँ त्यो देख्छु। किनभने संख्याले पनि त्यो देख्छ। तर, उहाँमा त्यो सद्बुद्धि आउँछ जस्तो मलाई लाग्दैन। उहाँसँग मेरो लामै संगत पनि छ। उहाँका आनीबानी पनि थाहा भएकाले त्यो काम गर्नुहोला भन्ने आशा ज्यादै कम देख्छु।

उहाँले सत्तालिप्सालाई छाड्न तयार हुने हो भने फेरि पनि वामपन्थीकै सरकार बन्न सक्छ। दुई वर्षको अवधि बाँकी छ, त्यो बेलामा सहकार्य गरेर राम्रै काम गरौं भन्ने हो भने सकिन्छ। जानुपर्ने त्यो बाटोबाट हो। तर, त्यो बाटोबाट जाने सन्दर्भमा बाधक अहिलेका प्रधानमन्त्री नै देख्छु म। किनभने हिजो आफू प्रधानमन्त्री हुन जुन शक्तिसँग एकता गरियो, त्यो शक्तिलाई गालीगलौज गर्नेबाहेक उहाँको मुखबाट अरु केही सुन्दिन। 

एमालेकै पाटोबाट हेर्दा पनि पार्टी बनाउन उहाँ भन्दा कता हो कता संघर्ष र योगदान गरेका नेताहरु छन्। उहाँको तुलना गर्न नसक्ने नेताहरुले यहाँ योगदान गरेका छन। पूर्वप्रधानमन्त्री, पूर्व पार्टी प्रमुख लगायतका हिसाबले काम गर्नुभएका नेताहरु धेरै छन। म पनि उहाँसँगै जेल बसेको सँगै काम गरेको मान्छे हो। म पनि उहाँसँगै साढे १२ वर्ष जेल बसेको छु लगातार। सँगसँगै काम गरिएको छ। 

एउटा, वर्गसंघर्ष भन्ने वर्गको नेतृत्व गरेर मालेमा एकतावद्ध गरेको मान्छे हो म। म जस्ता धेरै साथीहरु हुनुहुन्छ। यो पार्टीलाई सुदृढ गर्ने एकताबद्ध बनाउने र अर्को जुन पार्टीसँग हिजो एकता गरिएको थियो। ल, एकता त भंग भयो। सहकार्य त गर्न सकिन्छ नि। सहकार्यका निम्ति उहाँलाई महन्थ ठाकुर चाहिएको छ। तर, वामपन्थीहरु चाहिएको छैन। यो हिसाबले जसरी हिँड्दै हुनुहुन्छ, त्यसले चाहिँ वामपन्थीहरुकै सरकार बनाएर जाने सम्भावना ज्यादै न्यून छ। त्यसो नहुँदा अरु को को सँग के के हुन्छ त्यसमा हाम्रो त्यति सरोकार छैन। 

त्यसो त, उहाँले तपाईंहरु प्रधानमन्त्रीलाई भेट्ने भन्दा अन्य दलसँग लाग्नुभयो। प्रचण्डसँगको सहकार्य बढी भयो भनेर आरोप लगाउनुहुन्छ त ? 

उहाँले त भेट्नै चाहनुहुन्न त कसरी भेट्ने ? त्यो त एक पक्षको इच्छाले त हुँदैन। उहाँसँग त सबैलाई पाखा लगाएर आफू मात्रै रजाई गर्छु भन्ने सोचभन्दा बाहेक त केही छैन। तर, त्यो उहाँको एक्लै रजाई गर्ने सोचले धेरै दिन साथ दिन्छ जस्तो लाग्दैन। 

स्वभाविक रुपले परिस्थिति यस्तो भयो, अब कसरी अगाडी बढ्ने ? खाली यो सरकारमा कसरी जाने भन्ने कारणले भेटघाट भएको होइन। म के स्पष्ट पार्न चाहन्छु भने, मुलुकमा आएको संकट, लोकतन्त्रमाथि भएको संकट हो। २०४७ सालको संविधान ब्यूँताएर राजतन्त्र ल्याउँछु भन्ने षड्यन्त्र पनि भइरहेको छ नि। हामीलाई थाहा छैन र? 

त्यसलाई रोक्न चाहने सबै शक्तिसँग हाम्रो भेटघाट त हुन्छ नै। त्यो स्वभाविक कुरा हो। अहिले प्रधानमन्त्रीले चालेको कदमबाट राजावादीहरु किन खुसी छन् ? त्यसको पछाडि केही कारण त होलान्। रहस्य पक्कै छन।  तर, हामी विगतलाई फेरि फर्कन दिने पक्षमा छैनौं। संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने दिशामा त हामीले साथ दिन सक्दैनौं। त्यसलाई असफल पार्न हामी लाग्छौं। असफल पार्न जुन जुन शक्तिहरु लाग्छन्, तिनीहरूसँग हामी सहकार्य त गर्छौं। यो जरुरी कुरा हो। त्यसकारण हाम्रा निश्चित उद्देश्यसित जोडिएकालाई भेट्नुपर्छ हामी त्यो गर्छौं। 

यो चाहिँ सम्पूर्ण केपी ओलीको प्रवृत्तिविरुद्धको लडाइँ हो ? 

मुख्यगरी मुलुकमा ठूलो संघर्षबाट प्राप्त उपलब्धी छने। तिनीहरुलाई मास्ने गतिविधि भइरहेका छन्, त्यसविरुद्ध हो। नेपाली राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको रक्षाका निम्ति हो। त्यसमा आँच आइरहेको छ। रातारात एउटा विदेशी खुफिया संस्थाको प्रमुखसँग भेटिसकेपछि चालिएको कदमको प्रसङ्गलाई बिर्सन सकिन्छ र ? सकिँदैन नि।

कुटनैतिक मर्यादाविपरीत रातारात विदेशी जासुसी संस्थाको प्रमुखलाई एक्लै भेट्ने, त्यसपछि अनेकौं घटना हुने। एउटा विदेशी संचारमाध्यमको व्यक्ति आएर राति प्रधानमन्त्रीलाई भेट्ने, भोलिपल्ट कालापत्थरमा गएर सगरमाथा भारतको हुनुपर्छ भन्ने यसको के सन्दर्भ हो ? यसमा हामी सचेत हुनु पर्दैन ? 

यसको संकेत चाहिँ के हो खास ? 

यसको संकेत सकारात्मक होइन। नकारात्मक हो। 

विदेशी चलखेल बढ्न खोजेको हो त्यसो भए ? 

विलकुल हो। यहाँ आएर भेटेर गइसकेपछि त्यहाँ (काला पत्थर)मा गएर त्यो कुरा गर्ने हिम्मत उसले कसरी गर्छ ? राति प्रधानमन्त्रीलाई भेट्छ, भोलिपल्ट कालापत्थरमा गएर यो भारतले लिनुपर्छ, यसको नाम भारतीय हुनुपर्छ भन्ने आँट कसरी गर्छ र किन गर्‍यो उसले ? त्यो आँट उहाँसँगको भेटघाटमा के बुझ्यो त्यही अनुसार नै गरेको होला नि त। 

त्यसै त उसले त्यो आँट गर्न सक्दैन। त्यसकारण यो रहस्यमयी छ। यो अनुसार काम गर्ने कुरा रहस्यमयी छन्। त्यसकारण राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानमाथि आँच आइरहेको छ। त्यसलाई जोगाउन चाहन्छौं हामी। त्यसको रक्षा गर्न चाहन्छौं। अर्को कुरा नेपालको कम्युनिष्ट आन्दोलनलाई तहसनहस पार्न खोजिएको छ। त्यो षडयन्त्र विफल पार्न चाहन्छौँ। त्यसका निम्ति हामीले भूमिका खेल्छौँ। 

अलिक फरक प्रसंग, प्रधानमन्त्रीविरुद्ध त तपाईंहरुले अवहेलनाको मुद्दा गर्ने तयारी गरिएको छ भनिन्छ नि ? 

फागुन २३ गतेको फैसला अनुसार केपी ओली चल्नुभएन भन्ने कुरा स्पष्ट छ। यसमा अदालतमा मुद्दा जान पनि सक्छ भन्ने कानुनविद् साथीहरुको भनाइ छ। कानुनविद् साथीहरुले गर्नुहुन्छ भने त्यसमा हाम्रो आपत्ति छैन। 

भन्या, तपाईंहरुले त्यसको अगुवाइ चाहिँ गर्नुहुन्न ? 

उहाँहरुले हाम्रो साथ खोज्नुभयो भने के गर्ने भनेर हामी छलफल गर्छौं। अहिले नै टुंगोमा पुगिसकेका छैनौं। उहाँहरुले यो विषय उठाइरहनुभएको छ। 

कानुनविद्हरुले तपाईंहरुलाई खोजेको कि तपाईंहरुले कानुनविद् खोज्नुभएको ? 

होइन, कानुनविदहरुको चाहिँ कानुनी लडाइँ कसरी लड्ने भन्ने आफ्नै खालको प्रक्रिया हुन्छ। प्रतिनिधिसभा विघटनविरुद्ध थुप्रै कानुनविद्हरुले रिट हाल्नुभयो। प्रतिनिधिसभा सदस्यले एउटा रिट हाल्नुभयो। अदालतका मुद्दाबारे कानुनविद्हरुको आफ्नै धारणा हुन्छ। त्यसमा उहाँहरुले यसरी जान सकिन्छ भनेर हामीलाई पनि भन्नुभएको छ। गर्नुस् भन्ने कुरामा हाम्रो असहमति छैन।

भिडियो

हामीले नै जानैपर्ने स्थिति भयो भने पनि हामी जान्छौं। किनभने हामीले गर्न खोजेको कुरा पनि त्यही छ। २०७५ जेठ २ गतेको संरचनाबाट काम थालौँ भनेका छौं। यदि त्यसो नगरेकोमा अदालतको अवहेलनाको मुद्दा लाग्छ भने त्यसमा जानै नसक्ने भन्ने के हुन्छ र? हामी त अदालती बाटोबाट पनि त्यहाँ पुग्न सकिने देखियो भने पहल गर्छौं।

तपाईंहरु अदालत गइसकेपछि वा ओलीले निलम्बन गरेको अवस्थामा अब त मिलनबिन्दु भेटिएला जस्तो देखिन्न नि ? 

मैले अघि भनिसकेँ, अरु केही गर्नुपर्दैन। नेकपा बनेको बेलामा के गर्‍यौँ भन्ने त्यो नेकपाको इतिहास हो। लाजमर्दो कुरा के भएको छ भने नेकपा हुँदा प्रचण्डले लेखेको १९ बुँदे लेख्न किन सहयोग गर्यौ भनेर स्पष्टीकरण भनिएको तथाकथित पत्रमा लेखिएको छ। त्यो त एमालेको इतिहास होइन नि। यदि कसैले गरेको भए त्यो नेकपा हुँदा गरेको हो नि। नेकपा हुँदा त्यसको स्पष्टीकरण माग्न सकिन्थ्यो होला। अहिले एमाले भएपछि होइन नि ? 

नेकपा हुँदाका सबै कुराहरु ओलीले बिर्सनुपर्यो भन्ने तपाईंको तर्क ? 

अदालतले २०७५ जेठ २ मा फर्किनु भनेपछि हामी त्यही फर्कनुपर्यो नि। उहाँले पनि त त्यो बीचमा मनपरी गर्नुभएको छ। प्रतिनिधिसभा किन भंग गर्नुभयो ? किन अध्यादेश ल्याउनुभयो ? किन बजेट ल्याउँदा, नीति कार्यक्रम ल्याउँदा पार्टीमा छलफल गर्नुभएन ? हामीले उठाएका यी यावत् प्रश्न छन्। त्यसमा उहाँले आत्मालोचना गर्नुपर्‍यो नि। 
प्रतिनिधिसभा भंग जस्तो अपराध गरेर अदालतले नै असंवैधानिक भनेको छ। आजसम्मको इतिहासमा कुनै पनि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको घटनालाई असंवैधानिक भनेको छैन। तर, केपी ओलीको सिफारिसलाई असंवैधानिक भनेको छ। एउटा प्रधानमन्त्रीले असंवैधानिक काम गरेपछि त्यो पदमा बसिरहन मिल्छ कि मिल्दैन ? संविधान नै मिच्ने प्रधानमन्त्री त्यहाँ बस्न मिल्दैन नि ? 

साँच्चै भन्दा सच्चिनु पर्ने त उहाँ हो। त्यो काम गरेपछि पश्चाताप गर्नुपर्ने त उहाँ हो। हामीले त पुनःस्थापनका लागि लड्यौँ के गल्ती गर्‍यौं। पार्टीभित्र समस्या हुँदा आफ्ना मत राख्न पाउने त स्वतन्त्रता हो नि। त्यसो गर्दा कसैले कारबाही गर्न त मिल्दैन नि। 

अन्तिममा, पार्टीको अबको दीर्घकालीन कार्यनीति वा रणनीति के हुन सक्छन् ? 

अहिले हामी एमाले पुनर्गठन र पुनः रुपान्तरण अभियानमा छौं। एमालेलाई हामी पुनर्गठन गरेर लान्छौं। एमाले भनेको केवल संगठन मात्र होइन। एमाले भनेको एउटा विचार हो। यसलाई हामी पुनःस्थापित गर्न चाहन्छौं। त्यो चाहि नवौं महाधिवेशनमा हामीले गरेका निर्णयका आधारमा गर्छौं। यसबीचमा एमालेमा फैलिएका विसंगति जति छन्, त्यसलाई विस्थापित गरेर रुपान्तरित गरेर अघि बढ्ने अभियान चलाउँदै जाने हो। त्यो अभियान चलाउँदै जाँदा पछि के गर्ने भन्ने कामका दौरानमा नयाँ निष्कर्ष निकालेर अघि बढ्छौँ।

  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार ६:३३:२५,   अन्तिम अपडेट : चैत २४, २०७७ मंगलबार ६:३४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया